तेस्रोलिंगीको दुर्व्यवहार भिडियो भाइरल: अपमानजनक शब्दमा आपत्ति, ‘मानसिक सन्तुलन बिग्रिएको’ दाबीमा प्रश्न

तेस्रोलिंगीको दुर्व्यवहार भिडियो भाइरल: अपमानजनक शब्दमा आपत्ति, ‘मानसिक सन्तुलन बिग्रिएको’ दाबीमा प्रश्न

115
SHARES

चितवन – नारायणघाटस्थित एक पेट्रोल पम्पमा डिजेल हाल्ने क्रममा रोकिएको सार्वजनिक गाडीभित्र एक तेस्रोलिंगी पहिचानका व्यक्ति जबरजस्ती प्रवेश गरी एक महिलामाथि अभद्र व्यवहार गरेको आरोप लागेको छ। उक्त घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक चर्चा, आलोचना र बहस सुरु भएको छ।

फेसबुक प्रयोगकर्ता दिपा पाठकले भिडियो सार्वजनिक गर्दै पीडित महिला बेहोस हुने अवस्थामा पुगेपछि अस्पताल पठाइएको दाबी गरेकी छन्। गाडीभित्र प्रवेश गरी महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेका तेस्रोलिंगी पहिचानका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको भनेकी छन्।

पाठकले निष्पक्ष छानबिनसहित कडा कानुनी कारबाही हुनुपर्ने माग गर्दै भविष्यमा यस्ता घटनाले पुनः स्थान नपाओस् भन्ने अपेक्षा व्यक्त गरेकी छन्। उनका अनुसार घटना गत जेठ ४ गते राति भएको हो।

तर तत्कालै घटना साम्य भएको र पीडितले प्रहरीमा उजुरी नदिएपछि कुनै अनुसन्धान नै नभएको विषयमा भिडियो पोस्ट गर्ने दिपा पाठकले केही अपडेट दिन सकेकी छैनन्।

उनले ब्लु डायमन्ड सोसाइटीसँग आबद्ध केही व्यक्तिहरूले गाडीभित्र दुर्व्यवहार गर्ने तेस्रोलिंगी व्यक्तिको मानसिक सन्तुलन गुमेको जानकारी सन्देशमार्फत दिएपछि आफूले माफी मागेको उल्लेख गरेकी छन्।

उनले आफूले माफी मागेपछि पनि भिडियो हटाउन दबाब र धम्की आएको दाबी गरेकी छन्। अरूले गल्ती गर्दा कानुनी कारबाही हुने तर समुदायभित्रका व्यक्तिले गल्ती गर्दा किन माफी दिनुपर्ने भन्ने प्रश्नसमेत उनले उठाएकी छन्।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा घटनापछि उपस्थित व्यक्तिहरूले “तपाईँ केटा हो कि केटी हो?” भन्ने प्रश्न गरेको सुनिन्छ। भिडियोमा “केटै हो, केटी होइन यो, फेक कपाल हालेको छ”, “किन केटी बनेर पैसा मागेको?” तथा “केटा हो यो, नत्र केटीको पार्टमा समाउँछ?” जस्ता अभिव्यक्तिहरू पनि सुनिन्छन्।

यही भाषाशैली र टिप्पणीमाथि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकारकर्मीहरूले आपत्ति जनाएका छन्। केही दिनअघि बाबु दुमी राईले उक्त भिडियो सामाजिक सञ्जालमा साझा गर्दै घटनामा संलग्न व्यक्तिको व्यवहार र भिडियोमा सुनिएका अभिव्यक्तिलाई अलग-अलग रूपमा मूल्याङ्कन गर्नुपर्ने बताएका थिए।

उनले घटनामा संलग्न व्यक्तिले गल्ती गरेको भए कानुनअनुसार सजाय पाउनुपर्नेमा आफूहरूको कुनै आपत्ति नरहेको स्पष्ट पारेका छन्। तर घटनाको प्रस्तुतीकरण, प्रयोग गरिएको भाषा र त्यसक्रममा गरिएको व्यवहारबारे पनि गम्भीर अनुसन्धान हुनुपर्ने उनको भनाइ छ।

मायाको पहिचान नेपालका प्रदेश समन्वय अधिकारीसमेत रहेका राईले लेखेका छन्, “गल्ती गर्ने पक्ष सजायको भागीदार होस्, त्यसमा आपत्ति छैन र हुँदैन। गलत, गलत नै हो। तर त्यस घटनाको वरिपरि जसरी एउटा घटनाको साटो झन् ठूलो बोली र व्यवहारमार्फत अर्को प्रकारको अपराध गरिएको छ, त्यसतर्फ पनि ध्यान दिनुपर्छ।”

उनका अनुसार उक्त भिडियो र त्यसमा प्रयोग भएका शब्दहरूले केवल एक व्यक्तिलाई मात्र नभई समग्र समुदायलाई नै ठूलो आघात र चोट पुर्‍याएको छ। भिडियो निरन्तर प्रसारण र साझेदारी भइरहे थप घृणा, विभेदपूर्ण भाषा र समुदायप्रति नकारात्मक धारणा फैलिने चिन्ता उनले व्यक्त गरेका छन्।

राईले “केटा हो भन्ने आधार नक्कली कपाल हो?”, “त्यसो भए तपाईँको मेकअप जन्मजात आएको हो?”, “महिलामाथि दुर्व्यवहार गर्‍यो भन्दैमा त्यो व्यक्ति पुरुष नै हुन्छ भन्ने निष्कर्ष कसरी निकालिन्छ?” जस्ता प्रश्न उठाएका छन्। साथै यौन दुर्व्यवहार केवल पुरुषले मात्र गर्ने वा महिलामाथि मात्रै हुने भन्ने बुझाइले समाजलाई कस्तो सन्देश दिन्छ भन्ने विषयमा पनि उनले प्रश्न गरेका छन्।

उनले “तपाईँहरूलाई महिला र पुरुष छुट्याउन कुन निकायले पठाएको हो?” भन्दै भिडियोमा प्रयोग गरिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनका अनुसार शब्दको प्रहारले एक व्यक्तिलाई मात्र नभई सिङ्गो समुदायलाई असर पुर्‍याएको छ। सामाजिक सञ्जालमा टिप्पणी गर्ने र बहस गर्ने व्यक्तिहरूले एलजीबीटी समुदायका विषयमा आधारभूत बुझाइ राख्नुपर्ने उनको आग्रह छ।

राईले लिङ्ग, लैङ्गिक पहिचान, यौन अभिमुखीकरण र लैङ्गिक अभिव्यक्ति फरक–फरक विषय भएको उल्लेख गरेका छन्। उनका अनुसार लिङ्ग जन्मका क्रममा पहिचान गरिने जैविक अवस्थासँग सम्बन्धित हुन्छ, लैङ्गिक पहिचान व्यक्तिले आफूलाई महिला, पुरुष, तेस्रोलिंगी वा अन्य कुन रूपमा अनुभूति गर्छ भन्ने विषय हो, यौन अभिमुखीकरण कसप्रति आकर्षण महसुस हुन्छ भन्ने प्रश्नसँग सम्बन्धित छ भने लैङ्गिक अभिव्यक्ति व्यक्तिले आफूलाई समाजमा कसरी प्रस्तुत गर्छ भन्ने पक्षसँग जोडिएको हुन्छ।

उनले यही विषयमा रहेको अन्योल र भ्रमका कारण लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई बुझ्न समाजलाई कठिन भइरहेको उल्लेख गर्दै यी चारवटै विषयलाई छुट्टाछुट्टै रूपमा बुझ्ने प्रयास आवश्यक रहेको बताएका छन्।

उक्त घटनामा महिलामाथि भएको दुर्व्यवहारप्रति सामाजिक सञ्जालमा व्यापक आक्रोश देखिएको छ भने अर्कोतर्फ समुदायका अधिकारकर्मीहरूले घटनामा संलग्न व्यक्तिको व्यवहार र समग्र समुदायको पहिचानलाई एउटै रूपमा हेर्न नहुने तर्क अघि सारेका छन्।

तेस्रोलिंगी व्यक्तिले गाडीभित्र दुर्व्यवहार गरेको भिडियो साझा गर्ने दिपा पाठकले भने पछि माफी मागेकी छन्। उनका अनुसार ब्लु डायमन्डसँग आबद्ध व्यक्तिहरूले दुर्व्यवहार गर्ने व्यक्तिको मानसिक अवस्था ठिक नरहेको जानकारी गराएकाले उनले माफी मागेकी हुन्। यद्यपि, तेस्रोलिंगी व्यक्तिले गरेको गल्ती पनि गल्ती नै भएको उनको भनाइ छ।

उनलाई मेन्सन गर्दै गरिमा गुरुङ नामकी फेसबुक प्रयोगकर्ताले भिडियोमा देखिएका तेस्रोलिंगी व्यक्ति मानसिक सन्तुलन बिग्रिएको व्यक्ति भएको दाबी गरेकी छन्। उनले लेखेकी छन्, “मानसिक सन्तुलन बिग्रनुमा हामी र हाम्रो समाजकै भूमिका छ। व्यक्ति, परिवार, समाज र राज्यले सहज रूपमा स्वीकार नगर्दा धेरै मानिसहरू रोजगारी, अवसर र सम्मानबाट वञ्चित हुन्छन्। त्यसले डिप्रेसन र एन्जाइटीजस्ता समस्या निम्त्याउँछ। उहाँ पनि त्यस्तो नराम्रो व्यक्ति होइन, मानसिक सन्तुलन बिग्रिएको र मुटुको अपरेसन गरिसकेको व्यक्ति हो।”

गरिमाले उक्त व्यक्तिको व्यवहारप्रति समुदायको तर्फबाट क्षमायाचना समेत व्यक्त गरेकी छन्।

वडा प्रहरी चौकी नारायणघाटले भने घटनाबारे कुनै औपचारिक उजुरी नपरेको जनाएको छ। प्रहरीका अनुसार अस्पताल पुर्‍याइएकी युवती तत्कालै डिस्चार्ज भएकी थिइन्। पीडित भनिएकी युवतीले उजुरी वा जाहेरी दर्ता गराएकी छैनन्।

प्रहरी स्रोतका अनुसार घटनास्थलमा क्युआरमार्फत क्षतिपूर्ति पठाइदिनु भन्ने खालका कुराकानीसमेत सुनिएको थियो। साथै, सामाजिक सञ्जालमा गरिएको दाबीअनुसार घटनामा संलग्न व्यक्तिको मानसिक सन्तुलन बिग्रिएको अवस्था स्पष्ट रूपमा नदेखिएको प्रहरीको भनाइ छ।

“उहाँहरू आपसमा छलफलमै बस्नुभयो, उजुरबाजुर भएन। घटना प्रहरी कार्यालयसम्म नै आइपुगेन,” वडा प्रहरी चौकी नारायणघाटका एक अधिकारीले भने।

यस घटनाले एकातर्फ महिलामाथि भएको दुर्व्यवहारमाथि कानुनी कारबाहीको माग उठाएको छ भने अर्कोतर्फ घटना सार्वजनिक गर्ने क्रममा प्रयोग गरिएका शब्द, लैङ्गिक पहिचानमाथिका टिप्पणी तथा घटनापछि मानसिक स्वास्थ्यको विषयलाई कसरी प्रस्तुत गरियो भन्ने प्रश्नसमेत सार्वजनिक बहसको विषय बनेको छ।

समाचार शेयर गर्नुहोस्
115
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.