एनआरएनए अध्यक्षमा दोहोरिने रबिनाको तयारी

एनआरएनए अध्यक्षमा दोहोरिने रबिनाको तयारी

काठमाडौं : गैर आवासीय नेपाली सङ्घ एनआरएनएको आसन्न ११ औँ महाधिवेशनमा हालकी अध्यक्ष रबिना थापाले दोहोरिने तयारी गरेकी छन्। आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशनमा अध्यक्षका लागि पुनः उम्मेदवारी दिने तयारी गरेकी हुन्।

एनआरएनए अमेरिकाको साधारणसभा समारोहमा थापाले आफूले सुरु गरेको योजनाहरू पूरा गर्नका लागि पनि अध्यक्षमा आउन चाहेको बताइन। उनले भनिन् ‘मलाई फेरि अध्यक्ष बन्ने इच्छा छ, आज मैले मेरो कुरा यहाँ राखे, औपचारिक रूपमा केही दिनमै उम्मेदवारी घोषणा गर्छु, तपाईँहरूले सहयोग गर्नुहोला।’

अघिल्लो कार्यकालमा ६ महिना मात्रै अध्यक्ष भएकी थापाले अब अक्टोबरमा हुन लागेको महाधिवेशनमा २ वर्षे पूरा कार्यकालका लागि अध्यक्षका लागि उम्मेदवारी तयारी गरेकी हुन्।

एनआरएनएमा अहिले तीन जना अध्यक्ष छन्। १८ महिना अघि कार्यकालमा विवाद मिलाउन भन्दै ३ जना अध्यक्ष बन्दा रबिना पनि अध्यक्ष बनेकी थिइन्।

सुरुमा कुल आचार्य अध्यक्ष भएका थिए भने त्यसपछि रविनाले नेतृत्व लिएकी थिइन्। रबिनाले अहिलेका अध्यक्ष बद्री केसीलाई पद हस्तान्तरण गरेकी थिइन्। एनआरएनएको अध्यक्ष कुल आचार्य र बद्री केसीमध्ये थापाले पुन दोहोरिने तयारी गरेकी हुन्।

‘एक पटकको नेपाली सधैँको नेपाली अभियानलाई अझ सशक्त बनाउन अबको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको छु,’थापाले पहिचानसँग भनिन्,‘अघिल्लो कार्यकालका पुरा हुन बाँकी योजना कार्यान्वयन गर्न पनि पुन अध्यक्षमा उम्मेदवार दिने तयारी गरेकी छु।’

आफूलाई नेतृत्वमा अघि बढ्न एनआरएनएका अग्रज तथा विभिन्न देशबाट एनआरएनए सदस्यहरूबाट सुझाव आएको उनले बताइन।

नेपालमा डलर पठाउन एनआरएनए अध्यक्ष रबिना थापाले गरिन आव्हान

आफूले सुरुदेखि नै अघि सारेको गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने चरणमा पुगेको उनले बताइन। ‘कानुन मन्त्री अमेरिका आउनु भएको थियो, उहाँले नागरिकता ऐन अनुसार नियमावली जारी हुने क्रममा रहेको जानकारी दिनु भएको छ,’उनले भनिन्,‘अरू पनि थुप्रै एजेन्डा छन्, जुन स्थापित गर्न म पुन अध्यक्ष बन्नु लागेको छु।’

उनले विभिन्न ठुला विकसित देशमा द्विदेशीय नागरिकताको प्रावधान भएका बेला नेपालमा पनि नागरिकता निरन्तर कायम रहने विषय प्रमुखताका साथ लिएर जाने बताइन।

गैर आवासीय नागरिकताको व्यवस्था पछि मताधिकारसहित अरू अधिकारका लागि पनि पहल गर्ने उनले बताइन। अमेरिकामा व्यवसाय सञ्चालन गर्दै आएकी थापाले आफूलाई ठुलो समर्थन मिलेको बताएकी छन्। रबिना यसअघिको कार्यकालमा निर्वाचित उपाध्यक्ष थिइन।

विदेशमा रहेका नेपाली : निराशालाई आशामा बदल्दै

यस्तै एनआरएनएको महासचिवमा गंगाधर गौतमले उम्मेदवारी दिने तयारी गरेको बताएका छन्। अक्टोबर महिनामा हुने ११ औँ महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेको गौतमले बताए।

२० वर्ष देखि बेल्जियममा बसोबास गर्दै आएका गौतम एनआरएनए बेल्जियमको पूर्वअध्यक्ष हुन्। सङ्घको स्थापनाकाल देखि सक्रिय गौतमले सङ्घको विभिन्न निकायमा रहेर काम गरेका छन्।

सरकारले नागरिकता ऐन संशोधन गर्दै विदेशमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको छ। संशोधित ऐन अनुसार गृह मन्त्रालयले नयाँ नियमावली तयार गरेर कानुन मन्त्रालयमा पठाउन लागेको जनाएको छ।

नागरिकता नियमावलीमा गैर आवासीय नेपाली नागरिकता लिन अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गर्न लागिएको छ। नागरिकता लिन भने व्यक्ति आफैँ उपस्थित हुनु पर्नेछ। नागरिकता आफ्ना परिवारको बसोबास रहेको जिल्लाबाट लिन सकिनेछ।

नयाँ नियमावलीमा कानुन मन्त्रालय बाहेकका मन्त्रालयको राय सुझाव लिइसकिएको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा प्रमुख एवं सहसचिव रुद्रा देवी शर्माले जानकारी दिइन।

‘नागरिकता तेस्रो संशोधन नियमावली २०८० को सम्बन्धमा विभिन्न निकायबाट राय प्राप्त भइसकेको छ। रायलाई समेटेर गृह मन्त्रालयले कानुन मन्त्रालयमा पठाउँदै छ,’सहसचिव शर्माले भनिन्,‘नियमावली मन्त्रिपरिषद्बाट पारित भएपछि लागू हुन्छ। अरू मन्त्रालयको राय आइसकेकाले कानुनको आउने बित्तिकै मन्त्रिपरिषद्मा जान्छ। छिटो गर्ने प्रक्रियामा लागिरहेका छौ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading