नेपाली साहित्यका एक तपश्वी प्रा.डा.गोविन्दराज भट्टराई पाँचथरको एउटा गाउँमा जन्मिएर विभिन्न ठाउँको यायावरीय जीवन बिताउँदै त्रिभुवन विश्वविद्यालयमा आफ्नो विद्वत् इतिहास बनाउनु भएका समकालीन सर्जकहरूमा एक शिखर प्रतिभा हुनुहुन्छ। उहाँले झापाको दमक र मोरङको उर्लाबारीमा विद्यालय शिक्षामा झन्डै एक दशक सेवा गर्नुभएको पाइन्छ। त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट सुरु भएको प्राध्यापन यात्रा लगातार ३ दशक अनवरत रह्यो।
भारतको हैदराबाद विश्वविद्यालयबाट भाषाविज्ञान अन्तर्गत “अनुवाद अध्ययन” मा विद्यावारिधि गरेर आफ्नो सोध–अध्ययन अनुरूप कार्यरुपमा तन्मयसहित लागिपर्ने प्राध्यापक भट्टराई नेपाली साहित्यको रङ्गमञ्चमा विश्वलाई नियाल्ने प्रतिनिधि पात्र समेत हुनुहुन्छ। समकालीन नेपाली साहित्यमा नेपालसहित भारत, भुटान र पश्चिमा जगतमा समेत उहाँ आफ्नो क्षमता–चिनारीले पहिचान बनाउन सफल हुनुभएको छ। उहाँ ‘नेपाली भाषा–साहित्यलाई विश्व समुदायमा नचिनाएसम्म हामी यसमा उक्सिन सक्दैनौँ’ भन्ने धारणा राख्नुहुन्छ। उहाँको पहिचानमा सुकरातको तपोवनमा शीर्षक समालोचनामा डा.वीणा हाङ्खम भन्नुहुन्छ–“मसिनो बोली, निरभिमानी, इमानदार, उदार हृदयी, सरल, अनुशासन प्रिय, छक्कापञ्जादेखि कोसौँ टाढा रहने यी सर्जक शालीन व्यक्तित्वका धनी हुन्।”
*
प्राडा गोविन्दराज भट्टराई एक साहित्य सर्जक मात्र होइन, त्यसभन्दा माथि उठेर नेपाली साहित्यका साधक तपश्वी बन्नुभएको छ। यसो भन्नु कुनै पनि अर्थमा अत्युक्ति हुँदैन। करिब ९० पुस्तक सिर्जना गर्नु एक महान् तपसाधना नै हो। त्यसका अतिरिक्त उहाँ एक अंग्रेजीको प्राध्यापक र अंग्रेजी भाषाविज्ञानमै विद्यावारिधि गरेका विद्वान् व्यक्तित्व भएकाले त्यस भाषामा सिर्जना नहुने त कुरै भएन। उहाँ यो लेखकसँगै भन्नुहुन्थ्यो–“भाइ, मैले एउटा अंग्रेजीको प्राध्यापक र नेपालीको लेखकलाई सँगसँगै बोकेर हिँड्नु परेको छ।”
यो सूत्रवाक्यले कति गहनताभित्र चम्किरहेको तेजश्विता झल्काउँछ भन्ने कुरा उहाँका कृतिका अध्येता र सङ्गत समेत गर्न पाएका व्यक्तित्वहरूलाई छर्लङ्गै हुन्छ। प्राडा भट्टराईका बारेमा प्रा.वालकृष्ण पोखरेलले भन्नुभएको छ–“डा. गोविन्दराजको आलोचकीय मेरुदण्ड विरचनावाद भएकाले र त्यसलाई जन्माउने तत्त्व धर्मको नाउँमा भैआएका विशाल युद्धहरू भएकाले म यसबारे धेर फतफतधर्मी भएकोमा क्षमा प्रार्थी छु। भट्टराई समालोचक मात्र नभएर एक सफल सर्जक पनि हुनुहुन्छ।” हाम्रो नेपाली भाषा–साहित्यका महर्षिका यी सूत्रवाक्यले पनि साधक भट्टराईप्रतिको मूल्याङ्कन स्पष्ट हुन्छ।
