काठमाडौं : नेपाल सरकारले ९ चैत २०७१ मा प्रकाशित गरेको राजपत्रमा ‘परराष्ट्र मन्त्रालयले राहदानी नियमावली २०६७ को नियम २६ ले दिएको अधिकार प्रयोग गरी सोही नियमावलीको अनुसूची २क मा उल्लेख भएको पासपोर्ट एप्लिकेशन फारमको व्यक्तिगत विवरण खण्डको नं ६मा लिङ्ग अन्तर्गत रहेको पुरुष, महिला भन्ने शब्दहरू पछि अन्य भन्ने शब्दहरू राखी आवश्यक हेरफेर गरेको’ लेखिएको छ।
निमित्त सचिव शङ्करदास वैरागीको आज्ञाले राजपत्र जारी भएपछि अन्य पहिचानमा राहदानी (पासपोर्ट) दिन सुरु गरिएको हो। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकले माग गरेमा ‘अन्य’ लैङ्गिक पहिचानमा नागरिकता र राहदानी जारी हुन थालेको हो। अन्य पहिचानमा नागरिकता लिएकी तेस्रो लिङ्गी महिला मोनिका शाहीले पहिलो राहदानी लिइन।
उनी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको अन्तराष्ट्रिस्तरमा हुने सम्मेलनमा गएर अन्य पहिचानमा राहदानी लिन सफल हुन सकेको खुसी व्यक्त गर्न चाहन्थिन। उनी नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी)मा कार्यरत थिइन। सोसाइटीको नेतृत्वसँग मोनिकाले आफ्नो दाबी पनि पेस गरिन्।
तर, ब्लु डायमन्ड सोसाइटीमै कार्यरत भूमिका श्रेष्ठलाई हताहतार अन्य उल्लेख भएको राहदानी लिन लगाएर पहिलो विदेश यात्राका लागि ताइवान पठाइयो। ताइवानको भिसा लगाउन सोसाइटीकी कार्यकारी निर्देशक मनिसा ढकाल साथै गइन।
अन्य उल्लेख भएको राहदानीमा ताइवान जादै भूमिका
मोनिकाले हरेस खाइनन्। उनी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार स्थापित गराउने अभियानमा लागिन। ६ साउन २०७४ मा मोनिकाले डडेलधुराको परशुराम नगरपालिकामा रमेश नाथसँग विवाह दर्ता गरिन्। विवाह प्रमाणपत्रमा मोनिका शाही (मनोज शाही) तेस्रो लिङ्गी महिला उल्लेख गरिएको छ।
मोनिकाले विवाह दर्तासँगै पाएको नाता प्रमाणित प्रमाणपत्रमा रमेश नाथ पति र मोनिका शाही नाथ पत्नी तेस्रो लिङ्गी महिला लेखिएको छ। मोनिका र रमेशको फोटो टाँसिएको प्रमाणपत्रमा वैदेशिक रोजगारीमा जानका लागि मात्र भनेर पनि लेखिएको छ।
मोनिकाको विवाहलाई ब्लु डायमन्ड सोसाइटीले समलिङ्गी तेस्रो लिङ्गीको विवाह भन्न नमिल्ने बतायो। मोनिकाका श्रीमान् विवाहित थिए, श्रीमतीको सहयोगमा भनिए पनि अर्को एक महिलाको अधिकार खोसिने तर्क थियो ब्लु डायमन्ड सोसाइटीको। तर, मोनिकाले अन्यमा राहदानी पहिलो पटक लिएको र समलिङ्गी विवाह दर्ता सुरु गरेर इतिहास रचेको दाबी गरिरहिन।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार माग गर्दा समुदायकै संस्थाबाट उनी निकालिइन। ‘अन्यमा नागरिकता लिने म, विदेश जाने भूमिका, समलिङ्गी विवाह दर्ता गर्ने म अनि विवाद गर्ने पिंकी र मनिसा नै हुन्,’मोनिकाले भनिन्,’ब्लु डायमन्ड सोसाइटीको अध्यक्ष लोकतान्त्रिक विधिबाट हुनु पर्छ,निरङ्कुश तरिकाले अध्यक्ष बन्न पाइँदैन भन्दा मलाई कामबाट निकालेका होइनन् र?’
