कास्की – शिला गुरुङकाे उमेर ६० वर्ष पुग्न लाग्याे। सुरुदेखि नै नेकपा एमाले पार्टीमा आबद्ध उनले नियमित लेबी बुझाउँदै आएका छन्। २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डका बेला उनी मैतीदेवीमा बस्थे।
२०५८ जेठ १९ को दरबार हत्याकाण्ड होस् वा २०६१ साल माघ १९ गतेको शाही ‘कू’, अनि २०६२/०६३ को जनआन्दोलनमा झन्डा बोकेर सडकमा निस्किएका थिए उनी। आन्दोलनका क्रममा पक्राउ पर्ने डरले लुक्नुपरेको क्षण सम्झँदै बाँकेका गुरुङ भन्छन्, “गाह्रो थियो नि, पक्राउ गर्ने डरले लुक्नु परेको थियो।”
राजनीतिक दललाई लेबी बुझाउने असली कार्यकर्ता हुन् उनी। ट्रेड युनियनमा मजदुरका रूपमा काम गरेका शिला पार्टी कामका लागि दिनरात नभनी खटिए। अहिले भने उनी घोत्लिन विवश छन्। पार्टीले उनको पहिचानमाथि कुनै प्रश्न उठाएन, सदस्यतामा विभेद पनि गरेन। तर, वडा सदस्यसम्मको पदका लागि समेत उनलाई कहिल्यै सिफारिस गरेन।
देशमा विकास होस्, समृद्धि आओस् र बुढेसकालमा सुरक्षा मिलोस् भन्ने शिलाको चाहना छ। उनको भनाइ सिधा छ, “अब राजनीतिबाट के चाहिँ लाभ लिनु छ र? हिजो लेबी बुझाउनका लागि काम गर्नै पर्थ्यो।”
उनले नर्वेजियन दूतावासको सहयोगमा सुनिल बाबु पन्तले स्थापना गरेको नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी)ले सञ्चालन गरेको रेडियो कार्यक्रममा पनि काम गरे। उक्त कार्यक्रम छ वर्ष सञ्चालन भयो। नर्वेजियन दूतावासले सहयोग नगरेपछि रेडियो कार्यक्रम बन्द भयो।
“पारिश्रमिक मासिक ३५ हजार रुपैयाँ पुगेको थियो। भेट्यो कि कचकच परिहाल्थ्यो,” ब्लु डायमन्ड छोड्नुको कारण खुलाउँदै शिला भन्छन्, “म पनि गुरुङ, ऊ पनि गुरुङ। गुरुङ भनेर मात्रै नहुँदो रहेछ, एउटै नहुँदो रहेछ, मेरो परिरहन्थ्यो।”
ब्लु डायमन्डसँगको करार सम्झौता अन्त्य भएपछि शिलालाई मितिनी नेपालले बोलायो। कार्यसमितिमा बस्न आग्रह गरियो। तर, उनी समावेशी मञ्चमा आबद्ध भए। नेपालमा तेस्रोलिंगीको पहिलो नागरिकता प्राप्त गर्ने बद्री पुन कार्यकारी निर्देशक रहेको संस्था नै शिलाको रोजगारीको संस्था बनेको छ।
शिलासँग समुदायका लागि पीडा र वेदना सहँदै लडेको आफ्नै इतिहास छ। समुदायको जीवनमा परिवर्तन देख्ने र भोग्ने चाहना भने उनले मारेका छैनन्। उनी समुदायका ५० जना राजनीतिक अभियन्तामध्ये एक हुन्।
“बाँके–बर्दियामा नचिन्ने प्रायः कमै होलान्,” उनले भने, “परिना चौधरीले पनि बोलाएकै हो। फेरि म एक्लै जानु र भन्ने लाग्यो, गइनँ।” उनका अनुसार नेपालगन्जमा परिना चौधरीको छुट्टै इज्जत र मान–सम्मान छ।
शिला आफूजस्तै तेस्रोलिंगी पुरुष (ट्रान्स मेन)हरूको संस्था समेतको पहिचान बनाउन सफल समावेशी मञ्चमार्फत युरोपेली युनियनको ‘ब्रेकिङ ब्यारियर्स’ परियोजनामा सहभागी छन्। “दुई दिनको राजनीतिक प्रशिक्षणले मेरो विगतको राजनीतिलाई ताजगी बनाइदिएको छ,” उनले भने।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका ‘फर्स्ट मिस्टर गे नेपाल–२०१३’ का विजेता विश्वराज अधिकारी आगामी सङ्घीय निर्वाचनको तयारीमा छन्। स्थानीय र प्रदेशसभा निर्वाचनमा समुदायका उम्मेदवारलाई सहयोग गर्ने योजना सुनाउँदै उनी भन्छन्, “केन्द्रको उम्मेदवार बनिसकेँ। फेरि स्थानीय र प्रदेशतिर जानु र? म केन्द्रमै बस्छु, स्थानीय र प्रदेशमा समुदायलाई सहयोग गर्छु।”