सिर्जनशीलताको फिँजाइको मूल्याङ्कन गर्दै समालोचक डा. तुलसीप्रसाद भट्टराई भन्नुहुन्छ–“नेपाली सीमा बाहिर अन्तर्राष्ट्रिय स्तरमा जहाँजहाँ नेपालीको बसोबास छ–त्यहाँसम्म आफ्नो क्षमता विस्तार गर्नसक्ने र साहित्य सामग्री बटुल्ने डा.गोविन्दको अनुवाद क्षेत्र र उत्तरआधुनिक÷उत्तर–उत्तर आधुनिक विश्लेषणात्मक लेखन अतुलनीय छ।”
प्राडा भट्टराईका सिर्जनधर्मीताका तीनै आयामलाई अध्ययन गर्नुपर्ने हुन्छ। ती हुन् : पहिलो साहित्य सिर्जना, दोस्रो समालोचनामा उत्तरआधुनिक चिन्तन परम्पराको प्रवरवृक्ष निर्माण र तेर्सो अनुवाद क्षेत्रमा नेपाली साहित्यलाई विस्तार गर्न र अंग्रेजी साहित्यलाई नेपालीमा समुपस्थितिको क्षेत्रमा भएको योगदान। अंग्रेजीका विश्वविद्यालयस्तरीय पाठ्यपुस्तक, नेपाली ध्वनिविज्ञानको सहअध्ययन, विश्वविद्यालयमा उत्तरआधुतिक काव्यचेतको अध्ययनलाई प्रवेश गराउनु, डायस्पोरा साहित्यबारे अध्ययन र विश्लेषण, यात्रा साहित्यका क्षेत्रमा गर्नुभएको अनुशीलनकारी कार्यजस्ता अनेक क्षेत्र समेटेर उहाँलाई अध्ययन गरेर छिचोल्नु चानचुने कुरो होइन। यही अध्ययन क्रममा मुक्तिप्रसाद उपाध्याय भन्नुहुन्छ–“पूर्वीय र पाश्चात्य साहित्य र दर्शनका गहन अध्येता प्राडा भट्टराईको बहुआयामिक व्यक्तित्व उपन्यास, कथा, निबन्ध, कविता, समालोचना, अनुवाद र सम्पादन विधामा घनीभूत भएर रेखाङ्कित भएको पाइन्छ।”
२०३२ सालमा २२ वर्षको उमेरमै ‘मुगलान’ जस्तो सामाजिक उपन्यास प्रकाशन गरेर आफ्नो प्रतिभा उजागर गरिसक्नुभएका भट्टराई तत्पश्चात् केही समय स्वाध्यायन र विश्वविद्यालय उच्चअध्ययनमा निमग्न हुनुभयो। तर, उहाँले काव्यकर्म कहिल्यै छाड्नुभएन। यो सत्कर्म गति नै जीवनको उत्तम कर्म भएको बताउने उहाँ अरूलाई प्रेरणा दिएर अक्षर कर्ममा लगाउनु हुन्छ।
*
प्राडा भट्टराईको लेखनधर्मिताको प्रवृत्ति केलाउँदा मात्रै पनि एउटा गजबको ग्रन्थ नै बन्छ। उहाँ कस्तो लेख्नुहुन्छ? दृष्टिकोण कस्तो छ? नेपाली साहित्यका कुन्कुन् विधामा सिर्जना गर्नुहुन्छ? समालोचकीय दृष्टिकोण कस्तो छ र विश्वसाहित्यमा विकसित अनेक चिन्तन प्रणालीमध्ये कुनकुनलाई आत्मसात् गरेर नेपाली साहित्यको श्रीवृद्धिमा तल्लीन हुनुहुन्छ? नेपाली समाजका युवा, अध्येता र गाउँघर सामान्यलाई कसरी पर्गेल्नु हुन्छ र, कस्तो सन्देश प्रवाह गर्नुहुन्छ? आदि पक्ष केलाउँदै मैँले ‘अनुकृतिहरूमा गोविन्दराज भट्टराई’मा चञ्चुप्रवेश गर्ने हिम्मत गरेको छु।