उनले आफूमाथि ब्लु डायमन्ड सोसाइटीको नेतृत्वले बेइमानी गरेको बताइन। ‘संस्था नराम्रो होइन, नेतृत्वमा खराब छन्,संस्थालाई प्रयोग गरियो,’उनले भनिन्,’उद्देश्यबाट विचलित भएको नेतृत्वबाट आशा पनि छैन।’
बिश्वमा पहिलो पटक लिंगको महलमा ‘ओ’ उल्लेख गरेर राहदानी वितरण
ब्लु डायमन्ड सोसाइटीको नेतृत्वसँग आशा नगर्ने मोनिका एक्लो भने होइनन्। नेतृत्वले कोरोना अघिसम्म लाखौँ खर्च गरेर आयोजना गर्ने मिस पिंक र मिस्टर गे हेण्डसमका उपाधि विजेतालाई पनि प्रयोग मात्रै गरेको छ। नेतृत्वमाथि गुनासो गर्ने मिस्टर गे हेण्डसम संस्थाबाट निकालिए। मिस पिंक र मिस्टर गे हेण्डसममा सहभागी भएकालाई संस्थाको साधारण सदस्यता समेत दिइँदैन।
मिस पिंक इन्टरनेशनलको उपाधी थाइल्याण्डलाई, एनी ट्यालेण्ट राउण्डको चौथो स्थानमा
२०७३ मा एनी लामा थाइल्यान्डमा भएको मिस पिंक इन्टरनेशनलको ट्यालेन्ट राउन्डमा चौथो भएकी थिइन। २०७५ मा ब्लु डायमन्ड सोसाइटीले गरेको मिस पिंकको उपाधि एन्जल लामाले पहिरिएकी थिइन। प्रतिनिधिका रूपमा केही मिस पिंकहरु विदेशमा हुने कार्यक्रममा सहभागी हुन पाए पनि अधिकांश सडकमा उभिनु पर्ने अवस्थामा रहेको गुनासो गर्छन्।
ब्लु डायमन्ड सोसाइटीको सिफारिसमा गोष्ठी, सम्मेलनका लागि अमेरिका पुगेका अधिकांश लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक फर्केर आएका छैनन्। सोसाइटीको नेतृत्वले विदेशमा हुने कार्यक्रममा पठाउँदा पक्षपात भएको गुनासो गर्नेहरू संस्थाबाट निकालिने क्रम पछिल्लो समय पनि जारी छ। सन् २०१७ का मिस्टर गे हेण्डसमका उपाधि विजेता मनिन्द्र सिंह दनुवार सोसाइटीकी अध्यक्ष सञ्जीव गुरुङ (शीतल, पिंकी) प्राविधिक सल्लाहकार रहेको क्रुज एड्सबाट निकालिए।
स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट
सोसाइटीको नेतृत्वले गर्न नसकेको पहल गर्ने समुदायलाई यो पटक पनि पक्षपात गरिएको छ। नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि आएको निम्तोमा सोसाइटीकै अध्यक्ष पिंकी, कार्यकारी निर्देशक मनिसा लगायतको नेतृत्व नै गएको छ। एउटै व्यक्तिलाई पटकपटक अवसर दिएको आवाज उठे पनि नेतृत्वले सुनेको नसुनेझैँ गरिरहेको समुदायका सदस्यहरू बताउँछन्।
इल्गा एसियाले गर्न सम्मेलनमा समलिङ्गी तेस्रो लिङ्गी घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अघिल्लो दिन नै आयोजना गरिएको मिस पिंकमा सहभागीहरूलाई समेत अवसर नदिए पछि असन्तुष्टि छताछुल्ल भएको छ।
अनमोल राईले उपाधि पहिरिए पनि विवाद भए पछि फस्ट रनर अप सरोजी न्यौपानेलाई थाइल्यान्ड पठाउने आश्वासन दिएर थमथमाए पनि इल्गा एसियाको सम्मेलनमा सहभागी छनौटलाई लिएर अर्को विवाद भएको छ। इल्गा बोर्डमा ब्लु डायमन्ड सोसाइटीकी कार्यकारी निर्देशक सुवेन ढकाल (मनिसा) छन्। उनले आफू अनुकूल नाम छनौट गरेको भन्दै समुदायमा तीव्र असन्तुष्टि छ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एसियामै इन्द्रेणी विवाह दर्ता गरेर इतिहास रचेका जोडीलाई मनिसाले सहभागी हुने अवसर नै दिइनन्। मनिसा इल्गा बोर्डमा नेपालका लैङ्गिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको प्रतिनिधित्व गर्दै सहभागी छिन्।
ब्लु डायमन्ड सोसाइटीको स्थापना सुनिलबाबु पन्तले गरेका हुन्। एक दशक अघि उनले नेतृत्व सुम्पेकाहरू नै समुदायभित्र विवाद, विभेद, फाटो ल्याउने कार्यमा लागिरहँदा समुदायले चिन्ता गर्यो। दशक पछि पन्त फेरी सक्रिय भए। सोसाइटीको नेतृत्वले फर्केर आएका पन्तको सल्लाह लिन चाहेन। कारण समुदायभित्रको असन्तुष्टिले आफूहरूलाई नै पाखा लगाउन सक्ने पिंकी र मनिसाले आकलन गरे। संस्थाका संस्थापकले सल्लाहकारको पद समेत पाएनन्।
