राष्ट्रपतिमा पौडेलको एक र नेम्वाङको ४ मत बदर, उपराष्ट्रपति पनि पुरुष नै !

राष्ट्रपतिमा पौडेलको एक र नेम्वाङको ४ मत बदर, उपराष्ट्रपति पनि पुरुष नै !

काठमाडौं : राष्ट्रपति चुन्नका लागि भएको मतदानमा जनताको मत पाएका ५ जना सांसदले दिएकै मत बदर भएको छ। सङ्घीय संसद्का १ र प्रदेश सभाका ४ सांसदको मत बदर भएको हो।

निर्वाचन आयोगले फोटो सहितको मतपत्रमा मत दिने व्यवस्था गर्दा समेत ५ जना सांसदले दिएको मत काम नलाग्ने भएको हो। राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई सङ्घीय संसद्का एक सदस्यले दिएको मत बदर भयो भने राष्ट्रपतिमा पराजित सुवासचन्द्र नेम्वाङलाई ४ जना प्रदेश सांसदले दिएको मत बदर भयो।

उम्मेदवारको नाम र फोटो सहितको बक्समा मत सङ्केत नगरेको पाइएकाले बदर भएको मतगणनामा नेम्वाङका प्रतिनिधि बसेका एमाले सांसद महेश बर्तौलाले जानकारी दिए। ‘मत सङ्केत प्रयोग गर्नु पर्ने बक्समा नहाली बाहिर हालेको मत बदर भएको हो,’उनले पहिचानसँग भने,‘मतपत्रमा तल भएको उम्मेदवारको नाम र फोटो भएको बक्सभित्र स्वस्तिक छाप लगाउनु पर्ने भने पनि ५ सांसदले बाहिर मत सङ्केत गरेकाले बदर भयो।’

पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा रिक्त हुने क्षेत्रमा वैशाख १० गते नै चुनाव गराउने बताएको छ।

वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ दललाई निर्वाचन आयोगले बिहीबार चुनाव चिन्ह प्रदान गरेको छ। नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो।

पौडेल राष्ट्रपति बनेकाले तनहुँ क्षेत्र नम्बर १ मा पनि वैशाख १० गते नै उपनिर्वाचन गराउने तयारी गरिएको आयोगले बताएको छ।

राष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब निर्वाचनको कोर्स करिब सकिएको बताएका छन्। अब सरकार बिस्तार गरेर देश र जनताको काममा केन्द्रित हुने प्रधानमन्त्री प्रचण्डले बताए। उनले उपराष्ट्रपति चयनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए।

प्रधानमन्त्री ताकेका पौडेल बने राष्ट्रपति, यस्तो छ राजनीतिक यात्रा…

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपाले रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय बालकुमारीमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको घोषणा हुनासाथ जसपाले बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रामसहायलाई उपराष्ट्रपतिका उम्मेदवार घोषणा गरेको हो। गठबन्धनमा रहेका दलहरूमध्ये उपराष्ट्रपति जसपाको भागमा परेको छ।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ। अब उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुने आयोगले जनाएको छ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ। तर दलहरूको भागबन्डा अनुसार जसपाले पुरुष नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेकाले उपराष्ट्रपतिमा फरक लिङ्ग नहुने देखिएको छ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा महिला मात्र उम्मेदवार हुने गरी निर्णय गर्न निर्वाचन आयोगसँग माग गरेको छ। आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर अभियानका संयोजक स्वागत नेपालसहितको टोलीले उपराष्ट्रपतिको उम्मेदवार महिला मात्र हुन पाउनुपर्ने जिकिर गरेका छन्।

प्रमुख आयुक्त थपलियाले उपराष्ट्रपतिका उम्मेदवारको योग्यता आयोगले निर्णय गर्ने क्रममा उक्त माग पत्र सहयोगी हुने जवाफ दिएका छन्। उपराष्ट्रपति निर्वाचनका लागि फागुन २७ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading