काठमाडौँ – नेपाली कांग्रेसमा लाखापाखा लागेकाहरू मूलघर फर्किएका छन्। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वसँग बिरक्तिएकाहरू चारतारे झन्डा र रुखको छहारीमा एकीकृत भएका छन्।
पद र प्रतिष्ठाका लागि लामो समय रस्साकस्सी गरेका तथा पार्टीको आधिकारिकताको दाबी गरेकाहरू मूल कांग्रेसमा समाहित भएसँगै कांग्रेसको १५औँ महाधिवेशनको मिति नसर्ने र निर्धारित प्रक्रियाअनुसार महाधिवेशन नहुने अन्योल पनि लगभग अन्त्य भएको छ। इतर समूह तितरबितर भएको छ।
सभापति गगन थापाले महाधिवेशनको उद्घाटन गरिदिन पूर्वसभापति शेरबहादुर देउवालाई निम्तो दिएका छन्। ६ महिना विदेशमा उपचार गरेर श्रीमती र छोरालाई छोडेर एक्लै काठमाडौँ उत्रिएका देउवाले पार्टीको १५औँ महाधिवेशन उद्घाटन गर्ने निम्तो पाएका छन्।
विमानस्थलबाट पार्टी कार्यालय सानेपा नगई गुटगत समूहको चुनदेवी सम्पर्क कार्यालय पुगेका देउवालाई महाधिवेशन उद्घाटनको निम्तोले धर्मसंकटमा पारेको छ। सभापति थापाले पूर्वसभापति देउवाले अधिवेशन उद्घाटन गरिदिनु सम्मानको विषय हुने बताएका छन्।
नेपाली कांग्रेसले लोकतन्त्रभित्र हुने सबै अभ्यास गर्ने पार्टीका रूपमा चिनाउँदै आएको छ। जेनजी आन्दोलनपछि पार्टीको जनमत भने कमजोर बनेको छ। नेताहरूका निवास जलेर खरानी भए। पूर्वसभापति देउवालाई आफ्नै निवासबाट उद्धार गर्नुपर्ने अवस्था आयो।
पुराना राजनीतिक दलहरूले भदौ २४ गते नेपालका लागि कालो दिनका रूपमा उभिएको बताउँदै आएका छन्। जेनजी आन्दोलनको रापतापमा बनेको सरकारले भदौ २४ बारे चुइँक्क बोलेको छैन।
जेनजी आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई जेलभित्रै कोचेको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले हिरासतमा रहेका जेनजी आन्दोलनकारीलाई रिहा गर्न आफ्नै सरकारसँग माग गरेका छन्।
आन्दोलनका योद्धाहरूलाई कालकोठरीमा थुनेर जेनजीका नाममा शासन सञ्चालन गरेको सरकार बहुमतको दम्भले उम्लिएको आरोप लागेको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्रको झगडाले पुलपुलिएको सत्तारुढ दललाई समेत झड्का दिने गरी कांग्रेसीहरू एक ठाउँमा उभिएको टिप्पणी भएको छ। यसले कांग्रेस प्रवक्ता देवराज चालिसेलाई समेत उत्साहित बनाएको छ।
नेपाली कांग्रेस फेरि शक्ति आर्जन गर्ने दिशामा अघि बढेको छ। पार्टी नेतृत्वप्रति विमति राखेर भड्किएकाहरूलाई शान्त बनाउने प्रयास गरेको छ। असन्तुष्ट एक–दुई नेता बाहेक अधिकांशलाई मूल कांग्रेसमा स्वागत गरेको छ।
विगतका तिखा टिप्पणीप्रति आत्मालोचना गर्दै सभापति गगनकुमार थापाले कांग्रेस दाइभाइको पार्टी भएको बताएका छन्। देशका लागि कांग्रेस पार्टी आवश्यक रहेको उनले बताए।
गगन नेतृत्वको कांग्रेसलाई अस्वीकार गर्दै छुट्टै महाधिवेशनको तयारी गरेको शेरबहादुर देउवा पक्ष रित्तिँदै गएको छ। देउवा क्याम्पका अधिकांश नेताहरू सानेपा पुगेर बसाइँ सरेका छन्।
लामो समय देउवा गुटमा रहेका नेताहरू गगनतिर लागेपछि देउवा अप्ठ्यारोमा परेका छन्। शशाङ्क कोइरालाको ओठमुख सुकेको छ। शेखर कोइरालाले भावनात्मक शब्दहरू उनेर विज्ञप्ति निकालेका छन्।
अब कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु हुन दुई दिन मात्रै बाँकी छ। महाधिवेशनका लागि निर्वाचन अधिकृतहरू वडा–वडामा खटिएका छन्। कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको त्यागले असन्तुष्ट समूह चेपिएको छ।
अधिकांश नेताहरू बसाइँ सरेपछि असन्तुष्ट समूह रित्तिएको छ। महाधिवेशनको प्रक्रिया सुरु भएकाले असन्तुष्ट नेताहरूको घुर्की लगाउने बाटो पनि बन्द भएको छ।
जिल्ला–जिल्लामा कांग्रेसको अधिवेशनको चहलपहल पनि सुरु भएको छ। जिल्लाभित्र सबै नेता–कार्यकर्ता एक ठाउँमा उभिएर अधिवेशनको तयारीमा जुटेको कांग्रेस सोलुखुम्बुका नेता गणेश बस्नेतले बताए।
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व दुई–तीन वटा नभएर एउटै कांग्रेस हुनेमा विश्वस्त देखिएको छ। अब देशले अर्को पोलिटिकल डिजास्टर अर्थात् राजनीतिक दुर्घटना भोग्न नपर्ने गरी सबैलाई एकताबद्ध गराउने अभियानमा होमिएको कांग्रेसको दाबी छ।
पुरानो लोकतान्त्रिक पार्टीले आफ्नो आन्तरिक जीवनलाई मात्र नभएर मुलुकको छविलाई समेत पुनर्जीवित गराउने सन्देश दिने दाबीसमेत कांग्रेसले गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.