काठमाडौँ – हरितालिका तीज गौरी–शंकरको उपासनाको पर्व हो। पश्चिमतिर गौरा पर्व पनि भनिन्छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजमा शिव–पार्वतीको पूजा तथा उपासना गर्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार व्रत बसेर शिव–पार्वतीको पूजा तथा उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ।
आजभोलि पहिलाको जस्तो नियम–निष्ठा नभएको र देखावटीपन बढेको पण्डित माधवप्रसाद भट्टराई बताउँछन्। उनका अनुसार खान हुने र नहुने कुरामा पनि विचार गर्नुपर्ने हुन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष पण्डित भट्टराईका अनुसार धेरै मानिस कोही निराहार बस्छन् भने कोही फलफूलसम्म खान्छन्। चोखो खानुपर्ने हो। व्रत बस्ने, भगवान्को सम्झना गर्ने र मन्दिरमा जाने चलन तीजमा रहेको छ। पहिले–पहिले तीजमा सङ्गिनी गाउने चलन थियो। अब त्यो पनि हराउँदै गइसकेको छ। सङ्गिनी हाम्रो नेपाली मौलिक भाका हो।
निराहार बस्नु सबै आफ्नै स्वास्थ्यका लागि राम्रो हो। तर यदि स्वास्थ्य नै ठीक छैन, अनेक रोग छन् भने आजभोलि सहर–बजारमा बस्नेलाई ग्यास्ट्रिकदेखि लिएर अनेक प्रेसर, सुगरसम्मका रोग पनि छन्। त्यस्तो छ भने स्वास्थ्य पनि हेर्नुपर्यो। धर्म गर्दा शरीरलाई पनि सुरक्षित राख्नुपर्यो।
सक्नेले निराहार बसे राम्रो, नसक्दा जल, दूध, फलफूल खाने। अब नसक्ने नै छ भने चोखो खानुपर्यो। जसलाई फलाहारका रूपमा हामी लिन सक्छौँ। जस्तो मकैको परिकार हुन सक्छ, जौको परिकार हुन सक्छ।
धर्मशास्त्रीय मान्यतामा पनि तीजको व्रतलाई निराहारमै सीमित गरिएको छैन। स्वास्थ्य ठीक नहुनेले मकैको रोटी तथा फलफूल खाएर पनि व्रत बस्न सकिने उल्लेख छ। धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले हरितालिका व्रत गर्न सक्ने मान्यता रहेको छ।
भगवान्ले त अरू ठूलो कुरा खोज्नु पनि हुन्न। प्रेम खोज्नु हुन्छ, भक्ति खोज्नु हुन्छ। त्यसका लागि भक्तिपूर्वक कसैले जल चढाउँछ, फूल चढाउँछ अथवा पातै चढाउँछ भने पनि भगवान्लाई आपत्ति छैन। तर के भने श्रद्धा हुनु पर्यो।
काठमाडौँमा हरेक तीजमा व्रत बस्ने पुरुषहरू पनि छन्। तर अधिकांश महिला व्रत बस्छन्। अब धार्मिक कुरामा महिलाहरूको अलि बढी लगाव पनि हुन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष भट्टराईका अनुसार महिला मात्रै बस्नुपर्छ भन्ने धर्ममा, शास्त्रमा कहीँ लेख्या छैन। व्रत नबस्दा धर्म नहुने अथवा पाप लाग्ने भन्ने त्यस्तो हुँदैन। आफ्नो संस्कार र रीति, त्यसपछि हाम्रो परम्परा। हाम्रो संस्कृति विश्वमा सबैभन्दा सबल, सशक्त र जीवन उपयोगी छ।
यही धार्मिक तथा सांस्कृतिक परम्परालाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (जिएसएम) समुदायका तेस्रोलिङ्गी महिलाहरूले पनि आफ्नो आस्था र विश्वासअनुसार मनाउँदै आएका छन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (जिएसएम) समुदायले हरितालिका तीजलाई आस्था, प्रेम, आत्मसम्मान र स्वतन्त्रताको पर्वको रूपमा मनाउँदै आएका छन्।
तीज केवल व्रत बस्ने र पूजा गर्ने पर्व मात्र नभई आफ्नो आस्था, अस्तित्व, आत्मसम्मान र मनको खुसीलाई सम्मान गर्ने अवसर पनि भएको लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु चञ्चलाले बताइन्।
चञ्चलाका अनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका तेस्रोलिङ्गी महिलाहरूले पनि आफ्नो आस्था र विश्वासअनुसार तीजको व्रत बस्ने, पूजा–आराधना गर्ने र पर्व मनाउने पूर्ण सम्मान र अधिकार राख्छन्।
‘हाम्रो पहिचान फरक हुन सक्छ, तर आस्था, भावना, सपना र भगवान्प्रतिको विश्वास सबैको समान हुन्छ,’ उनले भनेकी छन्।
उनले कसैको पहिचानलाई कमजोर नबनाउन अनुरोध गरेकी छन्। बरु एक–अर्काको अस्तित्वलाई स्वीकार्दै सम्मान, समानता र समावेशिताको समाज निर्माण गरौँ, उनले भनेकी छन्। आफ्नो पहिचानमा गर्व गरौँ, आफ्नो आस्थामा दृढ रहौँ र आफ्नो जीवनप्रति सकारात्मक बनौँ।
उनले जिएसएम समुदाय कमजोर नरहेको बताउँदै पहिचान नै शक्ति भएको उल्लेख गरेकी छन्। ‘हामी कमजोर होइनौँ-हाम्रो पहिचान नै हाम्रो शक्ति हो।’
उनले हरितालिका तीजको सम्पूर्ण नेपाली महिला तथा जिएसएम समुदायका तेस्रोलिङ्गी महिलाहरू र समुदायमा शुभकामना दिएकी छन्।
हरितालिका तीजको धार्मिक मान्यता महिलाको वैवाहिक अवस्थासँग मात्र जोडिएको विषय नभएको धर्मशास्त्रविद्हरूले पनि बताउँदै आएका छन्। तीजको व्रत पुरुषले पनि गर्न सक्ने र अविवाहित महिला तथा पुरुषले समेत असल वर वा वधु प्राप्तिको कामनाका लागि व्रत बस्न सक्ने शास्त्रीय मान्यता रहेको छ।
यस अर्थमा तीज आस्था, पूजा, व्रत, संस्कृति र परम्परासँग जोडिएको पर्व हो। यही आस्था र परम्परालाई आफ्नो पहिचानसहित तेस्रोलिङ्गी महिलाहरूले पनि आत्मसम्मान र स्वतन्त्रताका साथ मनाउँदै आएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.