त्यति मात्रै नभई सोसाइटीको नेतृत्वले माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ताका लागि सहयोग गरिदिएनन्। पन्तले व्यक्तिगत पहल गरिदिए। विवाह दर्ता अघि नै स्थापना भएको मायाको पहिचान नेपालको पहलमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १२ वैशाख २०८१ मा मात्रै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीको ७५३ स्थानीय तहमा विवाह दर्ता गर्ने परिपत्र नै जारी भएको छ। यसपछि सोसाइटीको नेतृत्व आत्तिएर संस्थागत आक्रमणमा समेत उत्रिएको पाइएको छ।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले पहिलो पटक आयोजना गरेको इन्द्रेणी अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुन नदिन पिंकी, मनिसा, सिमरन शेरचन (एफएसजीएमएन कि कार्यक्रम संयोजक), सञ्जय शर्मा लगायतले सम्मेलन नै गर्न नदिन विवाद गरेका थिए। ‘बिडिएससँग तपाईँको के छ? उहाँहरू सम्मेलन गर्न दिनु हुँदैन भनेर आउनु भएको थियो,’बोर्डको नेतृत्वले भनेको थियो।
इन्द्रेणी पर्यटनसँगै भएको मिस्टर गे नेपालमा सहभागीहरूलाई फिर्ता बोलाउने प्रयास सफल हुन नसकेपछि उनीहरूले दातृ निकायमा सहयोग नगर्न हारगुहार समेत गरे। उनीहरूको दबाबकै कारण लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई राजनीतिक सहभागिताका लागि दक्ष बनाउने कार्यक्रम नै रोकिएको छ।
आफू नगर्ने र अरूले गर्न लागे विरोध गरेर भाँड्ने काममा लागिरहने सोसाइटीको नेतृत्वमाथि युएसएआडी अन्तर्गत एफएचआइ ३६० को सहयोग लिएर हर्मोन खान र यौनाङ्ग प्रत्यारोपण गर्न उक्साएको आरोप समेत लागेको छ। ‘पैसा हुनेले त हर्मोन खालान्, लिङ्ग परिवर्तन गर्लान्? के उनीहरू मात्रै तेस्रो लिङ्गी हुने हो?’बिडिएसको नेतृत्वले यस्तो भ्रम फैलाएपछि कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जनले सामाजिक सञ्जालमै लेखे,’कतिपय व्यक्तिले आफ्नो शरीरमा यसको उपयोग नगर्न पनि सक्छन्! यसको मतलब यो होइन कि उहाँ तेस्रो लिङ्गी नै होइन! उहाँको मन आत्मादेखि त उहाँ तेस्रो लिङ्गी नै हुन्छ नि होइन र?’
बिडिएसको नेतृत्व समुदायले गरेका प्रश्नबाट भागिरहेको छ। अध्यक्ष पिंकीले नयाँ शक्ति पार्टीमा आबद्ध हुँदा विवेकशील आर्दर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.लि.को रसिदमा जलविद्युत आयोजनाको सेयर भरेको रकम के भयो? भन्दा जवाफ दिन सकेकी छैनन्। समुदायमाथि समुदायकै नेतृत्वले गरेको विभेद, संस्थाभित्रको अपारदर्शिता लगायतमा राज्यको नियामक निकायले छानबिन थालेको छ।
पिंकीको नगद उठाउने काइदा, शेयर बिक्री गर्ने कम्पनी गायब
ब्लु डायमन्ड सोसाइटीमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धानले गत २८ जेठमा छानबिन गर्ने निर्णय गरेको जनाएको छ। अख्तियारले निर्णय गरेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवलाई छानबिन गर्न लेखि पठाएको आयोगका सूचना अधिकारी देवी प्रसाद थपलियाले जानकारी दिए।
मन्त्रालयले समाज कल्याण परिषद्लाई छानबिन गर्न लेखि पठाउने तयारी भएको मन्त्रालय स्रोतले बताएको छ। छानबिनबाट सत्य तथ्य बाहिर आउने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले विश्वास व्यक्त गरेका छन्।
सम्बन्धित समाचार
बिश्वमा “ओ” उल्लेख गरेर राहदानी वितरण गर्ने नेपाल पहिलो राष्ट्र हुने
वैवाहिक अधिकारको आवरणमा हार्मोन बाड्ने क्लिनिक
हर्मोन क्लिनिक सञ्चालन गर्न अमेरिकी अनुदान लिएको खुलासा
सुदीपलाई उभ्याएर भूमिकाले भनिन्,तपाईँहरूको दिमाग खलबलिन्छ
हर्मोन प्रयोग गर्नेहरुमा मुटु र किड्नीको समस्या
लिङ्ग परिवर्तन गराउने धन्धाको संसदमा खैलाबैला , महिला बनेका पुरुष देखि तर्सिए सांसद
नेपालको सर्वेका लागि भुटानमा छलफल, अर्थले रोक्यो २७ करोड
स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट
पिंकी गुरुङले शेयर बिक्री बापत समुदायबाट लाखौँ उठाएको आरोप
हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको विरोध गर्नेलाई धम्की
विपिनको निधनमा समुदायको वेदना : जसले जे भने पनि हार्दिक श्रद्धाञ्जली
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.