काठमाडौँ – पार्टीको आधिकारिकता विवादलाई लिएर रस्साकस्सी चलिरहेकै बेला नेपाली कांग्रेस नियमित १५औँ महाधिवेशनमा होमिएको छ। कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्दैछ। महाधिवेशनको प्रक्रिया असोज ३ र ४ गते हुने वडा अधिवेशनबाट सुरु हुँदैछ।
कांग्रेस सभापति गगन कुमार थापाले आगामी असोज ३ र ४ गते हुने वडा तहको अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकहरूलाई आह्वान गरेका छन्।
नेपालको संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानूनबमोजिम हुन लागेको महाधिवेशनको पूर्वसन्ध्यामा देशभित्र र देशबाहिर विभिन्न तहमा रहेर पार्टीको बृहत्तर हितका लागि निरन्तर चिन्ता र चासो व्यक्त गर्ने, संवाद तथा सहमतिका लागि सत्प्रयास गर्ने र अधिवेशन प्रक्रियामा सक्रिय रहने सबै सदस्य, समर्थक तथा शुभेच्छुकप्रति उनले आभार प्रकट गरेका छन्।
महाधिवेशनमा सबैको सहज एवं उत्साहपूर्ण सहभागिता सुनिश्चित गर्न तथा यस प्रक्रियामा कोही पनि कांग्रेसका सदस्य वञ्चित नहुन् भन्ने भावनाका साथ केन्द्रीय कार्यसमितिले पार्टीभित्र आपसी संवाद र सहमतिको वातावरण बनाउन अधिकतम प्रयास गर्दै आएको उनले बताएका छन्।
‘लोकतन्त्रमा फरक मत हुने गर्छन्, पार्टीभित्र आन्तरिक मतभेद र असमझदारी हुन सक्छन् तर ती भिन्न मतको सम्मान गर्न सक्नु, संवाद, विधि र पद्धतिबाट त्यसको समाधान खोज्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो,’ उनले भनेका छन्।
पार्टीका अग्रज नेताहरू, पार्टीका विभिन्न तहका पदाधिकारी एवं सदस्य साथीहरूबाट आएको सुझावलाई मध्यनजर गरी पार्टीले २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज सहभागिता गराउने निर्णय गरेको सभापति थापाले बताएका छन्।
त्यसैगरी, नेपाली कांग्रेसमा फरक मतलाई स्वीकार गरेर विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा रहँदै आएको सभापति थापाले उल्लेख गरेका छन्। त्यही जिम्मेवारीबोधका साथ वर्तमान कार्यसमितिले समस्त कांग्रेसजनको मनोभावनाअनुसार पटक–पटक संवादमार्फत सहमतिका सबै विकल्प स्वीकार गरेर सहभागिताको प्रयास गरेको उनको भनाइ छ।
पार्टीको आन्तरिक जीवनमा सबै सदस्य सहभागी भएर हुने महाधिवेशन नै यस्तो विधि र उत्तम विकल्प भएको उनले बताएका छन्, जसले फरक विचारलाई सम्मान, सम्बोधन र उचित विचारलाई अनुमोदन गर्ने उनको भनाइ छ।
महाधिवेशनमार्फत सबैको सामूहिक प्रयासबाट पार्टीलाई ऐक्यबद्ध र गतिशील बनाउँदै राष्ट्रका चुनौतीको सामना गर्नसक्ने बलियो कांग्रेस बनाउने उनले बताएका छन्। त्यसैले नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूलाई वडादेखि केन्द्रसम्मको महाधिवेशनको यो महाअभियानमा हार्दिकता एवं उच्च मनोबलका साथ सहभागी हुन उनले पुनः आग्रह गरेका छन्।
