सम्पत्ति विवरण सार्वजनिक: प्रधानमन्त्रीदेखि मन्त्रीहरूसँग सुनैसुन

सम्पत्ति विवरण सार्वजनिक: प्रधानमन्त्रीदेखि मन्त्रीहरूसँग सुनैसुन

176
SHARES

काठमाडौं – सरकारको नेतृत्व सम्हालेको एक महिना नपुग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

पारदर्शिता र जबाफदेहिताप्रति सरकारको प्रतिबद्धता झल्काउने यस कदमले प्रधानमन्त्री र केही मन्त्रीहरू उल्लेखनीय रूपमा ‘सुनका धनी’ रहेको तथ्यसमेत उजागर गरेको छ।

सार्वजनिक भएको विवरण अनुसार, प्रधानमन्त्री र गृहमन्त्री सुन थुपार्ने मन्त्रीका रूपमा देखिएका छन्। प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैतृक’ रहेको जनाइएको छ।

प्रधानमन्त्री बालेन शाहले आफ्नो बैङ्क ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन्। उनले यसको स्रोत सामाजिक सञ्जाल रहेको उल्लेख गरेका छन्। शाहको फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख र एक्समा ५ लाख फलोअर रहेको पनि विवरणमा उल्लेख छ।

शाहको धनुषामा १.२ बिघा, महोत्तरीमा ९ बिघा जमिन र काठमाडौँमा ५ आना जग्गा रहेको छ। उक्त जग्गा बुवा रामनारायण साहको नाममा रहेको पनि विवरणमा उल्लेख गरिएको छ।

गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ। उनीसँग ६ किलो चाँदी पनि रहेको उल्लेख छ। गृहमन्त्री गुरुङको विभिन्न कम्पनीको गरी २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको सेयर रहेको छ। गुरुङको धनकुटा, चितवन र गोरखामा जग्गा रहेको छ।

धनकुटामा उनकै नाममा १९ रोपनी १५ आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त जग्गा लगानीबाट प्राप्त पैसाबाट किनिएको उनले खुलाएका छन्। बुवा दिलबहादुरको नाममा चितवनको भरतपुरमा ३० कठ्ठा जमिन रहेको छ भने हजुरबुवा रामसल गुरुङको नाममा गोरखामा २२१ रोपनी जमिन रहेको छ। त्यस्तै, विभिन्न बैङ्कमा ६१ लाख ६० हजार रुपैयाँ बचत रहेको छ।

होप होल्डिङ्ग्स प्रालिमा ३० हजार थान सेयरको ३० लाख, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५७ हजार थान सेयरको ५७ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ। एडभेन्चर भिल्ला प्रालिको नाममा ७० लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ। गृहमन्त्री गुरुङको नाममा ४८ लाख रुपैयाँ बराबरको एमजीएस फाइभ कारसमेत रहेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चारवटा घर तथा अपार्टमेन्ट रहेको खुलाएका छन्। सार्वजनिक सम्पत्ति विवरणमा उनले ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाखको तथा तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन्। उनले यस्तो सम्पत्तिको स्रोत अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, बैङ्क ऋण तथा व्यक्तिगत सापटी रहेको जनाएका छन्।

उनको बैङ्क ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ। अर्थमन्त्री वाग्लेले आफूसँग ९४ लाख रुपैयाँको गाडी रहेको तथा ग्लोबल आइएमई बैङ्कबाट १ करोड ५ लाख र व्यक्तिगत सापटी २ करोड ५० लाख रुपैयाँ ऋण रहेको पनि उल्लेख गरेका छन्। साथै, राष्ट्रिय वाणिज्य बैङ्कबाट ३८ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कबाट ७५ लाख रुपैयाँ ऋण लिएर तिरिसकेको उनले सम्पत्ति विवरणमा जनाएका छन्।

परराष्ट्र मन्त्री शिशिर खनालको काठमाडौँको टोखामा एउटा घर रहेको छ भने तनहुँ, नवलपुर र बाँकेको नेपालगन्जमा जग्गा रहेको पाइएको छ। चल सम्पत्तितर्फ परराष्ट्र मन्त्री खनालसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको छ। त्यस्तै, उनले आफूसँग १० लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख गरेका छन्।

मन्त्री खनालको नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कमा ३ लाख २० हजार ५४७, नबिल बैङ्कमा २ लाख १ हजार ४०५, राष्ट्रिय वाणिज्य बैङ्कमा २ लाख ६८ हजार १४१, एनआइसी एसियामा ४ लाख ५१ हजार २९०, ग्लोबल आइएमई बैङ्कमा ४३ हजार ८०३ तथा नबिल बैङ्ककै अर्को खातामा ४ हजार ८८२ रुपैयाँ नगद रहेको उल्लेख छ।