यो ग्रन्थमा उहाँका विविध कृतिका बारेमा सिद्धहस्त ५१ लेखकले गरेका ६३ वटा समालोचनाका थुँगाहरूको माला उनिएको छ। तिनमा उहाँका रचना र रचनाधर्मिता बारेमा विषद् अध्ययन गरिएको छ। तिनले उहाँलाई कुन रूपमा आविर्भाव गरेका छन् भन्ने कुरा हेर्नलाई उहाँका काव्यिक विशेषतालाई हेर्नु अनिवार्य हुन्छ।
उहाँको पहिलो कृति ‘मुगलान‘ हो। उपन्यास जस्तो जीवनजगत्को वृहत् झाँकी भएको विधामा पहिलोपटक कलम चलाउनु भएतापनि यसले उहाँको प्रतिभा र सृजन उचाइलाई एकैपटकमा उपस्थित गरायो। नाटक र महाकाव्य बाहेकका विधामा कलम चलाएको देखिने प्राडा भट्टराईका उपन्यास, भाषाविज्ञान, समालोचना, निबन्ध, नियात्रा, संस्मरण, कविता (गद्य लयात्मक), कथा, अनुवाद, जीवनी, चिठ्ठीपत्र आदि विधामा सिद्धहस्त शैलीमा कलम चलेको देखिन्छ। उहाँलाई कुनै एक विधाबाट मात्र हेर्ने प्रयास गरियो भने त्यो सर्वाङ्ग दृष्टि हुन सक्तैन, वस्तुतः बहुआयामबाट हेर्दा मात्र प्रस्ट चिनारी प्राप्त हुनसक्छ।
प्राडा भट्टराईको जीवनयात्रामा दुईवटा बाटा पाइन्छन्। एउटा हो– उहाँ अंग्रेजी शिक्षाको प्राध्यापक। यसमा उहाँको जीवनको अधिकांश समय विश्वविद्यालयमा अंग्रेजी शिक्षा प्राध्यापन गरेर बितेको छ। अर्को, उहाँसँगको साहित्य साधनाको बाटो। तर, यी दुवै तपसाधाना पथमा सफल यात्री हुनुभयो– प्राडा गोविन्दराज भट्टराई।
विशेषत विश्वसाहित्य बजारमा विकसित नित्यनवीनताहरूको खोजी गरेर नेपाली साहित्यमा उन्मेष गराउनु उहाँको अभीष्ट रहेको छ। यस्तै, साहित्य–सृजनामा उत्तरआधुनिकताका प्रवक्ताका रूपमा प्राडा भट्टराईको पहिचान उत्तिकै बलशाली छ।
इतिहासमा फ्रान्सेली चिन्तक ज्याक डेरिडाले विश्वसाहित्यमा ठुलै हलचल मच्चाएका थिए। “स्ट्रक्चर साइन एन्ड प्लेइ इन् द डिस्कोर्स अव् ह्युमन साइन्सेज १९६६” मार्फत डेरिडाले मच्चाएको चिन्तनलाई ‘उत्तरआधुनितावाद’ भनियो। नेपाली साहित्यमा इन्द्रबहादुर राईले यस मान्यतालाई प्रवेश गराए। त्यसलाई उचाइमा पुर्याएर विश्वविद्यालयका पाठ्यक्रममा प्रवेश गराउने योगदान प्राडा भट्टराईको छ। उहाँका सिर्जना वा समालोचना दुवै क्षेत्रमा यस मान्यताको सफल प्रयोग पाइन्छ। आख्यानको उत्तरआधुनिक पर्यावलोकन, पश्चिमी बलेँसीका बाछिटा, उत्तरआधुनिक ऐना, उत्तरआधुनिक विमर्श जस्ता कृतिहरूले यो चिन्तनलाई कृतीलाई नेपाली साहित्यको यस क्षेत्रका अद्यापि यस क्षेत्रका अद्वितीय प्रतिभा प्रमाणित गरेका छन्।
*
नेपालीहरू विश्व मानचित्रमा आज यत्रतत्र फैलिएका छन्। नेपालीभाषी भुटानीहरू पनि आज आफ्नो देश, समाज, पुर्ख्यौली थातबास गुमाउँदै हतभागी झैँ बनिरहेका छन्। भुटानी नेपालीले पनि आफ्नो भाषा–साहित्य, संस्कृति र पहिचान सबै मनमा सँगै बोकेर गएका छन्। तिनलाई कसै गरे पनि अन्तह्दयबाट हटाउन सकिन्न, ती पीडाका उच्छ्वासहरू साहित्यमा पनि आइरहेकै हुन्छ। उनीहरूको साहित्य सृजनालाई अध्ययन नगरीकन अब नेपाली साहित्यको उध्ययन पूरा हुँदैन। यस विषयमा समेत प्राडा भट्टराई अग्रणी अध्येता हुनुहुन्छ। नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित “डायस्पोरा सिद्धान्त र समालोचना” नेपाली साहित्यको डायस्पोरा अध्ययनमा प्रामाणिक एकमात्र ग्रन्थ हो।
यस्तै, प्राडा भट्टराई भूमिका लेखनमा पनि उत्तिकै सिद्धहस्त र स्थापित हुनुहुन्छ। उहाँले कति कृतिका लागि कति भूमिका लेख्नुभयो, ठ्याक्कै भन्न सकिने स्थिति छैन। प्राडा भट्टराईको जीवनगति नै सिर्जनशील छ। आफू सिर्जना गर्ने मात्र होइन, कैयौँ सर्जकका प्रेरक गुरु हुनुहुन्छ। “यो देह एक दिन जान्छ, माटामा मिल्छ। यहाँ बाँच्ने त अक्षर मात्र हुन् भाइ। लेखेपछि त्यो जीवन्त हुन्छ। बाँचुन्जेल यही कर्म गर्ने हो”,भेटवार्ता क्रममा उहाँ भनिरहनुहुन्छ।
लेखक प्राडा माधवप्रसाद पोखरेलका शब्द साभार गर्दै भन्ने हो भने “गोविन्दराज भट्टराईको उपस्थिति र आचार्यत्वबिना नेपाली साहित्यको राष्ट्रिय र अन्तर्राष्ट्रिय तहको कुनै महायज्ञ पूरा हुँदैन।”
उपन्यास ‘मुगलान’(२०३२) देखि ‘नयाँ भुटानको छाया–चित्र’ (२०८१) सम्म आइपुग्दा भट्टराईका ८७ वटा कृति प्रकाशित भएका छन्। यी कृतिहरूमा दर्शन र जीवनविज्ञानका छायाछवि समेटिएका छन्। यहाँ बिचार चिन्तनका अनेक काव्यदर्शन र आयामहरू पाइन्छ।
“अहिलेको युग बदलिएको छ। जगत् भूमण्डलीकरणले एउटै भएको छ। इन्टरनेटले आफ्नो साम्राज्य स्थापित गरेको छ। मोबाइलको सन्देश र इमेलले चिठीलाई पूर्णतः विस्थापित गरिदिएको छ”
दार्शनिक प्लेटोको मान्यता अनुसार, प्रकृतिको पुनःसृजन नै साहित्य हो। प्राडा भट्टराईको मूल आदर्श पनि यही हो। उहाँकै शब्दमा ‘सबै प्रकारका कलाकर्म प्रकृति निर्माण गर्ने खेल मात्र हुन्।’ पूर्वीय चिन्तनमा साहित्यलाई सत्यम् शिवम् सुन्दरम् भनेर लिइएको छ भने उहाँ ‘डेरिडाको साहित्य–कर्म एकप्रकारको खेल हो’ भन्ने मान्यतालाई आदर्श मान्नु हुन्छ। आलोचकहरूका आ–आफ्नै दृष्टि होलान् तर, तर यहाँ सत्य के छ भने साहित्य कुनैपनि सिर्जनाको आधारमा उभिएर पुनः सृजन हुन्छ। खालि वा शून्यबाट सिर्जना जन्मिँदैन। यस मान्यतालाई नै आत्मसात् गरेर भट्टराई काव्यकर्ममा हेलिनुभएको बोध हुन्छ। प्राडा भट्टराईका कृतिहरूको अध्ययन मात्रै होइन, पठन, विपठन, निपठन, अनुपठन आदि अनेक दृष्टिकोणबाट गर्नुपर्ने हुन्छ। उत्तरआधुनिक शैलीमा लेखिएका रचनाहरूले यी तरिकाहरूको अपेक्षा गर्दछन् नै।
कृति ‘अनुकृतिहरुमा गोविन्दराज भट्टराई’ भित्र व्यक्तित्व खण्ड हुँदै उपन्यास, निबन्ध, यात्रा–वृत्तान्त, आत्मसंस्मरण, सिद्धान्त र समालोचना, चिठीपत्र र कविता खण्ड संग्रहित छ। यी भिन्न खण्डमा विभिन्न अध्येताहरूको टिपोट वा समालोचना समेटिएको छ। यी प्रत्येक खण्डका समालोचनाले कृति र कृतीलाई विभिन्न कोणबाट अध्ययन र विश्लेषण गरिएको छ। यो अध्ययन परिधिमा प्राडा भट्टराईका लेखकीय मूल्य–मान्यता, उत्तरआधुनिक चिन्तनका विभिन्न पक्ष र जीवन दर्शन समेटिएको पाइन्छ। प्राडा भट्टराईको सृजना र कृतिबारे संग्रहमा समालोचना आएको भने यो पहिलोपटक होइन। यसअघि, प्राध्यापक कुमारप्रसाद कोइरालाको सम्पादनमा ‘विपठनमा सुकरातको डायरी(२०६९)’ र कोइरालाकै सम्पादनमा ‘साहित्यकार गोविन्दराज भट्टराई(२०७२)’ आइसकेका छन्। यस्तै, समालोचक ज्ञानबहादुर क्षत्रीको सम्पादनमा ‘निपठनमा सुकरातको डायरी’(२०७९) र छत्रमान सुब्बाको सम्पादनमा ‘साहित्यमा उत्तर–चेतको खोजी(२०८१)’ पनि प्रकाशित भैसकेका छन्।
*
एउटा चर्चित लेखक नै सफल लेखक हो। नेपाली साहित्य र विश्व साहित्यमा यही अवस्था देखिन्छ। चर्चित लेखक हुनलाई चर्चा कमाउने सिर्जना आवश्यक हुन्छ। भानुभक्त, मोतिराम, देवकोटा, लेखनाथ, सम, महानन्द र टेगोर, सांकृत्यायन, प्रसाद, पन्त, निराला, भि.एस.नैपाल, गोर्की, मिल्टन, एरिक न्युबी, रोबर्ट ब्राउनिङ्, शेली, जे.के.रोलिङ, युवाल नोहा हरारी, खलिल जिब्रानजस्ता अनेकौँ सिद्धहस्त साधकहरू सामान्य तपसाधनाले मात्रै चर्चित भएका होइनन्। उनीहरूलाई आज संसारका अनेकौँ विश्वविद्यालयमा पढाइन्छ।
लेखकले प्रकृतिको पुनः सृजनमात्र गर्छ भन्ने भट्टराई कुनै पनि सृजना नयाँ र समाज ग्राह्य हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ। जीवन दर्शन, प्रयोगमूलकता र नवीन सामाजिक मूल्यमान्यता उहाँका रचनाहरूमा पाइन्छ। त्यही आधारमा यहाँका सबै समीक्षकले उहाँका रचनालाई नित्यनवीन जीवन बोध, दार्शनिक गहिराइ र सामाजिक दृष्टिकोणबाट अध्ययन गरेका छन् भन्नु समीचीन हुनेछ। “…नेपाली आख्यानमा एउटा ज्यादै नौलो प्रयोगपरक दार्शनिक बिचारको पुञ्ज जसमा कविता, नाटक, निबन्ध, समालोचना, आख्यान, अनुवाद, इतिहास, समाजशास्त्र, युद्ध, द्वन्द्व, शान्ति, जीवनजगत् बुझ्न चाहिने कृति जो निरन्तर प्रयोगको घतलाग्दो नमूना हो–सुकरातको डायरी नै हो..।”यहाँ समालोचकले एक वाक्यांशमा भट्टराईलाई अध्ययन गर्न आवश्यक पर्ने पाठकीय चेत् प्रायः खुलाएका छन्।
