काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपालबाट तेस्रोलिंगीको कथामा निर्मित, अस्कर अवार्डमा सिफारिस भएको र एसिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’लाई बधाई तथा शुभकामना दिएका छन्।
प्रधानमन्त्री वालेनले दुवै अवार्डमा सिफारिस र मनोनयन भएको ग्राफिक्स तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै फिल्म हेर्न आग्रह गरेका छन्। तेस्रोलिंगीको कथामा आधारित यस चलचित्रलाई शुभकामना दिँदै प्रधानमन्त्री वालेनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेको फिल्मको सम्पूर्ण टिमलाई बधाई तथा आगामी यात्राका लागि शुभकामना दिएका हुन्।

अविनाशविक्रम शाह निर्देशित फिल्म यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ।
फिल्ममा पुष्पा थिङ लामा (पिरती)ले अभिनय गरेकी छन्। तेस्रोलिंगी समुदायकी प्रतिनिधि पात्र पिरती र हात्तीलाई बिम्बात्मक रूपमा समान रूपमा फिल्ममा प्रस्तुत गरिएको छ। समाजले हात्तीलाई गर्ने दोहोरो व्यवहार र तेस्रोलिंगीलाई गर्ने व्यवहार पनि उस्तै देखाइएको छ।
जङ्गली हात्तीलाई जस्तै, चाहिँदा पूजिन्छ, नचाहिँदा लखेटिन्छ, फिल्मले यही सन्देश दिएको छ।
यही फिल्मको पोस्टरसहित प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अविनाश विक्रम शाह निर्देशित ‘तिनीहरू (Elephants in the Fog)’ ९९औँ एकेडेमी अवार्ड (Oscars) का लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको छ।
सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि धेरै धेरै शुभकामना। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै गरेको यो चलचित्र अहिले देशभर दोस्रो सातामा प्रदर्शनरत छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.