उनी राजनीतिक रूपमा ‘मोनार्की लुज नेटवर्क’सँग आबद्ध छन्। देशभर शालिक ठड्याउने अभियानलाई उनले समर्थन जनाएका छन्। पृथ्वीनारायण शाहको इतिहास सम्झँदै उनी ज्ञानेन्द्रलाई राजा बनाउनुपर्ने पक्षमा भने आफू नरहेको स्पष्ट पार्छन्।
राजनीतिक यात्राको राजमार्ग बनाउँदै छन् लैङ्गिक तथा यौनिक अल्पसंख्यक। पहिले आफ्नो पहिचान खुलाउन र सार्वजनिक रूपमा बोल्नसमेत डराउने उनीहरू अहिले राजनीतिक दलमा आबद्ध हुँदै उम्मेदवार बनेर जनविश्वास जित्ने र परिवर्तनको सन्देश छर्ने अभियानमा सक्रिय बनेका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग मायाको पहिचान नेपालको टोलीले छलफल गरेपछि कांग्रेसको नीति प्रतिष्ठानको सदस्य बनेकी दृष्टिविहीन समलिङ्गी प्रतीक्षा चापागाईँ पार्टीभित्र लैंगिक तथा याैनिक अल्पसंख्यक (जिएसएम) समुदायको छुट्टै विभाग बनाउन पहल गर्ने बताउँछिन्। कांग्रेसमा योग्यता र क्षमताको कदर हुने विश्वासले उनले व्यक्त गरिन्।
सुमन चेपाङ पुरानै पार्टी माओवादीमार्फत नै राजनीतिक यात्रा अगाडि बढाउने योजनामा छन्। उनी हालकाे नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध छन्। राजनीतिमार्फत समुदायकाे अधिकारप्राप्तिका लागि संघर्षरत उनी घरपरिवार र समाजबाट सहयोग पाइरहेको बताउँछन्। उनले आउँदो स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको बताए। सबैको साथ र सहयोग प्राप्त हुनेमा उनी विश्वस्त छन्।
वर्षा ठकुरी नेपाली कांग्रेसबाट राजनीति गर्दै आएकी छन्। उनी पनि स्थानीय तहको निर्वाचनमा पार्टीबाट टिकट पाएर उम्मेदवार बन्ने विश्वासमा छिन्। शलिना चौधरीको योजना पनि स्थानीय तहको निर्वाचनबाटै राजनीतिक यात्रा अघि बढाउने हो। स्थानीय तहदेखि माथिल्लो तहसम्म राजनीतिक अभियान विस्तार गर्ने लक्ष्यका साथ आफू अगाडि बढिरहेको उनी बताउँछिन्।
माओवादी युद्धमा सहभागी भएका प्रनिल क्षेत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सदस्य बनेका छन्। उनी रास्वपाबाट टिकट लिएर ‘मिसन ८४’ अन्तर्गत उम्मेदवार बन्ने तयारीमा छन्। स्थानीय तहदेखि केन्द्रसम्म जिएसएम समुदायको आवाज प्रभावकारी रूपमा उठाउने आफ्नो उद्देश्य रहेको उनी बताउँछन्।
केही यौन पेशामा संलग्न व्यक्ति र बधाई माग्ने व्यक्तिहरूलाई देखेर सम्पूर्ण समुदायलाई एउटै डालोमा नराख्न सहभागीहरूले आग्रह गरेका छन्। कास्कीको पोखरामा सम्पन्न दुई दिने राजनीतिक प्रशिक्षणमा सहभागीहरूलाई पहिलो संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक राजमार्ग निर्माण गर्न सक्षम बन्न शुभकामना दिएका थिए। पन्तले दुवै दिन राजनीतिक प्रशिक्षण दिएका थिए।
नेपालमा शासन व्यवस्था परिवर्तनका आन्दोलनदेखि सक्रिय रहँदै आएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको लामो राजनीतिक योगदानलाई नेतृत्व, प्रतिनिधित्व र उम्मेदवारीमा रूपान्तरण गर्ने सामूहिक अभियान ‘ब्रेकिङ ब्यारियर्स’ रहेकाे आयोजक मायाको पहिचान नेपाल समावेशी मञ्च नेपाल र लिड नेपालले जानकारी दिए।
दुई दिने प्रशिक्षणले दलभित्र जिम्मेवारी, स्थानीय तहदेखि सङ्घीय तहसम्म उम्मेदवारी र जनविश्वासमार्फत राजनीतिक बन्धन तोड्दै मूलधारको नेतृत्वमा स्थापित हुने साझा सङ्कल्पमा एकताबद्ध बनाएको उनीहरूको भनाइ छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.