लेखकले जब पाठकसामु आफ्नो कृति समर्पण गर्छ, त्यसपछि ऊ मौन रहन्छ। यसलाई रोलाँ बार्तले लेखकको मृत्य भनेका छन्, अर्थात् लेखकले कृति सार्वजनिक गरेर पाठकलाई सुम्पिएपछि त्यस कृतिका लागि उसको मृत्यु हुन्छ। यो सामान्य चिन्तन होइन। हामीकहाँ लोकार्पण भएपछि लेखक बडो जोडतोडसँग त्यो कृतिबारे सार्वजनिक कार्यक्रममै मच्चीमच्ची बोल्ने चलन छ। यसले पाठकलाई खुम्च्याउँछ र, आफ्नो धारणा वा पाठकीय न्याय निरूपण गर्न बारबन्देज गर्छ भन्ने बार्थको मान्यता पाइन्छ।
विशेषतः रेडियो, टेलिभिजन, क्यासेट, मोबाइल, भिडियो, सिनेमाघर, टेलिफोन, कम्प्युटर, नेट, बेवसाइड, फेसबुकजस्ता सञ्चारका साधनको विकासले जीवनशैलीमा नै परिवर्तन भएको पाइन्छ। आज अझ अगाडि बडेर यो युगमा कृत्रिम बुद्धिमता र रोबोटको साम्राज्य छाएको छ।
सन्दर्भमा, मुगलान उपन्यासलाई चार समालोचकको विविध दृष्टिकोणमा अध्ययन गरिएको पाइन्छ। यसलाई डा. शंकरप्रसाद गैरेले डायस्पोराको दृष्टिबाट हेरेका छन्। अहिले अध्ययन सिलसिलामा डायस्पोराका भावना, पीडा, दृष्टिकोण, चिन्तन–मनन र जनजीवन समेटेर आफ्नो देशमै बसेका लेखकले पनि डायस्पोरिक रचना गर्न सक्छन् भन्ने मान्यता आइरहेको पाइन्छ।
प्राडा भट्टराईको काव्यिक जीवनयात्राका अनेक आयाम समेटेर सातजना स्रष्टाहरूले विवेचना गरेका छन्। मणिपुरको चिठ्ठी उपन्यासमाथि तीनजना स्रष्टाको दृष्टिकोण समावेश छ। सुकरातको पाइला उपन्यासमा तीनजना पाठकका अनुशीलन भेटिन्छ। यो देशमा फैलिएको राजनीतिक अराजकताले निम्त्याएका अनेक विसङ्गति विरुद्धको शंखघोष हो। यहाँ कृतीको जीवनदर्शन र अनादिकालदेखि मानवमा त्रासदी बोकेर आक्रमण गरिहेको मृत्युबोधको कारण र कार्यको पनि पर्यावलोकन हो। यस कुरामा समालोचकहरू आफ्नै भाषाशैलीमा घनीभूत ढङ्गले अनुपठन र विपठनमा तल्लीन छन्।
नयाँ मुगलानको विषयमा सबैभन्दा बढी सम्पादक प्राडा कोइरालासहित छ जना विद्वान्हरूका समालोचना समावेश गरिएका छन्। निबन्ध, यात्रावृत्तान्त, आत्मसंस्मरणमा २४ भावकहरूका अनुभव समेटिएका छन्।
सिद्धान्त र समालोचनामा ७ लेखकहरूका विमर्श समावेश छन्। साधक भट्टराईलाई विशेष उचाइमा पुर्याउने चिन्तन पनि यही हो। उहाँको काव्य विमर्शको मूल मान्यता पनि यहीँभित्र अन्तर्भूत छ। उहाँले नेपाली समालोचना जगत्मा एक नवीन सिद्धान्त विकसित प्रवेश गराउनुभएकै हो। उत्तरआधुनिक ऐना, उत्तरआधुनिक विमर्श, वीपीसाहित्यको अभिलेखन जस्ता उच्चस्तरका चिन्तन र अनुसन्धानपरक कृतिको गहन अध्ययन यसमा प्रकटीकरण छ।
*
चिठीपत्र खण्डमा भने पाँचजना अध्येताका अनुशीलन समेटिएका छन्। प्राडा भट्टराई जस्ता प्रयोगवादी स्रष्टाको यो नेपाली साहित्यमा एक प्रयोगमूलक कार्य हो, अपितु यो पहिलो भने होइन। यसमा भएका रचना र तिनको मूल्याङ्कनले नेपाली साहित्यको समसामयिक यात्रामा एक नवीन चेतना फैलाएको कुरा समीक्षकहरूको पाइन्छ। “अहिलेको युग बदलिएको छ। जगत् भूमण्डलीकरणले एउटै भएको छ। इन्टरनेटले आफ्नो साम्राज्य स्थापित गरेको छ। मोबाइलको सन्देश र इमेलले चिठीलाई पूर्णतः विस्थापित गरिदिएको छ”,चिठीपत्रको एक अंशमा भनिएको छ।
अहिलेको जटिलता यही हो। आजका नवयुवालाई चिठी लेख्नु अनौठो भएको छ। उनीहरू छक्क परेर के हो चिठी लेख्नु (?) भन्छन्, अन्योल हुन्छन्। तर, स्रष्टा प्राडा भट्टराई भने युगलाई जति नवीन बनाए पनि अतीतको गौरव वा ज्ञान चेतना सँगै बोकेर हिँड्ने आफ्नै राजमार्गका यात्री हुनुहुन्छ। “यसरी उत्तरआधुनिकता धेरै कुराको संयोग हो तर आधुनिकताकै उत्तरवर्ती परिवर्तित रूप पनि हो। उत्तरआधुनिकतामा धेरै अनेक विषयको सम्भावना त्यत्तिकै विद्यमान रहन्छ। यति निश्चय हो उत्तरआधुनिकताको पनि वैचारिक जग आधुनिकता नै हो। आधुनिकतावाद विचार, धारणा र शैलको यस्तो क्षेत्र हो जससित उत्तरआधुनिकता बारम्बार फर्किएको हुन्छ”,प्राडा भट्टराईको बुझाइ छ।
कविता खण्डमा भने ३ समालोचकका सृजना सङ्कलित छन्। प्राडा भट्टराईका २ गद्य–लयात्मक कविता सङ्ग्रह प्रकाशित भएका छन्– एक कल्प(२०७१) र भूकम्प प्रार्थना(२०७७)। गद्य सिर्जनामा उहाँको अधिक ऊर्जा खर्च भएको देखिन्छ र, कविता यात्रा भने सुस्त गतिमा भएको पाइन्छ। उहाँको विशेषता नै नित्य नवीनताको खोजी हो। त्यसैले कवितामा पनि आजको साइबर युगसम्मै विचरण पाइन्छ। विशेषतः रेडियो, टेलिभिजन, क्यासेट, मोबाइल, भिडियो, सिनेमाघर, टेलिफोन, कम्प्युटर, नेट, बेवसाइड, फेसबुकजस्ता सञ्चारका साधनको विकासले जीवनशैलीमा नै परिवर्तन भएको पाइन्छ। आज अझ अगाडि बडेर यो युगमा कृत्रिम बुद्धिमता र रोबोटको साम्राज्य छाएको छ। उहाँको पहिलो कविता सङ्ग्रह सामाजिक जनजीवनका झिल्का प्रतिझिल्का र उदात्त जीवन शैलीको आलोकबाट साइबर संस्कृतिमा जबरजस्त प्रवेशको भुँवरीमा केन्द्रित छ। यस्तै, दोस्रो सङ्ग्रहमा भने २०७२ सालमा आएको महाविनासकारी भूकम्पको विनासलीला र त्यसले दिएको पीडादेखि आजको साइबर संस्कृतिका बाछिटासम्म अटाएको छ।
*
नेपाली साहित्यमा आधुनिक समालोचनाको प्रारम्भकर्ताको श्रेय मोतीराम भट्टमा छ। समकालीन सामिप्यका भाषाहरूका तुलनामा सिर्जना र समालोचना दुवै फाँटमा नेपाली साहित्य निकै पछि मात्र बामे सर्न थालेको हो। तर जब थाल्यो, यो टाँगन घोडाको दौडमा दौडियो। किनभने, यसले अपनत्वको झन्डालाई उचाल्दै विश्वसाहित्यका नवीन चिन्तनधाराहरूलाई शीघ्रातिशीघ्र नेपाली साहित्यमा उन्मेष गरायो। फलस्वरूप उनीहरूका प्रतिस्पर्धामा सिँगौरी खेल्न सक्ने बनायो। यो अवस्थामा पुर्याउन धेरै साधकहरूको योगदान रहेको छ। तिनमा एक स्तम्भ प्राडा गोविन्दराज भट्टराई पनि हुनुहुन्छ।
समालोचनामा अनेक वाद र प्रणालीहरू विकसित भए। समयक्रममा तिनीहरूलाई नयाँले क्रमशः उछिन्दै गए। नेपाली समालोचनामा पहिले विकसित प्रभाववादी समालोचना हो। त्यसका ठाउँमा आधुनिक, यथार्थवाद, अतियथार्थवाद, पाठकाभिमुखी, उत्तरआधुनिक चिन्तनहरू पनि मौलाउँदै गए। अहिले आएर यो फाँट अझ फराकिलो भएको पाइन्छ।
कृतीको परिचय, कृतिका विशेषता, सुधारात्मक पक्षहरूलाई आत्मसात् गर्दै सर्जक–सम्पादकले आगामी संस्करण अझ उन्नत बनाउन सक्नेमा आश्वस्त हुन सकिन्छ। यस्तो बृहत् ग्रन्थमा सन्दर्भ सूची अनिवार्य हुन्छ नै किनभने यो एक अनुसन्धानमूलक कार्य हो। यो समालोचनाको मूलभूत विशेषता हो। तर, कृतिका कतिपय समिक्षामा सन्दर्भ सूची भने पाइँदैन। साहित्यका यस्ता विशेषता समयक्रममा सर्जक, सिर्जना र भावकका भावना आधारमा विकास हुने गरेका छन्। साहित्यका यावत् पक्ष विकासशील हुन्छन् भन्ने कुरा ता पौरस्त्य वा पाश्चात्य काव्यचिन्तन परम्पराले प्रमाणित गरिरहेको विषय हो।
यस कृतिमा भएका सबै समालोचनाहरू गुणग्राही छन्। यहाँ सृजना र कृतीले समाजमा दिने सकारात्मक सन्देश विचरण गरिएको छ। यसले गर्दा समाजको अग्रगामी यात्रा सही ढङ्गले तय हुन सकोस् भन्ने अभिप्राय मुखरित हुन्छ। सर्जक एक स्रोतव्यक्ति हो। उसको यावत् कुराले समाजलाई सुबाटो लाग्न पथप्रदर्शन गरिरहेको हुन्छ। उसैबाट पाठक र समाजले सिक्छ। सर्जकले सुदूर मात्रै देख्छ र पाठकलाई सँगै लैजान्छ। यी यावत् कर्ममा प्राडा गोविन्दराज भट्टराईको उचाइ नाप्नु चानचुने कुरा होइन। तथापि, यसमा भएका समालोचकहरूले उहाँको व्यक्तित्वको उचाइमा दृष्टिपात गर्नुका साथै कृतिभित्रको गहिराइमा पुगेर सक्कली शङ्ख झिक्ने सत्प्रयास गरेको पाइन्छ।
दमक–५, अनाम टोल, झापा ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.