पुस्तक

इलामबाट उठेर उत्तरी ध्रुवतिर टहलिँदै

इलामबाट उठेर उत्तरी ध्रुवतिर टहलिँदै

त्यहाँ ठेकेदारले बाटो वा महल बनाउँछ, हाम्रो देशमा बाटो वा महलले ठेकेदारलाई मालामाल बनाउँछ।

62
SHARES

आफूले जानेका, भोगेका, देखेका वा अनुभूति गरेका तथ्य वा सामग्रीलाई सबैका सामु राख्नु मानवीय वा लेखकीय धर्म हो। यस्तै धर्म निभाउने लेखक, चिन्तक व्यक्तित्व हुन् : हेम अधिकारी।

सुन्दर जिल्ला इलामको पश्चिमी क्षेत्रमा जन्मिएर त्यहीबाट शैक्षिक अध्ययन सुरु गर्दै साहित्य सिर्जनामा तल्लीन हुने स्रष्टा हेम अधिकारी (२०१२) नेपाली साहित्यमा चर्चित नाम हो। उनी इलामको रसिलो ठाउँमा जन्मिए पनि आफ्ना पिताले घरव्यवहार सहज बनाउन र छोराछोरी पढाउन तराई (झापा) मा बसोबास गर्न थालेपछि उनको पढाइ र साहित्यिक यात्रा पनि झापाबाट नै अगाडि बढेको देखिन्छ।

उनको साहित्यिक यात्रा फुटकर कविताबाट पाइला लागेको हो। हेम अधिकारीको साहित्यिक यात्राबारे प्रा.गङ्गाप्रसाद अधिकारी लेख्नुहुन्छ : २०२९ सालमा ‘कोदालो’ शीर्षकको कविता प्रकाशित भएपछि औपचारिक रूपमा थालिएको उहाँको सृजना यात्राले पाँच दशक पार गरिसकेको छ।

हालसम्म अधिकारीका प्रकाशित कृतिहरूमा वर्तमान र मान्छेहरू कविता सङ्ग्रह (२०६१), अनुभूतिका तरङ्गहरू निबन्ध सङ्ग्रह (२०६६), क्रियाको रूप विश्लेषण व्याकरण (२०७५) र उत्तरी ध्रुवतिर टहलिँदा नियात्रा सङ्ग्रह (२०८०) रहेका छन्। उनका फुटकर कविता, लेखहरू पत्रपत्रिकामा धेरै नै प्रकाशित भएका छन्। यसैगरी धेरै नै विषयका कार्यपत्रहरू पनि प्रस्तुत भएको पाइन्छ।

अधिकारीको लामो शैक्षणिक जीवन यात्राले धेरैलाई शिक्षा मिलेको छ। विद्यालयको अध्यापनदेखि लिएर क्याम्पसको प्राध्यापनसमेत गरेका अधिकारी साहित्य लेखनमा धेरै विधामा पोख्त छन्। विभिन्न सङ्घ संस्था समाल्दै दमक नगर पालिकामा रहेको दमक प्रज्ञा प्रतिष्ठानका पहिलो अध्यक्ष बन्ने सौभाग्य उनैले पाएकामा दमकवासी स्रष्टाहरूले गौरवको. अनुभूति गरेका छन्।

अधिकारी साहित्यका विविध विधामा सिद्धहस्त छन्। उनको लेखाइ विशेष गरेर प्रगतिशील विचार धारा हो। समाजमा हुने विभिन्न किसिमका विभेदको अन्त्य हुनुपर्छ भन्ने कुरा उनका सिर्जनाबाट थाहा हुन्छ। उनको भाषाशैलीमा मिठास छ। समय सान्दर्भिक र प्रसङ्ग मिलाएर टुक्का, उखान टुक्का प्रयोग गर्न सिपालु छन् जसले गर्दा उनले लेखेका सिर्जना पढ्न र सुन्न सबै लालायित हुन्छन्।

हेम अधिकारी एक जिज्ञासु स्रष्टा भएकाले त्यहाँ के होला, उहाँ के होला, त्यसमा के होला भनेर खोजिरहन्छन्। यसरी खोजेपछि पत्ता लगाएका कुरा सबैका सामु राखेर अरूलाई पनि ज्ञान बाँड्छन्। त्यसै भएर नयाँ ठाउँ क्यानडा यात्रा (२०७८–७९) मा जाने भएपछि नै त्यहाँ के होला त्यहाँ कस्तो होला भन्ने मनमा हुटहुटीले छोडेको थिएन।

अधिकारी आफ्नी जीवन सङ्गिनी बुद्धिमाया अधिकारीका साथ २०७८ चैत्र एक गते काठमाडौँबाट क्यानडाको यात्रा गरी २०७९ भाद्र महिनाको पहिलो हप्ता नेपाल फर्किएका हुन्। उनको यो उत्तरी ध्रुवतिर टहलिँदा नियात्रा सङ्ग्रह (२०८०) त्यही बीचको समयमा आफूले घुमेका, हेरेका स्थान, त्यहाँको विकास, इतिहास, सभ्यता तथा ती स्थानको विशेषता आफ्ना अनुभूतिलाई समेटेर विशाल कृतिको रूप दिएर आम पाठकलाई क्यानडा घुमाएर आनन्द दिएका छन्। यस कृतिमा जम्मा ४७ वटा लेख सङ्ग्रहित गरिएको छ।

यस कृतिबारे भूमिकामा प्रा.डा. गोविन्दराज भट्टराई लेख्नुहुन्छ : हामी स्वदेशबाट अन्यत्र पुग्ने डायास्पोरिक समाजको सर्भे गरेर फर्किनेहरूको मनमा एउटा आश्चर्य भाव र अर्को कुतूहलता भरिएको हुन्छ। कहिले घर फर्केर आफ्ना बन्धुवर्गहरू र साथीहरूलाई सुनाउन पाउँला भन्ने भावले छोपिरहेको हुन्छ। हेमको यो कृति त्यही कोटीको हो। त्यो हुटहुटीले स्रष्टाको मन उद्वेलित गराएर यो कृति सिर्जना भयो।

नेपालबाट विदेश जाने आउने त धेरै मानिसहरू छन् तर ती गएका यात्रीहरूले त्यहाँ के कस्तो रहेछ भनेर यहाँ कतिले ज्ञान दिलाए? त्यहाँ गएर बुझेका कुरा जीवनमा वा व्यवहारमा कति परिवर्तन गरे? कति लेखे र कृति सिर्जना गरेर अरू साथीभाइलाई अर्पिए? यी प्रश्नको उत्तर खोज्दा साहित्यमा त्यस्ता सिर्जना केही थोरैले मात्र दिएका छन्। यस्तो गर्ने अर्थात् विदेश गएर त्यहाँको वर्णन गरेर पहिलो कृति तयार गर्ने स्रष्टा हुन्; ताना शर्मा। विदेश यात्रा गरेर लेखिएको बेलायततिर बरालिँदा नेपाली साहित्यमा उनको पहिलो कृति हो।

विदेश जानु एउटा रमाइलो हेर्नु हो, साथै ती देखेका कुराले समाजमा केही शिक्षा त देओस् भन्ने चाहना धेरैको हुन्छ। विदेशमा के रहेछ? ती कुरा स्वदेशमा छन्, छैनन्? ती गर्ने गराउने हाम्रो देशमा सम्भावना छन्, छैनन् भनेर याद गर्दै सबैलाई समेटेर देखाउनु यस कृतिको विशेषता हो। हामी विदेश (क्यानडा) नजानेहरूले पनि त्यहाँका विकास, सभ्यता र प्रविधिलाई थाहा पाएर यहाँ पनि त्यसको खोजी गर्न सकिन्छ भन्ने पनि हो। अर्को कुरा त्यहाँ देखेपछि हाम्रा सम्भावना पनि अनेक हुन सक्छन्। ती गरौँ, गराऔँ भन्ने चिन्तन गर्दै सकारात्मक सन्देश यस कृतिमा दिएका छन्।

लेखकले पाँच महिना बिताएको ठाउँलाई सबै समेटेर एउटा राम्रो जानकारी मूलक कृति आउनु सबैका लागि खुसीको कुरा हो। उनले त्यहाँ भएको विकास नेपालमा पनि गराउन गर्न चाहन्छन्। गएकाहरूले भने आफूले त्यो ज्ञान नपाएको पनि तुलना हुन्छ। पाठक नगए पनि पढ्दा पाठक आफू त्यहाँ गएर घुमेको अनुभूति हुन्छ।
यस कृति वा विदेशको यात्रा विशेषता बारे लेखकको भनाइ यस्तो रहेको छ : यात्रा गर्दा केही नयाँ कुरा भेटिन्छन्, देखिन्छन् अनुभव गरिन्छ। तिनलाई प्रस्तुत गर्दा तथ्याङ्कहरू, विवरणहरू आउँछन्। तिनलाई प्रस्तुत नगर्दा लेखकको अनुभूतिमाथि अन्याय हुन्छ।…ती प्रस्तुत नगर्दा घुम्दा, डुल्दा, थाहा पाएका, पत्ता लागेका कुराहरू त्यसै हराउँछन् बिलाउँछन्।

एउटा सामान्य मानिस विदेश जानु समाज, साथीभाइका लागि सामान्य होला तर लेखक विद्वान् विदेश गएर आउँदा केही न केही अपेक्षा राखेकै हुन्छ। त्यो अपेक्षा हेम अधिकारीले यो कृति अर्पेर पूरा गरेका छन्।

**

नियात्राकार हेम अधिकारीको यो कृति पाँच महिनाका लागि क्यानडा यात्रा जाँदादेखि फर्केको दिनसम्मका विविध विषयलाई समेटेर एउटा गहन कृतिका रूपमा आएको छ। क्यानडा बसाइका क्रममा आफूले पहिले घुमेर हेरेको ठाउँ स्कार्बोरोह हो। यो स्थान बस्नका लागि उपयुक्त स्थान देखाएका छन्। यो स्थान एउटा विकसित सहरमा पर्ने रहेछ। यहाँ नेपालीको बस्ती ज्यादा रहेछ। यहाँ बोटबिरुवा धेरै भएको सहर देखिएकाले रुखै–रुखको सहर रहेको कुरा देखाएका छन्।

लेखकका अनुसार क्यानडा ठूलो देश भएको र हावापानीमा विविधता रहेको, छिट्टै मौसम परिवर्तन हुने रहेछ। केही दिनअघि सिक्रिक्क देखिएका रुख केही दिनमै हरियाली र फूलैफूलले भरिएको देखिँदा आश्चर्य लाग्दो रहेछ। सिक्रिक्क देखिएका विरक्त लाग्दा रुख–बुट्यान केही दिनमै बेहुली सिङ्गारिएजस्तै देख्दा लेखक छक्क परेका छन्।

क्यानडा घुम्ने क्रममा लेखक नाथन फिलिप स्क्वायरको अवलोकन गर्न पुग्छन्। त्यहाँका विशाल बजार, बजारमुनि भूमिगत रेल यातायात देखेर त्यो विकास हेर्दै नेपालको अवस्था सम्झन पुग्दा ‘हामी त घनघस्याकै उकालो नै पो काट्न नसकेर दुःख भएको’ कुरा व्यक्त गर्छन्। अनि त्यहाँका घरहरूको बनोट देख्दा लेखक अचम्मित परेका छन्। कस्तो विशिष्ट शैलीमा अभिव्यक्त गर्छन् :

“नयाँ बनेका महल सिसैसिसाका, पुरानामा सिसा देखिँदैनन्। तँछाडमछाड गरेर सुन्दरी प्रतियोगितामा अरूलाई उछिन्न जित्न सजिसजाउ प्रतियोगीझैँ उभिएका महलहरू, जमिन र जमिनमुनि बनाइएका सडक र रेलका बाटाहरू, कोभन्दा को कम भएर पनि सबै मिलेर नै अटाएका रहेछन्। मान्छे र गाडी धेरै भए पनि साउनको भेलको खहरेझैँ उर्लिएका होइनन्।”

लेखक अधिकारी क्यानडामा घुमेर अनुभव लिने क्रममा यो देख्छन् कि हर देश, हर महादेशबाट क्यानडा आएको छ अनि बेरोजगार पनि छैन। विकास भने हामीभन्दा २३ वर्ष पहिलेमात्र स्वतन्त्र भएको देशले कसरी यत्रो विकास यति छिट्टै गर्‍यो? यसको कारण उनले यस्तो पत्ता लगाएछन् :

