काठमाडौँ – सर्वोच्च अदालतले नेपाली नागरिकसँग विवाह गरेका अमेरिकी नागरिकलाई नेपालमा बस्न दिने गरी अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले नेपाली नागरिक प्रजित बुढाथोकीले दिएको रिटमा नेपाल सरकार, गृह मन्त्रालय, अध्यागमन विभाग र विभागका महानिर्देशकका नाममा कारण देखाऊ र अन्तरिम आदेश जारी गरेको हो।
नेपाली नागरिकसँग कानुनी रूपमा समलिङ्गी विवाह दर्ता गरेका अमेरिकी नागरिक जोसेफ फोस्टर जोसेफलाई नेपालमा बस्न दिनुपर्ने मागसहित प्रजित बुढाथोकी सर्वोच्च अदालत पुगेका थिए। प्रजितले जोसेफलाई नेपालमा बस्ने अवधि थप गरिदिन अध्यागमन कार्यालयमा दिएको निवेदन अस्वीकृत भएको थियो। विभागले भिसा अवधि थप नगर्ने निर्णय गरेपछि त्यसविरुद्ध प्रजितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्च प्रशासनका अनुसार नेपाल सरकार, गृह मन्त्रालय, अध्यागमन विभाग र विभागका महानिर्देशकका नाममा कारण देखाऊ र अन्तरिम आदेश जारी भएको हो। शुक्रवार न्यायाधीश पौडेलको इजलासले अन्तरिम आदेश दिएर भिसा अवधि सकिन लागेका जोसेफलाई तत्कालका लागि राहत दिएको छ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ११ को कार्यालयमा कानुनी रूपमा विवाह दर्ताको प्रमाणपत्र पाएका प्रजित बुढाथोकी र अमेरिकी नागरिक जोसेफ फोस्टर जोसेफले वैवाहिक समारोहसमेत गरेका थिए।
नेपाली र अमेरिकी समलिङ्गी जोडीको नेपालमै कानुनी रूपमा दर्ता भएको पहिलो औपचारिक वैवाहिक समारोह भएको थियो। उक्त समारोहमा एसियाकै पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले अभिभावकको भूमिका निभाएका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.