काठमाडौँ – सरकारले सेयर मार्केट झकझकाउने र निजी क्षेत्रको मन जित्ने प्याकेज घोषणा गर्ने तयारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर मार्केट सुधारका कार्यक्रम ल्याउने तयारी रहेको जानकारी दिएका छन्।
अबको पाँच महिना निर्णायक रहेको उनले बताए। ‘नेपाल सुधारको बाटोमा छ। सरकार निर्णय गर्न सक्षम छ। प्राइभेट सेक्टर सरकारको विकास साझेदार हो। प्रडक्सन राष्ट्रिय प्राथमिकता हो,’ उनले भने।
नेपाल आर्थिक पत्रकार समाज(सेजन) को वार्षिक साधारण सभामा अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका पाँच बुँदा अगाडि सारे।
सेयर मार्केट सुधार कार्यक्रम आउँदो सोमबार ल्याउने उनले बताए। पुँजी बजारलाई दैनिक लाभको रूपमा लिन नहुने उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रका लागि प्याकेज पनि घोषणा गर्ने तयारीमा रहेको जानकारी दिए। ‘छलफल बन्द कोठामा गर्ने हो,’ नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठको नामै लिएर अर्थमन्त्री वाग्लेले भने, ‘छलफल टुँडिखेलमा गर्ने होइन। दर्जनौँ छलफल गरेका छौँ। मन जितेर अगाडि बढ्नेछौँ।’
अर्थमन्त्री वाग्लेले नेपाललाई ग्रे लिस्टबाट निकाल्न भगीरथ प्रयास गरिरहेको बताए। मलेसियामा छलफल भइरहेको उनले सुनाए। आफूले अमेरिकाका अर्थमन्त्रीसँग समेत भेट गर्ने प्रयास गरिरहेको उनले बताए।
उनले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न नसकिए सुडान र हाइटीको अवस्थामा पुग्ने चेतावनी दिए। ‘देशभित्र जति नै सुधार गरे पनि अन्तर्राष्ट्रिय रूपमा गाह्रो पर्छ,’ उनले भने, ‘ग्रे लिस्टबाट निकाल्ने प्रयास जारी छ। सुधारमार्फत समस्या समाधानको बाटोमा छौँ।’
उनले यसअघिका सरकारको जस्तो गैरजिम्मेवार निर्णय गर्ने छुट वर्तमान सरकारलाई नभएको बताए। छेलोखेलो कर्जा प्रवाह गरेर गैरजिम्मेवारी देखाउने छुट नभएको उनले सुनाए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.