अमेरिका जाने वैधानिक बाटो खुला

अमेरिका जाने वैधानिक बाटो खुला

काठमाडौं : नेपाली नागरिकलाई आफ्नो देश लैजान अमेरिकी सरकारले भिसा आवेदन खुला गरेको छ।

अमेरिकाले आफ्नो देशमा नागरिक लैजान हरेक वर्ष नेपाली नागरिकका लागि डी.भी.कार्यक्रम ल्याउने गरेको छ।

नेपाली युवाहरूको अमेरिकी डी.भी.कार्यक्रममा आकर्षण हुने गरेको छ। नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान लालायित भएकाहरूसँग ठगी धन्दा चलाएको अभियोगमा पूर्व गृहमन्त्री, सचिवसम्म पुर्पक्षका लागि जेल चलान भएका छन्।

अमेरिकाले हरेक वर्ष खुला गर्ने वैधानिक बाटो अपनाउन छाडेर या असफल भएकाहरूलाई भुटानी शरणार्थी बनाएर रकम असुली गरेकाहरूको पुनरावेदन निवेदन बिहीबार पेशीमा चढ्नेछ।

यसअघि एक पटक निवेदकका कानुन व्यवसायी बिरामी हुँदा रोकिएको सुनुवाइ अघिल्लो बिहीबार हेर्न नभ्याइनेमा परेको थियो।

अवैधानिक बाटो समाउन लगाउने जेलमा र लाग्नेहरू बिचल्ली भएको गुनासो गरिरहँदा अमेरिकाले वैधानिक बाटोबाट आफ्नो देश लैजान डी.भी.कार्यक्रमका लागि आवेदन खुला गरेको हो।

सन् २०२५ को डाइभर्सिटी भिसा (डी.भी.) कार्यक्रमको लागि आवेदन दर्ता खुला भएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ। अक्टोबर ४, २०२३ अर्थात् २०८० असोज १७ नेपालमा स्थानीय समयअनुसार रातको ९:४५ बजेबाट सुरु हुने गरी डी.भी. खुला भएको छ।

दूतावासका अनुसार नोभेम्बर ७, २०२३ (२०८० कार्तिक २१) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार रातको १०:४५ बजे) डी.भी कार्यक्रमको आवेदन दर्ता बन्द हुनेछ।

इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी :

• आवेदन नि:शुल्क : डी.भी. कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन।

• कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ बिचार गर्नुहोला। सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ।

• फारम अनलाइन भर्नुपर्ने : सन् २०२५ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा https://dvprogram.state.gov/ मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ।

• पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्नी र आवेदनकोसमयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ। उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य ठहरिनेछ।

• एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन्।

• हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डी.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ।

फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेस गर्नु पर्नेछ।

कृपया ध्यान दिनुहोला : फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउनु हुँदैन।

• राहदानी : अघिल्ला वर्षहरूमा अमेरिकी विदेश मन्त्रालयले आवेदकहरूलाई डी.भी. आवेदन भर्दाको समयमा आफ्नो वैध र म्याद बाँकी रहेको राहदानीमा भएको जानकारी उपलब्ध गराउन निर्देशित गर्दथ्यो।

हाल आएर आफ्नो डी. भी. आवेदन भर्दाको समयमा आवेदकहरूसँग म्याद बाँकी भएको राहदानी हुनु अनिवार्य छैन।

• आफ्नो कन्फर्मेशन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो।

• आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिनुहोस्।

• तपाईँ डी.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे ४ , २०२४ (२०८१ वैशाख २२ ) वा त्यसपछि https://dvprogram.state.gov/ मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रवेश गर्नु हो।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना प्रदान गर्नुपर्नेछ। यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने ब्यहोराको इमेल सूचना पठाइँदैन।

डी.भी. का लागि छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन।

तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डी.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्‍यौल गर्नेछन्।

अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्ताबेजहरूकोसूची https://go.usa.gov/xRuzM मा दिइएको छ।
डी.भी. कार्यक्रमसम्बन्धी थप जानकारी https://dvprogram.state.gov/ वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/ मा उपलब्ध छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading