राष्ट्रपति पौडेलको कार्यकाल सुरु, भारत, चीन र अमेरिकाको बधाई

राष्ट्रपति पौडेलको कार्यकाल सुरु, भारत, चीन र अमेरिकाको बधाई

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको कार्यकाल सुरु भएको छ। राष्ट्रपतिको कार्यालयमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै राष्ट्रपति पौडेलको कार्यकाल सुरु भएको हो।

राष्ट्रपति पद सम्हाले लगत्तै पौडेलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्। राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्दै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने ब्यहोरा जानकारी गराएका हुन्।

राष्ट्रपति पौडेलले पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा पहिलो हस्ताक्षर गरेका छन्। इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्ने निर्णयमा राष्ट्रपति पौडेलले हस्ताक्षर गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई भारत, चीन र अमेरिकाले बधाई दिएको छ। नवनिर्वाचित राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गरेकी छन्।

भारतीय समकक्षी मुर्मुले बधाई पत्रमा भारत र नेपालबिच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबिच जनसम्पर्क महत्त्वपूर्ण रहेको उल्लेख छ।

अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले पनि पौडेललाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।

यस्तै नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबिचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास उनले व्यक्त गरेका छन्।

विवादै विवादमा भण्डारीको बिदाइ

नयाँ राष्ट्रपतिको शपथसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास छोडेकी छन्। उनी शीतल निवासबाट निजी निवास बुढानीलकण्ठ सरेकी छन्।

पहिलो कार्यकाल दुई वर्ष चार महिना बिताएकी भण्डारीको दोस्रो कार्यकाल विवादै विवादमा सकिएको छ। पछिल्लो पाँच वर्षे कार्यकाल सकेर भण्डारी शीतल निवासबाट बिदा भइन।

संविधानले आलङ्कारिक राष्ट्रपतिको परिकल्पना गरे पनि भण्डारीले त्योभन्दा बाहिर गएर काम गरेपछि विवादमा तानिएकी हुन्। दलहरूले आफ्नो पक्षमा काम गर्ने राष्ट्रपतिको खोजी गर्न थालेपछि यसले उनीहरूमा गलत मनोविज्ञान समेत बीजारोपण गरिदिएको छ।

गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई कम विवादित पात्रको रूपमा चित्रण गरिन्छ। २०६५ साउनमा प्रथम राष्ट्रपतिको कार्यभार सम्हालेका यादवले संविधान जारी गरेको जस पाएका छन्। उनको कार्यकालमा ‘कटुवाल प्रकरण’ चर्चामा छ।

राष्ट्रपति संस्थाले कार्यकारी मन्त्रिपरिषद्ले सिफारिस गरेको भन्दा बाहिर गएर काम गर्ने अधिकार पाएको छैन। कार्यकारीले गलत निर्णयका लागि सिफारिस गर्दा राष्ट्रपति जस्तो आलङ्कारिक पद विवादमा तानिने गरेको छ।

उपराष्ट्रपति महिला बन्ने सम्भावना कम

पहिलो महिला राष्ट्रपति कार्यकाल सकेर फर्कँदै गर्दा अबको पाँच वर्ष देशले राष्ट्रपति उपराष्ट्रपति दुवै पुरुष पाउने देखिएको छ। संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुनुपर्ने उल्लेख छ।

सत्ता गठबन्धनको समर्थनमा का उम्मेदवार बनेका रामसहायप्रसाद यादव निर्वाचित भए दुवै पदमा पुरुष नै हुने देखिएको हो। निर्वाचन आयोगले यादवको उम्मेदवारी कायम गरेपछि जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी सांसद प्रमीलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।

पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेका सांसद यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन्। उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी कायम छ। उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुदैछ।

राष्ट्रपतिमा पौडेलको एक र नेम्वाङको ४ मत बदर, उपराष्ट्रपति पनि पुरुष नै !

प्रधानमन्त्री ताकेका पौडेल बने राष्ट्रपति, यस्तो छ राजनीतिक यात्रा…

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading