काठमाडौँ – बुधवार बिहान ७ बजेर ४७ मिनेटको साइतमा ‘यसिं थनेगु’ (इन्द्रध्वजोत्थान) सम्पन्न भएको छ। हनुमानढोका कागेश्वरी मन्दिर नजिक कालभैरव अगाडि यसिं उठाइएको हो। उठाइएको यसिंमा ८ वटा काठका टुक्रा राख्ने चलन छ। यस कार्यमा न्हय्स नाय, चस्वाद्वँ टोलका मानन्धर समुदाय अनिवार्य उपस्थित हुने चलन छ। अष्टमातृकाको प्रतीकका रूपमा काठका टुक्रा राख्ने गरिएको हो। यसलाई ‘लाकासिँ’ भनिन्छ।
यःसिं उठाउँदा गुर्जुको पल्टनले तोप पड्काएको थियो। यस अवसरमा तलेजु भवानीको प्रतीक स्वरूप सेतो घोडा ल्याउने चलन छ। यस्तै दिप्याखं (देवी नाच) प्रस्तुत गरिएको थियो। यो नाच इन्द्रजात्रामा निकालिने पहिलो नाच हो।
यःसिं उठाइसकेपछि यसको माथि इन्द्र अङ्कित चिन्हसहितको ध्वजा फहराइयो। यसलाई ‘हलिंपता’ भनिन्छ। ‘हलिंपता’ फहराइसकेपछि मानन्धरहरूले सबैभन्दा पहिले पूजा गर्ने चलन छ। यःसिंको माथि गजुर जस्तै देखिने भोगटे राखिएको हुन्छ। फेदमा इन्द्रको सुवर्ण मूर्ति राखिन्छ। यसको श्रद्धालुहरूले पूजा आराधना गर्ने गर्दछन्।
‘यसिं थनेगु’ (इन्द्रध्वजोत्थान) अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, वडाध्यक्षसहित जनप्रतिनिधिहरू, स्थानीयवासी र श्रद्धालुहरूको बाक्लो उपस्थिति थियो।
यस वर्ष भाद्र २८ गते ञलाथ्व द्वितीयाका दिन मानन्धर समुदायका गुठियारहरू यःसिं लिन बन प्रस्थान गरेका थिए। त्यसै दिन साँझ ८ बजेर ४७ मिनेटको साइतमा वृक्षकर्तन भएको थियो यसिंलाई २९ गते भोटाहिटी ल्याइयो। आश्विन ३ गते (ञलाथ्व कायाअष्टमी) का दिन बिहान ८ बजेर ५ मिनेटको साइतमा यःसिं नगर प्रवेश गराइयो। यसैदिनदेखि किलाघःमा दिःप्याखं (देवी नाच) सुरु भयो।
एकादशीका दिन चसाद्वं टोलका मानन्धरहरूले यःसिंमा डोरी बाँधेका थिए। यसलाई ‘वलः घायेगु’ भनिन्छ। ‘वलः घायेगु’ यःसिंमा डोरी बाँध्ने एउटा त्यस्तो जटिल विधि हो, जसलाई तानेर यःसिं उठाइसके पछि यःसिंको सिरानीमा बाँधिएको गाँठो तलै बसेर फुकाल्न सकिन्छ। यःसिं उठाइसके पछि त्यो देवता सरह हुने भएकोले गाँठो फुकाल्न माथि चढ्न मिल्दैन। त्यसैले तलैबाट गाँठो फुकाल्नु पर्ने हुन्छ।
आज नेवार समुदायका मानिसहरूले दिवङ्गतहरूको सम्झनामा काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाउने गर्छन्। यसै दिन गणेश र भैरवलाई कुमारी घरमा ल्याउने र त्यसपछि तलेजु भवानी मन्दिरको मूलद्वारमा लगेर लसकुस गरी भित्र लगेर निम्तो दिने चलन छ। सरकारतर्फबाट श्री गणेश र श्री भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिइएको छ।

जात्रामा यःसिं ठड्याउने परम्परा कसले चलाए भन्ने यकिन नभए पनि रणबहादुर शाहका पालाबाट हालको स्थानमा ठड्याउन थालिएको विश्वास गरिन्छ। त्यसअघि मरुटोलस्थित अड्को नारायण मन्दिर अघि यसरी नै यःसिं ठड्याइन्थ्यो भन्ने भनाइ छ। यःसिंलाई उल्लास, विजय र उत्सवका रूपमा हेर्ने गरिन्छ।