“पन्ध्र प्रतिशतमात्र यहाँका बासिन्दा भएको यो मुलुकमा बाहिरबाट पैसा लिएर आएर छोड्ने अनगिन्ती रहेछन्। अनि यिनीहरूको विकास बाहिरबाटै आउने, विशेष गरेर एसियाली र अफ्रिकी मुलुकबाट ओइरिएकाहरूले पसिना बगाएर धुरी चढाउँदै रहेछन्। पौरखी नेपालीका मेहनती तनहरूले आफ्ना देशमा पसिना बगाउन नपाएर यिनीहरूकामा विकास गरे।”

यहाँ सबैले गहिरिएर बुझ्नुपर्ने कुरा छ, पैसा पनि हाम्रो, परिश्रम पनि हाम्रो अनि विकास भने क्यानेडेलीको हुने? कस्तो विडम्बना छ यो! यस्तो हुने कारण त यहाँको शासन व्यवस्था नै हो। शासन व्यवस्था उत्कृष्ट भए विकास स्वतः हुन्छ। गहिरिएर पढ्दा अधिकारीको निबन्धले यही देखाउँछ।

देश विकास हुन सर्वप्रथम त्यहाँको शासन प्रणाली नै राम्रो हुनुपर्छ। सम्पत्ति धेरै भएर पनि हुँदैन, त्यो परिचालन गर्ने तरिका थाहा हुनुपर्छ। धेरै स्रोत र साधनले पनि हुँदैन, त्यो चलायमान गराउने समय र तरिका जान्नुपर्छ। आज विकसित भएका देश केही वर्ष अगाडि कुन स्थितिमा थिए, त्यो इतिहास हेरे हुन्छ।
**
हो, स्रष्टाको सिर्जनाले यस्तै कुरा देखाउनु पर्छ। अनि हुरुरुरु क्यानाडा वा विदेश जाने कारण पनि त यिनै हुन्। त्यस देशलाई धेरै मान्छे चाहिने हुँदा त्यहाँ काम पाउने, देशको पैसा देशभित्रै रहने अनेक उपाय क्यानडाले अपनाएको रहेछ। यसैलाई अधिकारी यसरी लेख्छन् :

“पहिलो, यहाँ रोजगारका अवसर धेरै भएकाले बेरोजगार बस्नु नपर्ने, दोस्रो, रोजगार खोजुन्जेलका लागि सरकारले जीवन चल्ने गरी पैसा दिने, तेस्रो, स्थायी आप्रवासीले स्वास्थ्य र नानीहरूको शिक्षा निःशुल्क पाउने।”

हो, यस्तो त्यहाँको शासन प्रणालीमा काम गर्ने सहज व्यवस्था भएकाले जो पनि क्यानडा जान तम्तयार भएर बसेका छन्। त्यहाँ कमाएको पैसा अनेक कर लगाएर सरकार तान्ने गर्छ। हामी बुझ्दैनौँ। हामी आफ्नो देशमा काम गर्दैनौँ। त्यहाँ प्रणालीले देश चलेको छ, हाम्रो प्रणाली भताभुङ्ग छ। त्यहाँ ठेकेदारले बाटो वा महल बनाउँछ, हाम्रो देशमा बाटो वा महलले ठेकेदारलाई मालामाल बनाउँछ। त्यहाँ र यहाँको प्रणाली नै फरक भयो, गर्ने त कामदार उस्तै हुन्, काम उसरी नै हुने हो। त्यहाँको अवस्था, शासन प्रणाली देख्दा लेखक अधिकारी गहिरिएर यसरी हेर्छन् :

“सडकपेटी र बनेको साल सडकपेटीमै लेखिएका भेटिन्छन्। कतिवर्षसम्म ठेकेदारको जिम्मा हुने रहेछ। घरहरू कुन सालमा बनेको हो भनेर विवरण राखिँदो रहेछ। यत्रो मेहनत गरेर यिनीहरू आज विकसित देशका उच्च मानव बने र अरू देशका मान्छे ल्याएर काममा जोतेर आफ्नो विकासको गति अझ तीव्र गति पार्न सफल भइरहेका पाइन्छन्। हामी भने शिक्षित, कर्मठ, विकासमा उच्च योगदान दिन सक्ने युवा विदेश पठाएकामा गर्व गरेर विप्रेषण निरीह देश भएर बाँचिरहेका छौँ।”

साँच्चै नै शासन प्रणाली चुस्त–दुरुस्त बनाएको छ भने सबै काममा व्यवस्थित भएर काम गर्न सहज हुन्छ। त्यसैले प्रणाली नै हो सबै कुरा मिलाउने र गर्ने पनि। जहाँकाले पनि काम उस्तै हो, उसैगरी हो गर्ने भनेको। हामी कहाँ प्रणालीलाई मिलाएर व्यवस्थित गर्न आवश्यक छ भनेर लेखकले यस किताबका धेरै ठाउँमा इङ्गित गरेका छन्।

त्यहाँको प्रकृतिबारे उनले अनुभव के गरेका छन् भने त्यहाँ शिशिर लामो हुने रहेछ। यहाँको शिशिरको तुलनामा वसन्त अति छोटो हुने रहेछ। शिशिरको अन्त्य हुँदै गर्दा वसन्तको आगमनमा बिरुवा छिट्टै मुना पलाएर फुलिहाल्ने गर्दा रहेछन्। त्यो डेन्डालिन र चेरीको अनुपम सौन्दर्य देखेर लेखक छक्क पर्छन्। उनी त्यो सौन्दर्यको आस्वादनपछि मिठो शैलीमा त्यहाँको प्रकृतिको वर्णन यसरी गर्छन् :

“हिउँदभरि हिउँले सातो खाएर जमिनमा बास बसेका फूलका जराहरू वसन्तको आगमनको जानकारी दिन फूल फुटाएर भुरुरुरु निस्किएका कुखुराका चल्लाहरूजस्तै जमिनबाट फर्‍याकफुरुक गरेर फूलका रूपमा निस्किँदो रहेछ। त्यहाँ त साह्रै हतार गर्दो रहेछ।”

यस्तो दृश्यले सबैलाई लोभ्याउने भएकाले बालबालिका निक्कै रमाएको पाए भने नवजोडा पनि यहाँ आएर माया–प्रीति गाँस्न हुलका हुल आउने रहेछन्। यतिमात्र होइन कि यहाँ त बुढाबुढीसमेत झुम्मिने गरेका कुरा लेख्न अधिकारीले यस शीर्षकमा दर्शाएका छन्।

क्यानडामा कृषिका कार्य पनि निकै ठूला र व्यवस्थित किसिमले बनाइएका हुँदा रहेछन्। त्यहाँ कृषि कर्म गर्ने धनी हुने रहेछन्। ती कृषि फार्म देखेपछि लेखक अधिकारी छक्क पर्दै प्रश्न तेर्स्याउन पुग्छन्। के हामी कृषिप्रधान देशमा बासिन्दा भन्न उपयुक्त छ त? आफ्नो देशको स्थिति देखेर आफैँलाई प्रश्न गर्छन्।

यसबारे अधिकारी लेख्छन् :

“सामान्य नागरिक त आक्कलझुक्कल तर ठुला नेता, योजना बनाउने, देश चलाउने, हर्ताकर्ताले त यस्ता ठाउँ कति हेरे हुनन्! तर अरूका प्रगति हेरेर देश फिरेपछि सबै बिर्सिए। आफ्नो देशमा गर्नुपर्छ भन्ने चेतना खुलेन। हामी कृषि प्रधान देश भनेर घोक्रो सुकुन्जेल कराउँछौँ अनि खाने अन्न, सागपात, फलफूल भने अरू देशबाट किनेर ल्याउँछौँ। यहाँको कृषिकर्म हेर्ने हो भने हामीलाई कृषिप्रधान देशका मान्छे भन्न लाजैले भुतुक्कै हुइँन्छ।”

हामीले हाम्रै देश नेपालमा गर्न चाहँदा जे व्यवसाय गर्न पनि स्थान छ। हामीसँग माछा पाल्न, खेतीपातीका लागि प्रशस्त पानी छ, पानी लगाउन सुविधा छ। पशुपालन गर्दा घाँस छ। जे व्यवसाय गर्न पनि सहज छ गरेमा, तर इच्छा नगरे थालको भात खान पनि गाह्रो हुन्छ। भनिन्छ नि, ‘जहाँ इच्छा, त्यहाँ उपाय।’ गर्ने चाहना भए नेपालमा हरेकको सम्भावना छँदै छ।

क्यानडामा लेखकले त्यहाँको जनजीवन बुझ्न चाहँदा यो स्वतन्त्र मुलुक भएकाले पढ्ने, पेसा–व्यवसाय गर्ने, धन कमाउने सबै स्वतन्त्रताको अनुभूति मिलेछ। स्वतन्त्रता भन्दैमा यहाँको जस्तो मनपरी गर्न त कहाँ पाइन्छ र! नियममा कसैलाई कुनै तलमाथि गर्ने छुट नभएको, शिक्षामा निजी विद्यालय साह्रै थोरै, निःशुल्क स्वास्थ्य सेवा, अस्पतालमा बिरामी कुरुवा बस्नु नपर्ने, कर तिरेको आधारमा निवृत्तिभरण पाइने, समाजवादको नामनिसान नभएको, जीवन बाँच्ने आधार प्रशस्त भएको, कुनै पनि काम नमिलेमा सरकारले खान दिने, धार्मिक स्वतन्त्रता भएको, यहाँको जस्तो जतिवेला पनि भेटघाट नहुने, गफ गरेर दिन कटाउने समय नभएको, सामाजिक कार्य संस्थामार्फत हुने व्यवस्था भएको कुरालाई लेखकले उल्लेख गरेका छन्।

यहाँ हामीले बुझ्नैपर्छ, प्राकृतिक वस्तुको धेरैभन्दा धेरै प्रयोगले विश्वका अरू देश धनी भए भने त्योभन्दा ज्यादा प्राकृतिक वस्तु त हाम्रै छन्। हामीले प्रयोग गर्न सकेनौँ। हामीसित कति सम्पदा छ। पूर्वदेखि पश्चिमसम्म नै हिमाली शृङ्खला, पहाडी लहर, नदीका सङ्गीत, अग्ला–अग्ला झर्ना, ठाउँ–ठाउँमा तरङ्गित ताल, हरिया गलैँचा ओछ्याइएका लमतन्न परेका पाटन (चउर) के छैनन् र नेपालमा हामीसँग? यो सोच्ने कुरा हो। हाम्रा देशका यी सम्पदालाई बेलाबेला लेखकले सङ्केत गरिरहेका हुन्छन्।

अब गर्न चाहनेले निबन्धकारले सङ्केत गरेका सम्भावनातर्फ ध्यान दिन जरुरी छ। यो निबन्धमा त्यहाँका मानिसले गरेका पेसा, व्यवसाय, उन्नति, व्यवस्था, प्रणाली, प्राकृतिक सुन्दरता, सरकारी सेवा आदिको प्रमुख चर्चा छ। त्यसमा पनि कृषि व्यवसायबाट उत्पादित वस्तुको निर्यात निकै आम्दानीको स्रोत देखाइएको छ। क्यानडा ज्यादै ठूलो क्षेत्रफल ओगटेको देश भएकाले कृषि व्यवसाय निकै फस्टाएको देखेका छन्। उनी लेख्छन् :

“किसानको घरमा मेसिन देख्दा छक्क परिन्छ। ट्रक, ट्याक्टर, आवश्यकता अनुसार डोजर, बाली छर्ने, गोड्ने, उठाउने अनेक खालका जात–जातका मेसिन देखिन्छन्। ससाना हजाइजहाज पनि। त्यस्तो खेतीमा मल, बिउ, औषधी छर्नका लागि हवाईजहाजको प्रयोग गरिँदो रहेछ।”
लेखकको चित्त दुखाइ केमा पनि छ भने हाम्रो शिक्षा नीति, सरकारको जिम्मेवारी नभएर लथालिङ्ग भएको अवस्था छ। यसैकारण युवा पलायन हुन बाध्य देखिन्छन्। क्यानडाको व्यवस्था र नीतिले गर्दा नै त्यहाँ विकास भएको छ। यहाँको शिक्षा नीति र व्यवस्था फितलो भएको कारण युवा विदेशिँदा देश पछाडि परेका कुरा यसरी व्यक्त गर्छन् :

“राजनीतिक अस्थिरता र अन्योलले समाज सेवा होइन, समाजको रोगको रूप लियो। युवा जनशक्तिको उपयोग भएन। देशले अवसर दिन सकेन। देशलाई मस्तिष्क नचाहिएको जस्तो भयो। फलस्वरूप युवा पलायन भए। …देशले कत्रो लगानी गरेर उत्पादन गरेको शिक्षित युवा विदेश पलायन हुँदा देशलाई कति घाटा हुन्छ भन्ने कुराको हाम्रा सरकारले कहिल्यै हिसाब–किताब गरेनन्।”

उनी चिन्तन गर्दै जान्छन्, विश्वको अधिक जनसङ्ख्या भएको देश कहाँ पुगेको छैन र? सबैतिर चीनका उत्पादन छन्। अमेरिका पछि क्यानडा रहेछ, चीन व्यापारिक देश। त्यहाँ त्यस्तो देखेपछि हाम्रो मन किन नबिरक्तियोस्। हामी किन पछाडि पर्दै छौँ? यो सबै हुने कारण देशमा सुशासन नहुनु नै हो।

नियात्राकार हेम अधिकारी अध्ययनशील स्रष्टा भएकाले उनी कि लेख्नमा कि पढ्नमा व्यस्त हुने व्यक्तित्व हुन्। उनी पुस्तकविना बस्नै नसक्ने, अध्ययनलाई कतिबेलै पनि नछोड्ने रहेछन्। यस कृतिका धेरै अधिकांश लेखहरू उनले आफू दिनभरि घुमेर बेलुका लेखेको अनुमान गर्न सकिन्छ। किनकि ठेगाना र मिति त्यहाँकै दिएको छ।

क्यानडाको बसाइ क्रममा लेखक पुस्तकालयको खोजी गर्न पुग्छन् र भेट्टाउँछन्, योङ स्ट्रिटमा रहेको एक पुस्तकालय। यो दुई अर्ब बीस करोडको लगानीमा बनेको, जमिनमुनि एक तला र जमिनमाथि तीन तला भएको रहेछ। धेरै कम्प्युटर, इ–लाइब्रेरी, प्रशस्त पुस्तक, लेख्नलाई पनि सामग्री पाइने, छाप्नु परे प्रिन्टर, एकल र सामूहिक अध्ययन कोठा, हरेक व्यवस्था भएको पाएर निक्कै खुसी लागेछ। आफ्नो दमक नगरमा भएको त्यो अवस्था देख्दा अचम्मै दुःख मान्न पुग्छन्।

**

नियात्राकार अधिकारी क्यानडा घुम्ने क्रममा त्यहाँका ठूला–ठूला भवनमा घुमेका छन्। यस्तै अवसरमा एक दिन त्यहाँको संसद् भवन पनि पुगेछन्। त्यहाँको स्थिति देख्दा छक्क पर्दै यसरी लेख्छन् :

“यस देशको राजधानी ओटावातिरका पाइलाहरूले केही कुरा अवश्य पाए। हाम्रो सिंहदरबार परिसर पस्न कडा बन्देजले पाखा लाग्नु परेको बानी लागेको मान्छे भएकाले म राजधानी ओटावामा भएको संसद् भवन र मन्त्रालय परिसर निर्बाध रूपमा घुम्न पाउँदा अचम्मै अचम्मित भएँ। समाजलाई अनुशासित बनाउँदा जे पनि हुँदो रहेछ। मेरो त तनमन नै पो हराएजस्तो भयो।”

नियात्राकार हेम अधिकारीले क्यानडा बसाइको क्रममा धेरैभन्दा धेरै स्थान पुगेर त्यहाँको वस्तुस्थिति अध्ययन गरे। यस्तै ज्ञान आर्जन गर्ने क्रममा उनी आफू शैक्षिक क्षेत्रको व्यक्तित्व भएकाले त्यहाँ रहेका विश्वविद्यालय पनि गएर केही ज्ञान थप्न इच्छा लागेर सूक्ष्म अवलोकन गर्न पुग्छन्, टोरन्टो विश्वविद्यालय (युनिभर्सिटी अफ टोरन्टो)। यसलाई छोटो रूपमा यु.एफ्.टी. भनिँदो रहेछ।

