रास्वपाको आन्तरिक निर्देशन : स्वकीय सचिव खुला प्रतिस्पर्धाबाट, पारिवारिक नियुक्ति निषेध

रास्वपाको आन्तरिक निर्देशन : स्वकीय सचिव खुला प्रतिस्पर्धाबाट, पारिवारिक नियुक्ति निषेध

83
SHARES

काठमाडौँ – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ। राज्यकोषबाट प्राप्त हुने सुविधाको उच्चतम सदुपयोग सुनिश्चित गर्दै स्वकीय सचिव नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन आफ्ना सङ्घीय सांसदहरूका लागि उक्त आन्तरिक निर्देशन जारी गरिएको रास्वपाका महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन्।

सङ्घीय संसद्का सदस्यहरूको पदीय जिम्मेवारी (कानून निर्माण, नीतिगत बहस तथा जनगुनासो सम्बोधन)लाई प्रभावकारी बनाउन सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा मन्त्रिपरिषद्ले हालै गरेको हेरफेरपछि सङ्घीय सांसदहरूले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह)को एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको छ। सोही व्यवस्थालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन रास्वपाले आन्तरिक मापदण्ड तय गरेको जनाएको छ।

निर्देशनअनुसार स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको छ। पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ। नियुक्ति पारिवारिक तथा नातागोताको परिधिभन्दा बाहिरबाट मात्र गर्नुपर्ने उल्लेख छ।

सङ्घीय संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता अर्थात् स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। सम्बन्धित क्षेत्रमा विज्ञता, प्रविधिमैत्री क्षमता, अनुसन्धान कौशल तथा पार्टीको मूल्य–मान्यताप्रति निष्ठावान् व्यक्तिलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ। साथै योग्यता र क्षमता पुगेका उम्मेदवारहरूमध्ये महिला, सीमान्तकृत समुदाय तथा पछाडि पारिएका वर्गलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।

रास्वपाले स्वार्थ नबाझिएको र दोहोरो सुविधा नलिएको हुनुपर्ने मापदण्ड पनि तय गरेको छ। नियुक्त हुने स्वकीय सचिवले अन्य कुनै सरकारी वा गैरसरकारी संस्थामा पूर्णकालीन रोजगारी गरेको वा दोहोरो आर्थिक सुविधा लिने गरी काम गरेको हुनुहुँदैन। साथै सांसदको पदीय दायित्वमा प्रभाव पार्ने कुनै पनि स्वार्थ बाझिने अवस्था (कन्फ्लिक्ट अफ इन्टरेस्ट)बाट उम्मेदवार मुक्त हुनुपर्ने व्यवस्था गरिएको छ।

निर्देशनमा स्वकीय सचिव छनोट, नियुक्ति तथा अनुमोदन प्रक्रियासमेत स्पष्ट गरिएको छ। त्यसअनुसार स्वकीय सचिवको छनोट सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक विधिबाट गरिनुपर्नेछ। सांसदले योग्य उम्मेदवार छनोट गरेपछि नियुक्तिका लागि रास्वपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। साथै नियुक्तिसम्बन्धी कुनै विवाद, उजुरी वा प्रश्न उत्पन्न भएमा त्यसको छानबिन गरी अन्तिम निर्णय गर्ने अधिकार पार्टीमै निहित रहने उल्लेख छ।

पारिश्रमिक तथा आर्थिक पारदर्शितासम्बन्धी व्यवस्थामा स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको अनधिकृत रकम कट्टा गर्न, असुल्न वा हिनामिना गर्न पूर्णतः निषेध गरिएको छ। यस्तो कार्यलाई गम्भीर आर्थिक अनुशासनहीनता मानिने र पारिश्रमिक सिधै स्वकीय सचिवको बैङ्क खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ।

अभिलेख व्यवस्थापन, कार्यसम्पादन र गोपनीयतासम्बन्धी व्यवस्थाअनुसार नियुक्त स्वकीय सचिवको व्यक्तिगत विवरण (बायोडाटा) तथा शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि सङ्घीय संसद् सचिवालयका साथै पार्टीको केन्द्रीय कार्यालयमा समयमै दर्ता गराउनुपर्नेछ।

सम्बन्धित सांसदले आफ्नो स्वकीय सचिवको कार्यसम्पादनको नियमित मूल्याङ्कन गरी त्यसको आवधिक प्रतिवेदन संसदीय दलसमक्ष अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। साथै स्वकीय सचिवले सांसदको कामकारबाही, पार्टीका आन्तरिक सूचना तथा संसद्का संवेदनशील विषयहरूको पूर्ण गोपनीयता कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।

आचारसंहिता, कारबाही तथा पदमुक्तिसम्बन्धी व्यवस्थामा राज्यकोषको सुविधा जनताको करबाट प्राप्त हुने भएकाले यसको उपयोगमा रास्वपाका सम्पूर्ण सांसदहरूले उच्च नैतिक आचरण र जनउत्तरदायित्व प्रस्तुत गर्नुपर्ने उल्लेख गरिएको छ। मार्गदर्शनको उल्लङ्घन गर्दै नातेदार नियुक्त गरेको, कागजी रूपमा मात्र सचिव खडा गरी सुविधा लिएको वा अन्य आर्थिक हिनामिना गरेको पाइएमा पार्टीको केन्द्रीय अनुशासन समितिमार्फत तत्काल आवश्यक कारबाही अगाडि बढाइने भनिएको छ।

त्यस्तै स्वकीय सचिवको कार्यसम्पादन सन्तोषजनक नभएमा, पदीय आचरण विपरीत कार्य गरेमा वा गोपनीयता भङ्ग गरेमा सम्बन्धित सांसदले संसदीय दलको जानकारीमा जुनसुकै बेला पदमुक्त गर्न सक्ने व्यवस्था गरिएको छ।

रास्वपाले स्वकीय सचिव नियुक्तिका लागि साझा, आधिकारिक र व्यावसायिक विज्ञापन ढाँचा पनि तयार गर्ने जनाएको छ। संसदीय दलले तयार गर्ने उक्त ढाँचामा आवश्यक योग्यता, कार्यविवरण र आवेदन दिने प्रक्रिया स्पष्ट रूपमा उल्लेख गरिनेछ। नयाँ स्वकीय सचिव नियुक्तिका लागि सार्वजनिक आह्वान गर्दा सम्पूर्ण सांसदहरूले अनिवार्य रूपमा सोही साझा विज्ञापन ढाँचाको प्रयोग गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ।

निर्देशनमा स्वकीय सचिव व्यवस्थापन तथा नियुक्तिसम्बन्धी कुनै पनि प्रकारको सहयोग वा सरसल्लाह आवश्यक परे संसदीय दलका उपनेता, मुख्य सचेतक तथा सचेतकहरूसँग सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।

समाचार शेयर गर्नुहोस्
83
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.