कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

215
SHARES

काठमाडौँ – त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भएको छ।

सडक विभागका अनुसार गत भदौ १० र १४ गते आएको बाढीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको थियो। यातायात सञ्चालनका लागि विभागले आवश्यक स्रोत, साधन, जनशक्ति तथा उपकरण परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनर्स्थापनाको काम अघि बढाइरहेको जनाएको छ।

निर्माणाधीन ट्र्याकको अवस्था र सवारी आवागमनको सम्भाव्यता परीक्षणका क्रममा आइतबार काठमाडौँबाट चितवनतर्फ ग्यास बुलेटसहित करिब २० वटा सवारीसाधन सञ्चालन गरिएको थियो। त्यस्तै, चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारीसाधनसहित केही हलुका सवारीसाधन पनि सफलतापूर्वक पार गराइएको सडक विभागले जनाएको छ।

परीक्षण सफल भए पनि सडक स्तरोन्नति तथा सुरक्षासम्बन्धी बाँकी काम जारी रहेकाले हाल कृष्णभीर खण्डबाट नियमित यातायात सञ्चालन नगरिएको विभागले स्पष्ट पारेको छ।

असोज १ गतेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेकाले त्यसअघि कृष्णभीर खण्डबाट सवारी आवागमन पूर्ण रूपमा बन्द रहने विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिएका छन्। सम्बन्धित निकायले जारी गरेका सूचना तथा वैकल्पिक मार्गसम्बन्धी निर्देशन पालना गर्न विभागले यात्रु तथा सरोकारवालालाई आग्रह गरेको छ।

समाचार शेयर गर्नुहोस्
215
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.