काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट ३ जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदाय क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्।
काठमाडौँबाट प्रतीक्षा चापागाईँ, नवलपरासीबाट सुरेन्द्र पाण्डे र खोटाङबाट बाबु दुमि राई क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन्। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू कांग्रेसको वडा अधिवेशनदेखि नै सक्रिय रूपमा राजनीतिक गतिविधिमा लागेका छन्।
कांग्रेसमा झन्डै २ सय जनाले ‘अन्य’ पहिचानबाट क्रियाशील सदस्यता लिएका छन्। देशका विभिन्न ठाउँमा रहेका जिएसएम समुदायका व्यक्तिहरूले कांग्रेसको केन्द्रीय नेतृत्वमा दाबी गर्ने पहिलो खुट्किलोका रूपमा वडा अधिवेशनबाट निर्वाचित भएका छन्।
जाजरकोटकी सबिता आचार्य (राजा सनम) नेपाली कांग्रेसको वडा समिति सदस्यमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधिका रूपमा मनोनीत भएका छन्।
राजनीतिक दलका संरचनामा जिएसएम समुदायको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व बढ्नु समावेशी लोकतन्त्रका लागि महत्त्वपूर्ण कदम भएको पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले बताए।
युरोपियन युनियनको आर्थिक सहयोग र एक्सन एड नेपालसँगको समन्वयमा ब्रेकिङ ब्यारियर्स परियोजना सञ्चालनमा रहेको मायाको पहिचान नेपालले जनाएको छ। मायाको पहिचान नेपालसहित परियोजनामा लिड नेपाल, समावेशी मञ्चका ५० जना जिएसएम समुदाय राजनीतिक अभियानमा होमिएका छन्।
राजनीतिक दलको संरचनामा जिएसएम समुदायको सहभागिता बढाउने उद्देश्यले उनीहरूले सदस्यता लिने, पार्टीका स्थानीय संरचनामा सहभागी हुने तथा विभिन्न राजनीतिक अभियानमा सक्रिय हुने क्रम बढेको छ। नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी तथा मधेशवादी दलहरूमा पनि जिएसएम समुदायले सदस्यता लिएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट ३ जना निर्वाचित भइसकेका छन्। अब महाधिवेशन प्रतिनिधि चुनिने तयारीमा रहेको उनीहरूले बताएका छन्।
कांग्रेसले ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, ओखलढुंगा, झापा, सुनसरी, बारा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, म्याग्दी, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, सिन्धुपाल्चोक, पर्सा, पर्वत, वागलुङ, कपिलवस्तु, डोटी, दाङ र कैलालीसहित ६३ जिल्लाहरूको वडा अधिवेशन सम्पन्न भइसकेको जनाएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार धनुषा क्षेत्र नं. ४, मोरङ क्षेत्र नं. ६, अछाम (३ वडा बाँकी), नवलपरासी क्षेत्र नं. २, डडेलधुरा (४ वडा बाँकी), रुपन्देही (३ वडा बाँकी), महोत्तरी (८ वडा बाँकी), सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, रौतहट क्षेत्र नं. १ र सर्लाही क्षेत्र नं. २ का वडाहरूको अधिवेशन अन्तिम चरणमा रहेका छन्।
धादिङ, नुवाकोट तथा अधिवेशन सम्पन्न हुन बाँकी रहेका वडाहरूको अधिवेशन असोज ६ गते मङ्गलवार जारी रहने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
जिएसएम समुदायका व्यक्तिहरूले स्थानीय तहदेखि राजनीतिक दलका विभिन्न संरचनामा सहभागिता जनाउँदै आएका छन्। वडा समिति सदस्य, क्रियाशील सदस्य तथा क्षेत्रीय प्रतिनिधिका रूपमा उनीहरूको सहभागिताले राजनीतिक दलको संरचनामा जिएसएम समुदायको उपस्थिति विस्तार हुँदै गएको देखाएको छ। वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिहरू अब पार्टीको महाधिवेशन प्रक्रियामा थप प्रतिनिधित्वका लागि अघि बढ्ने तयारीमा छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.