इन्द्रजात्राको मुख्य आकर्षण मानिने श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा तीन दिनसम्म सञ्चालन हुनेछ। पहिलो दिनको रथयात्रामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसहित विशिष्ट व्यक्तिको सहभागिता हुनेछ।
इन्द्रजात्राको मुख्य रथयात्रा आश्विन ९ गते शुक्रवारदेखि सुरु हुनेछ। पहिलो दिन श्रीकुमारी, श्रीगणेश र श्रीभैरवलाई रथारोहण गराएर पूजा सम्पन्न गरेपछि तल्लो टोलतर्फ रथयात्रा गराइनेछ।
पहिलो दिनको रथयात्रा सम्पन्न भएपछि दाँगीको नगर परिक्रमा गर्ने परम्परा रहेको छ। दाँगीलाई इन्द्र देवताकी आमाका रूपमा मानिने गरिएको छ। वर्षभरिमा दिवङ्गत भएका व्यक्तिको चिरशान्तिको कामना गर्दै दाँगीको नगर परिक्रमा गराउने परम्परा पनि इन्द्रजात्रासँग जोडिएको छ।
आश्विन १० गते शनिवार माथिल्लो टोलमा रथ यात्रा हुनेछ।

त्यस्तै, आश्विन १३ गते मंगलबार नानीचायाको दिन माथिल्लो टोलको किलाघः हुँदै नगर परिक्रमा गराउने चलन छ। इन्द्रजात्राको अन्तिम दिन हुने नानीचाया रथयात्रामा स्थानीय महिला दिदीबहिनीहरूको सहभागिताले निरन्तरता पाउँदै आएको छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यका अनुसार विगत १४ वर्षदेखि स्थानीय महिलाको नेतृत्वमा श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ तान्ने कार्य हुँदै आएको छ।
यस दिन राष्ट्रपति स्वयं उपस्थित भई कुमारीको बाहुलीबाट टीका ग्रहण गर्ने परम्परा रहेको छ।
रथयात्राका मुख्य मार्ग
तल्लो टोलको रथयात्रा वसन्तपुर, मरु, चिकंमुगल, जैसिदेवल, लगन, ब्रह्मटोल, ज्याबहाल, कोहिटी, भीमसेनस्थान, मखन हुँदै पुनः वसन्तपुर पुगेर सम्पन्न हुनेछ।
माथिल्लो टोलको रथयात्रा वसन्तपुर, प्याफल, यटखा, नरदेवी, टेंगल, न्यौखा, न्हेकन्टोल, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुर आइपुग्नेछ।
नानीचाया रथयात्राका लागि भने वसन्तपुर, प्याफल, यटखा, नरदेवी, किलागः, भेडासी, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुर पुग्नेछ।
रथयात्रा हुने मार्गमा स्थानीय क्लब तथा संस्थाले देवीदेवताका रथलाई स्वागत गर्दै विशेष पूजा गर्ने व्यवस्था मिलाउनेछ। तीनै दिन रथयात्राका क्रममा लाखे आजु, पुलुकिसी र हलचोक आकाश भैरव पनि सहभागी हुने परम्परा रहेको समितिले जनाएको छ।
देवी नाच, महाकाली नाच, दश अवतार प्रदर्शन जात्राका महत्त्वपूर्ण क्रियाकलाप हुन्।
जात्रालाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ। जात्रा व्यवस्थापन, सुरक्षा, स्वयंसेवा तथा अन्य व्यवस्थापनमा स्थानीय समुदाय र क्लब–संस्थाको समेत भूमिका रहनेछ।
इन्द्रजात्राका क्रममा हनुमानढोकाको श्री श्वेत भैरवको मुखबाट श्रीको प्रसादस्वरूप जाँड खुवाउने परम्परा पनि रहिआएको छ। त्यस्तै, जात्रा अवधिभर विभिन्न देवीदेवताका मूर्ति प्रदर्शन, नाच तथा पूजा सञ्चालन हुनेछन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.