मन्त्री खनालसँग पिक एन्ड ड्रप नेपालको ३३ प्रतिशत, रिग्पा इन्टरनेशनल प्राइभेट लिमिटेडको १०० प्रतिशत, ताजा एग्रो फार्मको १६ प्रतिशत सेयर रहेको छ। साथै, बिडब्लुपी माइक्रो फाइनान्सको २५६० कित्ता, ओम मेघाश्री फर्माक्युटिकल्सको ५००० कित्ता, ग्लोबल आइएमई बैङ्कको १०९ कित्ता र नबिल बैङ्कको ५० कित्ता सेयर छ। यसबाहेक १६ विभिन्न कम्पनीको सेयरसमेत रहेको विवरणमा उल्लेख गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले ३० तोला सुन, ५० तोला चाँदी र ९० लाख नगद रहेको उल्लेख गरेका छन्। उनले परिवारका सदस्यका नाममा रुपन्देहीमा १ कठ्ठा १० धुर जग्गामा घर, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा, स्याङ्जामा ७ रोपनी खेत र २२ रोपनी बारी रहेको उल्लेख गरेका छन्।

कानुनमन्त्री सोविता गौतमको काठमाडौं र चितवनमा घर–जग्गा, १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। गौतमले बैङ्क ब्यालेन्स स्वरूप १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छिन्।

उनले दुईवटा बैङ्कबाट ऋण पनि लिएको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। जसअनुसार गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैङ्कबाट २० लाख रुपैयाँ ऋण लिएको र त्यसमा ७ लाख रुपैयाँ तिरेको उल्लेख गरेकी छिन्।

एभरेस्ट बैङ्कबाट गाडी खरिदकै लागि २५ लाख रुपैयाँ ऋण लिएको उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। सम्पत्ति प्राप्तिको स्रोत ऋण र तलब भएको उल्लेख छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले काठमाडौँको बुढानीलकण्ठमा ७० लाख र बारामा ५० लाख रुपैयाँको जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्। उनले यी जग्गा खरिदको स्रोत श्रीमान्को आय उल्लेख गरेकी छन्। आफूसँग २५ तोला सुन रहेको र यसको स्रोत स्वआर्जन तथा परिवारको उपहार भएको बताएकी छन्।

उनले विभिन्न बैङ्कमा २४ लाख रुपैयाँभन्दा बढी रकम बचत रहेको र उक्त रकम श्रीमान्को आयबाट भएको उल्लेख गरेकी छन्। उनले २० लाख रुपैयाँ एभरेस्ट बैङ्कबाट २०८२ साल जेठमा ऋण लिएको पनि उल्लेख गरेकी छन्। त्यस्तै, ४४ लाख रुपैयाँको गाडी पनि रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकामा ६ आना जग्गा रहेको उल्लेख गरेका छन्। उनले आफूसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको बताएका छन्।

उनले लुम्बिनी विकास बैङ्कमा २४ लाख १७ हजार २००, एभरेस्ट बैङ्कमा ७३ हजार २४८, सिटिजन्स बैङ्कमा १ लाख ४३ हजार ३३, सिनर्जी कोअपरेटिभ लिमिटेडमा १५ लाख, सिनर्जी कोअपरेटिभ लिमिटेडमा पत्नीसहितको सगोलमा २५ लाख, वाणिज्य बैङ्कमा १२ लाख ४२ हजार, नबिल बैङ्कमा १ लाख ६३ हजार ६३६ र सिनर्जीमा १ हजार रुपैयाँ नगद मौज्दात रहेको उल्लेख गरेका छन्। यी सबै रकमको स्रोत स्वआर्जन रहेको उनले जनाएका छन्।

आफूसँग विभिन्न कम्पनीको २० हजार ९७८ कित्ता सेयर रहेको र अहिलेको मूल्यअनुसार १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँ बराबरको सम्पत्ति रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। साथै, आफूसँग ५० लाख रुपैयाँ ऋण रहेको र करिब ३ लाख मूल्यका विभिन्न ब्रान्डका घडी रहेको पनि उनले उल्लेख गरेका छन्।

