काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त कार्यक्रम सञ्चालन गर्न लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता र पुनःस्थापनाका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका अधिकारीहरूसँग संयुक्त छलफल गरेको छ।
सडक, चोक तथा सार्वजनिक स्थलमा सहयोग माग गरिरहेका अपाङ्गता भएका, विभिन्न दुर्व्यसनमा रहेका र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरू सडकमा तथा सडक किनारामा सहयोग माग्ने अवस्थामा भेटिन्छन्।
दृष्टिविहीन व्यक्तिहरू आकाशे पुल, पार्क तथा विभिन्न चोकहरूमा गीत गाएर सहयोग याचना गरिरहेका हुन्छन्। उनीहरूलाई सडक जीवनबाट पारिवारिक तथा सामाजिक पुनःस्थापना र रोजगार क्षेत्रमा आबद्ध गराउने विषय छलफलको मुख्य एजेन्डा रहेको महानगरपालिकाले जनाएको छ।
“मानवीयताका सर्त तथा दायित्वहरू पूर्ण पालना गरेर हामीले काठमाडौँलाई सडक मानवमुक्त सहर बनाउन खोजेका हौँ,” छलफलमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भनिन्,“जसको कोही हुनुहुन्न, उहाँहरूको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको दायित्व हो। उहाँहरूको जिम्मेवारी हामी लिन्छौँ। तर, काम गर्ने क्षमता हुँदाहुँदै माग्न थाल्नु, घरपरिवार हुँदा हुँदै बेसहारा जस्तो बनेर सडकमा आउने क्रम रोक्नुपर्छ। यसका लागि हामीले काम गर्ने हो।”
सडक आश्रित मानव व्यवस्थापन गर्दा मानव अधिकारमैत्री र सहभागितामूलक उद्धार तथा व्यवस्थापन गरिने, साथै एकीकृत रूपमा उद्धार गरेपछि आवश्यकताका आधारमा अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, दुर्व्यसन जस्ता अवस्थाका आधारमा व्यक्तिहरूको वर्गीकरण गरी मानवोचित व्यवस्थापन गरिने कार्यवाहक प्रमुख डङ्गोलको भनाइ छ।
“अल्पकालीन आश्रय, मनोसामाजिक परामर्श र स्वास्थ्य परीक्षण उद्धारका क्रममा अवलम्बन गरिने प्रक्रिया हुन्,” उनले भनिन्,“उद्धार गरिएका व्यक्तिहरूको अवस्था र आवश्यकता पहिचान सकिएपछि पारिवारिक तथा सामाजिक पुनःस्थापना, रोजगार तथा स्वरोजगारका लागि सिप विकास तालिम सञ्चालन, स्वरोजगार बन्न चाहनेलाई सहुलियतपूर्ण ऋण जस्ता कामका लागि कानुनी तथा नीतिगत व्यवस्था गर्ने र त्यसका आधारमा सहकार्य, समन्वय र सहभागितामा आधारित कार्यक्रम सञ्चालन गरिनेछन्।”

महानगरपालिकाका अनुसार परिवार र समाजबाट बहिष्करणमा परेपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक पहिचान भएका व्यक्तिहरू सडकमा आश्रित हुनुपरेको सहभागीहरूले काम गर्दाको अनुभव सुनाएका थिए। पेसा र रोजगार क्षेत्रमा जाँदा पहिचान, सामाजिक सुरक्षा, मर्यादा र आत्मसम्मानमा स्वीकार नगरिएका कारण सडकमा माग्नुपरेको अवस्था पनि सहभागीहरूले बताएका थिए।
दृष्टिविहीन व्यक्तिहरू सडक, सार्वजनिक यातायात र बजार क्षेत्रमा गीत गाउनु पर्ने अवस्थाका विषयमा छलफल गर्दै उनीहरूका लागि रोजगार तथा स्वरोजगारको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइएको थियो। साथै, सडकमा आश्रित युवाहरूमा लागू औषधको दुर्व्यसन रहेकोले उहाँहरूलाई परिवारमा पुनर्मिलन गराउनु अघि सुधार केन्द्र तथा पुनःस्थापना केन्द्रमा राखेर आचरण तथा व्यवहार सुधारमा काम गर्नुपर्ने खाँचो औँल्याइएको छ।
छलफलमा अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाहरूसँग सहकार्य गर्ने, पुनःस्थापना र सशक्तीकरणका कार्यक्रमका लागि संयुक्त मोडेल बनाउने विषयसमेत उठान भएका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.