लेखकका भनाइअनुसार सन् २०२०–२१ मा नब्बे हजार विद्यार्थी अध्ययन गर्ने थिए रे। त्यहाँको व्यवस्था हेर्दा र सुन्दा लेखक छक्कै पर्छन्। त्यहाँ त्यति विद्यार्थी अनि हजारौँ कर्मचारी खटिएका, तर अहिलेसम्म त्यहाँ कुनै बाधा–अवरोध नआएको देख्दा नेपालको त्रिविविको सम्झना गर्दै कति शिष्ट शैलीमा यो व्यङ्ग्य भाव गर्छन् :

“हाम्रामा कति पूजाआजा भए हुनन्, कति होम भए हुनन्। कति तिलक लगाइए कि लगाइएनन् कुन्नि। भौतिक सम्पत्ति ध्वस्त पारेर विकास खोज्ने हामी! त्यस्तो संस्कारै नसुनेका, यहाँ यस्तो छ, हाम्रामा त्यस्तो।”

नियात्राकारको लेखाइको अभिव्यक्ति थाहा पाएर पाठकले आफैँलाई अब प्रश्न गर्न मन लाग्छ, हामी कहाँ छौँ? के चाहन्छौँ? के हामीले पाएको शिक्षा यही हो त? सबै नेपालीले एकचित्त भएर सोच्ने बेला आएको छ। हामी पनि मानव हौँ र उनीहरू पनि मानवै। हामी पनि विकास नै चाहन्छौँ, उनीहरू पनि। अनि हाम्रा नेता त्यहाँ घुमेर अनुभव बटुलेर यहाँ किन त्यहाँको जस्तो योजना बनाउन चाहँदैनन्? किन देशको शासन प्रणालीलाई सुधार्दैनन्? अब गहिरो गरेर सबैले सोच्ने बेला आएको छ।

निबन्धकार हेम अधिकारीको भाषाशैली साह्रै सरल, सहज, सुललित छ। सरल भाषा प्रयोग गरेर निबन्धलाई सम्प्रेष्य बनाएका छन्। उनको शैलीमा मिठास छ। आलङ्कारिक शब्दावलीको प्रयोग गरिएकाले साहित्यध्येतालाई पनि पढूँ–पढूँ लाग्ने सामग्री बनेको छ। कतै–कतै उखान–टुक्का र टुक्काको प्रयोगले निक्कै नै मिठास थपिएको छ। कताकति कविता र गीतका अंश पनि सन्दर्भ मिलाएर प्रस्तुत गरिएको छ। विदेशको भ्रमणमा भएकाले प्रशस्तै आगन्तुक शब्दहरू प्रयोग हुनु स्वाभाविक नै हो।

हामीले माथि प्रसङ्गमा धेरै नै अनुच्छेदहरूको अध्ययन पनि गर्दै आएका छौँ। नेपाली साहित्यका विशिष्ट साधकले मात्र होइन, सर्वसाधारण पाठकले पनि बुझ्न सकिने गरेर लेख्न सक्नु लेखक अधिकारीको लेखकीय वैशिष्ट्य कला हो भनेर मैले अनुभूत गरेको छु।

अधिकारीले यो ‘उत्तरी ध्रुवतिर टहलिँदा’ नियात्रा सङ्ग्रह जो कृति तयार पारे, यसले उनलाई पछिसम्म पनि आफूले घुमेर हेरेका स्थानको ज्ञान सम्झना दिलाउँछ। उनले आफूले मात्र ज्ञान आर्जन गरेनन्, यस कृतिमार्फत सबै पाठकलाई ज्ञान दिलाए। सपनामा क्यानडा डुल्नेहरूलाई भरिलो ज्ञान दिलाएर नेपाली साहित्यलाई ठूलो गुन लगाएका छन्। मैले यो समीक्षामा सबै भन्न सक्दिनँ। यो किताब भने पढ्नैपर्ने एक उत्तम कृति हो।

समाचार शेयर गर्नुहोस्
62
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.