पाठ्यक्रम परिमार्जनको छलफलमा भनाभन, शिक्षामन्त्रीलाई तनाव

पाठ्यक्रम परिमार्जनको छलफलमा भनाभन, शिक्षामन्त्रीलाई तनाव

रास्वपाभित्रको विवाद सार्वजनिक कार्यक्रममा प्रकट

69
SHARES

सिरहा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको विवाद सार्वजनिक कार्यक्रममा पोखिन थालेको छ। मधेश प्रदेशमा रास्वपाका सरकार समर्थक र विरोधीबीचको विवाद सार्वजनिक कार्यक्रममै छताछुल्ल भएको हो। रास्वपाभित्रको आन्तरिक विवादले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि आयोजित अन्तरक्रिया कार्यक्रमसमेत प्रभावित भएको छ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल बोल्दाबोल्दै कार्यक्रम छोडेर बाहिरिनु परेको छ। सिरहाको औरही गाउँपालिका कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री पोखरेल बोल्दै गर्दा विवाद भएपछि उनी कार्यक्रमस्थलबाट बाहिरिएका हुन्।

बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा मन्त्री पोखरेल विभिन्न विद्यालयको अनुगमन गरेर १२ बजे मात्रै पुगेका थिए। ढिलो पुगेका मन्त्री पोखरेल बोल्ने वक्ताहरू बाँकी हुँदाहुँदै हतार गरेर बोल्न लाग्दा विवाद भएको हो।

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सरोकारवालाको पृष्ठपोषण सङ्कलन कार्यक्रममा मन्त्री पोखरेल बोल्दै गर्दा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै कार्यकर्ताबीच भनाभन भयो। जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश यादवले स्थानीय सुझाव राख्न खोजेका थिए। त्यही क्रममा उद्घोषक पनि परिवर्तन भएका थिए। यादवले आफूले बोल्न पाउनुपर्ने बताएका थिए। आयोजकले सम्झाएर मन्त्रीलाई बोल्न दिए। यादवले विवाद गरेका थिएनन्।

कार्यक्रम तीन घण्टाको थियो। सिरहाको औरही गाउँपालिकाले पाठ्यक्रम परिमार्जनको छलफलका लागि सभाहल उपलब्ध गराएको थियो। कार्यक्रममा मन्त्री पोखरेलले बोल्दै गर्दा विवाद र भनाभन भएको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले जानकारी दिए।

मन्त्री बोल्दै गर्दा मन्त्रीसँगै गएका र स्थानीय रास्वपा कार्यकर्ता आपसमा विवाद गर्दा तनाव भएको जिल्ला समन्वय समितिका सभापति दिनेश यादवले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आफ्ना कार्यकर्ताबाट कुनै विवाद नभएको दाबी गरेको छ। मन्त्री पोखरेलसँगै कार्यक्रमका लागि सिरहा पुगेका रास्वपा सांसद बब्लु गुप्ताले विपक्षी पार्टीका व्यक्तिहरूले विवाद गरेको बताए। पाठ्यक्रम परिमार्जनका लागि सुझाव सङ्कलन गर्ने क्रममा मन्त्री बोल्दै गर्दा विपक्षी दलका कार्यकर्ताले भनाभन गरेको सांसद गुप्ताले बताए।

तर, प्रत्यक्षदर्शीका अनुसार खास विवाद रास्वपा कार्यकर्ताले नै निकालेका थिए। पाठ्यक्रममा विवाद थिएन। अरू दलका नेता–कार्यकर्ताले विवाद निकालेका पनि होइनन्।

पत्रकारसमेत रहेका रास्वपा औरही गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार यादवले तस्बिर कैद गर्दा त्यही समूहबाट तस्बिर नलिन भनिएको थियो। फोटो किन नलिने भन्ने विषयमा रास्वपाकै कार्यकर्ताबीच भनाभन भएको थियो। विवाद सुरु हुनुको कारण नै तस्बिर कैद गर्ने र नगर्ने विषयमा भएको औरही गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए। उनले रास्वपा कार्यकर्ताबीच नै विवाद भएको खुलाए।

रास्वपाभित्र सरकारको समर्थन र विरोधलाई लिएर देखिएको विवाद सार्वजनिक कार्यक्रममा समेत प्रकट हुन थालेको देखाएको छ। दलभित्रको आन्तरिक मतभेद सार्वजनिक रूपमा देखिँदा शिक्षा सुधारका लागि आयोजित सुझाव सङ्कलनजस्तो कार्यक्रमसमेत विवादको विषय बन्न पुगेको हो।

तर, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मधेश प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्ने गरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताएका छन्।

मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कुनै पनि भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई रोक्न नसक्ने स्पष्ट पारे। उनका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा १०० भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा दुई जना व्यक्तिले हल्लाखल्ला गरेपछि सहभागीको सहभागिता प्रभावित हुने अवस्था आएपछि आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको उनले बताए।

“एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याएर अनावश्यक भ्रम फैलाउने प्रयास गरिएको छ,” मन्त्री पोखरेलले भने।

उनले लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि घटनाको पूर्ण सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित नहुने बताए।

मन्त्री पोखरेलले उक्त घटनापछि पनि शिक्षा सुधारका लागि आफ्नो अभियान नरोकिएको जानकारी दिए। उनका अनुसार सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय र मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गर्नुका साथै करिब आठदेखि १० वटा विद्यालयमा पुगेर सुझाव सङ्कलन गरिएको थियो।

उनले मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बढ्दो प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक कामप्रति असन्तुष्टि हुन सक्ने भए पनि त्यसका आधारमा भ्रम फैलाउनुभन्दा सरकारले गरिरहेको कामको मूल्याङ्कन जनतालाई नै गर्न दिनुपर्ने बताए।

“हामी राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ,” उनले भने। हल्लाभन्दा काम ठूलो भएकाले आफ्नो काम र नियतको मूल्याङ्कन जनताले गर्ने विश्वाससमेत उनले व्यक्त गरेको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।

मन्त्री पोखरेलले नेपालको विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी, शिक्षक र अभिभावकसँग सुझाव सङ्कलन गरिरहेको जानकारी दिए।

उनका अनुसार आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने लक्ष्यसहित ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ लगायतका अवधारणाबारे पनि सरोकारवालासँग सुझाव लिने क्रम जारी रहेको छ। मधेश प्रदेशको कार्यक्रमपछि टोली सप्तरी हुँदै मोरङतर्फ जाने कार्यक्रम रहेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा भदौ २४ गतेदेखि सातै प्रदेशका २८ जिल्लामा विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालासँग अन्तरक्रिया गरी सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिरहेको छ। यो अभियान भदौ ३० गतेसम्म सञ्चालन हुनेछ। दोस्रो चरणमा ७७ वटै जिल्लामा सरोकारवालासँग सुझाव लिइनेछ।

समाचार शेयर गर्नुहोस्
69
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.