स्वास्थ्य मन्त्री निशा मेहतासँग ३० तोला सुनको गरगहना रहेको पाइएको छ। सार्वजनिक सम्पत्ति विवरणअनुसार उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ, जसको स्रोत दाइजो, उपहार र आफैँले खरिद गरेको जनाइएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग कृषि तथा पशुधनतर्फ २० वटा कुखुरा र एउटा कुकुर रहेको छ। उनले विवाहमा १८ तोला सुन र १५ तोला चाँदी पाएको विवरण पनि सार्वजनिक गरेकी छन्। उनीसँग एनआइसी र प्रभु बैङ्कमा १५ लाख रुपैयाँ नगद रहेको उल्लेख गरिएको छ। साथै, उनले कुनै ऋण नभएको विवरणमा जनाएकी छन्।

शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बुवा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा ७ स्थानमा करिब साढे २० करोड रुपैयाँ बराबरको अचल सम्पत्ति रहेको उल्लेख गरेका छन्। उनले आफूसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको विवरण प्रस्तुत गरेका छन्।

उनले आफ्नो बैङ्क खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् भने डलर खातामा अमेरिकी डलर ५ रहेको पनि जनाएका छन्। साथै, पारिवारिक सदस्यसहित संयुक्त रूपमा सेयर कारोबारमा लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।

उद्योग मन्त्री गौरी कुमारी यादवसँग काठमाडौँ र महोत्तरीमा अथाह जग्गा जमिन, १८० तोला सुन, करोडौँको लगानी र बैङ्क मौज्दात रहेको देखिएको छ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ९ मा १ रोपनी १ आना २ दाममा तीनतले घर रहेको छ। त्यस्तै, काठमाडौँ–१० मा १४ आना जग्गा, सोही वडामा अर्को ठाउँमा ७ आना एक पैसा २ दाम जग्गा र फेरि सोही वडामा ९ आना १ पैसा तीन दाम जग्गा पनि उनको नाममा रहेको उल्लेख छ।

महोत्तरी जिल्लातर्फ, बर्दिबास नगरपालिकामा १४ कठ्ठा, बर्दिबासमै अर्को ठाउँमा १५ कठ्ठा, र बर्दिबासका अन्य दुई ठाउँमा साढे ६ बिघा जग्गा रहेको उनले जनाएकी छन्। मन्त्री यादवले ३० वर्षअघि खरिद गरेको भनिएको १८० तोला सुन, दुई किलो चाँदी र २ सेट अर्थात् चार रिङ हिराको गहना पनि आफ्नो सम्पत्तिको रूपमा खुलाएकी छन्।

बैङ्क तथा वित्तीय संस्थामा उनको चार लाख रुपैयाँ सिद्धार्थ बैङ्कमा, एक लाख रुपैयाँ लक्ष्मी सनराइज बैङ्कमा, २ लाख रुपैयाँ ग्लोबल आईएमई बैङ्कमा, डेढ लाख रुपैयाँ सीभीआईसीमा र डेढ लाख रुपैयाँ मनमोहन स्वास्थ्य सहकारीमा रहेको उल्लेख छ। यसका अतिरिक्त, विभिन्न कम्पनीमा ३ करोड ३८ लाख रुपैयाँ लगानी रहेको पनि उनको विवरणमा उल्लेख छ।

शिवजी यादवको नाममा १ करोड ६० लाख रुपैयाँ ऋण रहेको उनले उल्लेख गरेकी छन्। त्यस्तै कात्तिक यादवको नाममा १ लाख ८७ हजार रुपैयाँको अटो ऋण रहेको र ५७ लाख रुपैयाँ पर्ने कार पनि सोही नाममा रहेको विवरणमा उल्लेख छ।

कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीले सम्पत्ति विवरणमा स्वआर्जनबाट ५० हजार रुपैयाँ पर्ने घडी रहेको उल्लेख गरेकी छन्। त्यस्तै मोबाइल ९० हजार रुपैयाँ र ल्यापटप ७५ हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ।

उनको नाममा ५ तोला सुन र १०० तोला चाँदी रहेको छ। उक्त सुन र चाँदीको आयस्रोत पैतृक र स्वआर्जन रहेको जनाइएको छ। ५ वटा बैङ्कमा गरी मन्त्री चौधरीको नाममा १ लाख २६ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

मन्त्री चौधरीले ऋण लिएर एउटा स्कुटर खरिद गरेको उल्लेख छ। स्कुटर खरिद गर्दा लिएको १ लाख ५० हजार मध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख छ। स्वआर्जनबाट ३ लाख ३० हजार मूल्यको अर्को पनि स्कुटर रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

समाचार शेयर गर्नुहोस्
176
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.