१४औँ महाधिवेशनबाट निर्वाचित पूर्वसभापति शेरबहादुर देउवाबाहेक अधिकांश पदाधिकारी र सदस्यहरू नियमित महाधिवेशनमा होमिएपछि संस्थापन पक्ष उत्साहित देखिएको छ। अब महाधिवेशनको मिति सार्न नसकिने कांग्रेसले स्पष्ट पारेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले कांग्रेसलाई बलियो बनाउने अभियानमा कोही नेता नछुट्ने विश्वास व्यक्त गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वसभापति देउवा नेतृत्वको अघिल्लो कार्यसमितिका अधिकांश पदाधिकारीहरू संस्थापन पक्षमा खुलेका छन्। १५औँ महाधिवेशन नजिकिएसँगै पूर्वसभापति देउवा समूह छोड्ने तत्कालीन पदाधिकारीहरूको संख्या बढेको छ।
विशेष महाधिवेशनलाई मान्यता नदिन र संस्थापनले गर्न लागेको महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालत गएका पूर्वउपसभापति पूर्ण बहादुर खड्का पछिल्लो समय संस्थापन पक्षमा खुलेका छन्।
महाधिवेशनको मिति नजिकिएसँगै पूर्वसभापति देउवा निकटका नेताहरूले पूर्वउपसभापति खड्कासँग परामर्श गरेर १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुने निर्णय लिएका छन्। यतिबेला देउवासँग पूर्वपदाधिकारी उमाकान्त चौधरी मात्रै छन्।
१४औँ महाधिवेशनमा देउवा समूहबाट थारु क्लस्टरबाट निर्वाचित उमाकान्त चौधरीबाहेक अन्य पदाधिकारी हाल पूर्वसंस्थापनमा छैनन्। केन्द्रीय सदस्यमा निर्वाचित भई देउवाले कोषाध्यक्षमा मनोनीत गरेका उमेश श्रेष्ठ हाल सभापति गगन थापा नेतृत्वको कार्यसमितिमा कोषाध्यक्ष छन्।
प्रदेश सभापतिहरूमध्ये सुदूरपश्चिममा वीरबहादुर बलायरबाहेक अन्य सबैले पूर्वसंस्थापन छोडेका छन्। जिल्ला सभापतिहरूमा पनि पूर्वसंस्थापनले गरेको राष्ट्रिय भेलामा १० जिल्लाका सभापति मात्रै सहभागी भएका थिए।
अधिकांश पदाधिकारी र सदस्यहरू महाधिवेशनमा खुलेर लागेपछि पूर्वसभापति देउवा र नेता शंशाक कोइराला आत्तिएका छन्। नेता कोइरालाले कांग्रेसको नाम लिएर आफूहरूको अस्तित्वको रटान लगाए।
कांग्रेसका पूर्वसभापति देउवाले पनि संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भन्दै त्यस्तो प्रक्रिया अघि बढे आफू मूकदर्शक भएर नबस्ने धम्की दिएका छन्।
अधिकांश नेताहरूले छोडेर लगभग एक्लै परेका देउवाले विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान तथा कानुनी सिद्धान्तविपरीत हुने दाबी गरेका छन्।
जेनजी आन्दोलनपछि पार्टी राजनीतिबाट संन्यास लिएको घोषणा गरेका देउवा सिंगापुरमा उपचार गरेर फर्किएपछि कांग्रेस विभाजन गरेर शक्ति हत्याउने दाउमा लागेको आरोप छ। तर, उनी पक्षीय नेताहरूले नै क्याम्प चेन्ज गरेका छन्।
उनीहरूले यसअघि भएको गल्ती स्वीकार गरेका छन्। समय हुँदासम्म घुर्की लगाएर बसेका देउवा पक्षीय नेताहरू यतिबेला भने आत्तिएको नेता मिन विश्वकर्माले बताएका छन्।
अब नेपाली कांग्रेसको नियमित महाधिवेशन नरोकिने लगभग निश्चित भएको छ। कांग्रेसका नेता–कार्यकर्ता महाधिवेशनमा लागेका छन्। जसले देउवा र उहाँ पक्षीय नेताहरूमा भने तनाव देखिएको छ।
पूर्वसंस्थापन पक्षमा एक–दुई नेता मात्रै सीमित हुँदै जाँदा देउवा पक्षमा रहेको सङ्गठनात्मक प्रभाव कमजोर बन्दै गएको देखिएको छ। अर्कोतर्फ, लामो समयदेखि विवाद र अन्योलमा रहेको कांग्रेसको नियमित महाधिवेशनको प्रक्रिया अघि बढेपछि पार्टीका नेता–कार्यकर्तामा उत्साह पनि बढेको छ। अबका दिन देशमा कांग्रेस महाधिवेशनको चटारो देखिने भएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.