अस्ट्रेलियाली प्रतिनिधिमण्डलकाे तीन दिने नेपाल भ्रमण, भावी सहकार्यबारे छलफल

अस्ट्रेलियाली प्रतिनिधिमण्डलकाे तीन दिने नेपाल भ्रमण, भावी सहकार्यबारे छलफल

61
SHARES

काठमाडौँ – अस्ट्रेलियाली डिपार्टमेन्ट फर फरेन अफेयर्स एन्ड ट्रेडको दक्षिण तथा मध्य एसिया महाशाखाका प्रथम सहायक सचिव सेरा स्टोरीको नेतृत्वमा आएको अस्ट्रेलिया सरकारको वरिष्ठ प्रतिनिधिमण्डलले नेपालको तीन दिने भ्रमण गरेको छ।

भ्रमणका क्रममा दुई देशबीचको विद्यमान बलियो र दीर्घकालीन साझेदारीलाई जोड दिँदै व्यापार, लगानी, शिक्षा, जलवायु परिवर्तन तथा दिगो विकास लगायतका क्षेत्रमा सहकार्यका नयाँ अवसरहरू पहिचान गरिएको अस्ट्रेलियन दूतावासले जनाएको छ।

भ्रमणका क्रममा स्टोरीले नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईसँग संयुक्त रूपमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठकको सह-अध्यक्षता गरिन। उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दवाडीसँग संयुक्त रूपमा व्यापार तथा लगानी रूपरेखा व्यवस्था समितिको पहिलो बैठकको पनि सह-अध्यक्षता गरिन।

यो समिति बैठक दुई देशबीचको आर्थिक सहकार्य विस्तार गर्ने दिशामा महत्त्वपूर्ण कदम रहेको अस्ट्रेलियन दूतावासले जनाएको छ। उक्त बैठकहरूले द्विपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउने तथा क्षेत्रीय एवं बहुपक्षीय मञ्चहरूमा साझा हितहरू अघि बढाउने विषयमा दुवै सरकारको साझा प्रतिबद्धता व्यक्त गरे।

अस्ट्रेलियाले त्यहाँ बसोबास गर्ने नेपाली समुदायको महत्त्वपूर्ण योगदान प्रति सम्मान प्रकट गरेको छ। उनीहरूको सीप, उद्यमशीलता, लगानी तथा मेहनती स्वभावले दुई देशबीचको जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन योगदान पुर्‍याइरहेको छ।

द्विपक्षीय संयन्त्रका बैठकहरूका साथै स्टोरीले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरिन। द्विपक्षीय सम्बन्धमा शिक्षाको विशेष महत्वलाई ध्यानमा राख्दै, स्टोरीले स्वागत समारोहमा अस्ट्रेलियाली विश्वविद्यालयहरूबाट अध्ययन गरेका नेपाली पूर्वविद्यार्थीहरूसँग अन्तरक्रिया गरिन। उनले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी, शिक्षाविद्, युवा नेताहरू तथा वैदेशिक नीति क्षेत्रका विज्ञहरूसँग पनि भेटघाट गर्दै अस्ट्रेलिया–नेपाल सम्बन्धको भावी दिशाबारे छलफलको नेतृत्व गरिन।

उक्त कार्यक्रममा बोल्दै स्टोरीले अस्ट्रेलिया–नेपाल साझेदारीको आधारभूत मूल्यहरूबारे प्रकाश पारिन। “लोकतान्त्रिक मूल्य तथा नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाप्रति हाम्रो साझा प्रतिबद्धताहरू हाम्रो सम्बन्धको महत्त्वपूर्ण आधारस्तम्भ हो। यसले साझा हितहरू प्रवर्द्धन गर्नका निमित्त मिलेर काम गर्ने बलियो आधार प्रदान गर्छ,” स्टोरीले भनिन्।

स्टोरीले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र अन्तर्गतको गोदावरी स्थित लिभिङ माउन्टेन ल्याबको पनि भ्रमण गरे। इसिमाेडसँग अस्ट्रेलियाको साझेदारी तथा जलवायु परिवर्तनका प्रभावहरू सम्बोधन गर्न अस्ट्रेलियाको प्रतिबद्धताबारे चर्चा गर्दै उनले प्राकृतिक स्रोत व्यवस्थापन, जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा क्षेत्रीय सहकार्य र ज्ञान आदानप्रदानलाई अस्ट्रेलियाको निरन्तर साथ रहिरहने बताइन।

यस भ्रमणले अस्ट्रेलिया–नेपालबीचको सुमधुर सम्बन्धलाई थप गतिशील बनाउनुका साथै आगामी वर्षहरूमा अझ गहिरो सहकार्यका अवसरहरू सृजना गरेको छ।

समाचार शेयर गर्नुहोस्
61
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.