विवाह दर्ता : एमिकस क्युरी झिकाउने, अग्राधिकार नदिने

विवाह दर्ता : एमिकस क्युरी झिकाउने, अग्राधिकार नदिने

काठमाडौं : विवाह दर्ता नगर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्न परेको पुनरावेदन निवेदन आज (बिहीबार) पनि हेर्न नभ्याइनेमा परेको छ।

उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासमा पेशी चढेको विवाह दर्ताको पुनरावेदन निवेदन हेर्न नभ्याइनेमा परेको हो। रामबहादुर (माया) गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ताको निवेदन झन्डै दुई महिनादेखि उच्च अदालत पाटनको इजलासमा घुमिरहेको छ।

७ भदौमा पुनरावेदन निवेदनलाई अग्राधिकारमा राखेर पेशी तोक्न माया र सुरेन्द्रले निवेदन दिएका थिए। एमिकस क्युरी झिकाउने आदेश दिएर प्राथमिकता दिएको उच्च अदालतले अग्राधिकारमा राख्ने आदेश दिन भने अस्वीकार गरेको छ।

११ भदौमा न्यायाधीश जनक पाण्डे र अमृतबहादुर बस्नेतको इजलासले हरेक बिहीबार पेशी तोकिने प्रकृतिको भएकाले अग्राधिकारमा राख्न नपर्ने आदेश दिएको छ।

१४ भदौको बिहीबार सरकारी बिदा भएकाले अदालत बन्द रह्यो। विवाह दर्ताको पुनरावेदन निवेदन २१ भदौ बिहीबार (आज) पेशीमा चढेको थियो। तर, हेर्न नभ्याइनेमा पर्‍यो। एमिकस क्युरी (अदालतको सहयोगी) झिकाउने आदेश दिएको उच्च अदालतले अग्राधिकारमा नराख्दा पेशीमा चढ्ने तर, सुनुवाइ नै नहुने भइरहेको छ।

उच्च अदालतले काठमाडौं जिल्ला अदालतको आदेश बदरको पुनरावेदन निवेदनमा सुनुवाइ गर्न लिंगरिङ गरिरहनुको कारण भने खुलेको छैन। ‘आज पनि सुनुवाइ नहुने भएछ,’सुरेन्द्रले भने,‘काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्ने/नगर्ने भन्न किन ढिलाइ भइरहेको छ, बुझ्न सकिएको छैन।’

विवाह दर्ताको पुनरावेदन निवेदन घुमेको घुमै

उच्च अदालत पाटनका प्रवक्ता प्रेम खड्काले अब अर्को बिहीबार पेशी तोकिने जानकारी दिए। ‘अग्राधिकारमा राख्ने/नराख्ने श्रीमान्हरूले भन्नुहुन्छ,’खड्काले पहिचानसँग भने,‘पेशीमा राख्ने कुरामा हामीबाट कन्जुस्याइँ हुँदैन।’

उनले उच्च अदालत पाटनले एमिकस क्युरी झिकाएको भने पहिलो भएको बताए। ‘अरू कुनै पनि मुद्दामा उच्चले एमिकस क्युरी झिकाएको इतिहास छैन,’खड्काले भने,‘समलिङ्गी विवाहको मुद्दामा पहिलो पटक एमिकस क्युरी झिकाइएको छ।’ तर, विवाह दर्ताको पुनरावेदन निवेदनमा सुनवाइ नै भइरहेको छैन।

सर्वोच्च अदालतले १२ असारमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो। आदेश अनुसार तेस्रोलिंगी माया र समलिङ्गी सुरेन्द्र विवाह दर्ताको निवेदन लिएर काठमाडौं जिल्ला अदालत पुगेका थिए।

जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले देवानी संहिताको विवाह सम्बन्धी व्यवस्था उल्लेख गरेर माया र सुरेन्द्रको विवाह गर्ने निवेदन अस्वीकार गर्ने आदेश दिए।

२८ असारमा न्यायाधीश मैनालीले सर्वोच्च अदालतको आदेशलाई अस्वीकार गरेर विवाह दर्ता गर्न नमिल्ने आदेश दिएपछि २९ असारमै माया र सुरेन्द्र पुनरावेदन निवेदन लिएर उच्च अदालत पाटन पुगेका हुन्।

सम्बन्धित समाचार

विवाहको अधिकार माग्दै माया र सुरेन्द्र निस्के सडकमा

विवाह दर्ताको पुनरावेदन, अग्राधिकारमा राख्न निवेदन

विवाहको कानुनमा अध्ययन मात्रै, एमिकस क्युरीको सहयोगमा आदेश दिने उच्चको तयारी

विवाह दर्ताको पुनरावेदन निवेदनमा उच्च अदालतको लिंगरिङ

समलिङ्गी विवाह : तत्काल दर्ताको आदेश माग्दै सर्वोच्चमा रिट

सरकारले भन्यो, समलिंगी विवाह सम्बन्धमा छलफल गर्छौ

सर्वोच्चको अर्को ऐतिहासिक आदेश : समलिङ्गी तेस्रोलिंगीको तत्काल विवाह दर्ता गर्नू

समलिङ्गी विवाह : तीन वर्षदेखि रोकिएको प्रक्रिया अब सुरु हुने आशा

विवाह दर्ता गर्न पाउने आदेशले ल्याएको तरङ्ग

विवाह दर्तामा न्यायाधीश माधवप्रसाद मैनालीको पूर्वाग्रही आदेश

समलिङ्गी विवाहले उर्दिण गरेको न्याय प्रणालीको कमजोरी

विवाह दर्तामा उच्चले न्याय दिने आस

विवाह दर्ताको निवेदनमा उच्चले दियो एमिकस क्युरी झिकाउने आदेश

विवाह दर्तामा बारले पठायो एमिकस क्युरी

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.