काठमाडौं – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलका पदाधिकारी नियुक्ति गर्नुका साथै संसदीय समितिहरूका सभापतिमा उम्मेदवारहरूको मनोनयन दर्ता गरेको छ।
रास्वपा सांसद गणेश पराजुली संसदीय दलको उपनेतामा नियुक्त भएका छन्। संसदीय दलको मुख्य सचेतकमा सांसद कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन् भने सचेतकहरूमा सांसद प्रकाशचन्द्र परियार र सांसद क्रान्तिशिखा धिताल नियुक्त भएको रास्वपाले जनाएको छ।
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रास्वपाले सङ्घीय संसद्का ११ वटा समिति सभापतिमा उम्मेदवारको मनोनयन दर्ता गरेको छ। प्रतिनिधि सभा अन्तर्गतका ९ र १ संयुक्त (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का विषयगत समितिका सभापति निर्विरोध हुने भएका छन्। समिति सभापतिमा निर्विरोध हुनेमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ९ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसद छन्।
समितिको सभापतिमा मनोनयनका लागि तोकिएको समयमा १० समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध भएका हुन्। एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले शुक्रवार बस्ने समितिका बैठकले निर्विरोध भएको घोषणा गर्न मात्रै बाँकी छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट भरतबहादुर खड्का सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध भएका छन्। कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा रास्वपाकी समीक्षा बाँस्कोटा निर्विरोध भएकी छन्।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल र मामिला समितिको सभापतिमा आकृति अवस्थी निर्विरोध भएका छन्।
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल र संसदीय सुनुवाइ विशेष समितिमा बोधनारायण श्रेष्ठ निर्विरोध निर्वाचित भए। उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास तथा अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी चयन भएका छन्।
नेकपा एमालेका गुरुप्रसाद बरालले प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा उम्मेदवारी दिएका छन्। यो पदमा रास्वपाका तर्फबाट डा. ओजस्वी शेरचनको उम्मेदवारी परेको छ।
यस्तै, सङ्घीय संसद्को संयुक्त समिति अर्थात् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति सभापतिमा मदन कुमारी शाह (गरिमा) को उम्मेदवारी परेको छ। उनी नेपाली कम्युनिस्ट पार्टीकी हुन्। सोही समिति सभापतिमा रास्वपाका तर्फबाट गणेश कार्कीको उम्मेदवारी परेको छ।
रास्वपाको एकल बहुमत रहेकाले अर्को दलको उम्मेदवारले सभापति पाउने सम्भावना भने छैन। संसदीय समितिका सभापतिहरूका लागि शुक्रवार निर्वाचनको कार्यतालिका छ।
सङ्घीय संसद्मा कुल १६ संसदीय समिति रहेका छन्। प्रतिनिधिसभाअन्तर्गत १० वटा र राष्ट्रिय सभाअन्तर्गत ४ वटा समिति रहेका छन् भने दुई वटा संयुक्त समिति छन्। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति र संसदीय सुनुवाइ समिति संयुक्त समिति हुन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.