तेस्रोलिंगीमाथि आक्रमण, गृहमन्त्री सुधन र मानवअधिकार आयोगमा उजुरी

तेस्रोलिंगीमाथि आक्रमण, गृहमन्त्री सुधन र मानवअधिकार आयोगमा उजुरी

190
SHARES

काठमाडौँ – ललितपुरको बालकुमारीमा तेस्रोलिंगी व्यक्तिहरूमाथि आक्रमण भएको छ। पीडितहरूले आफूहरूमाथि आक्रमण हुँदा प्रहरी अधिकारीहरू नै दर्शक बनेर बसेको आरोप लगाएका छन्। प्रहरीले उल्टै आक्रमण गर्न उक्साएको र सुरक्षा नदिएको आरोप उनीहरूले लगाए।

ललितपुरको बालकुमारी नजिक २०८३ असोज १ गते बेलुका करिब ९ बजेतिर साथीको जन्मदिन मनाएर कोठा फर्कँदै गर्दा आफूहरूमाथि आक्रमण भएको उनीहरूले बताए। आक्रमणकारीबाट बच्न एक जनाले खोलामा हाम फालेको र अरूले भागेर ज्यान जोगाएको बताए।

गृह मन्त्री सुधन गुरुङ र राष्ट्रिय मानवअधिकार आयोग समक्ष सुजुका श्रेष्ठ, कृषा क्षेत्री र अंशु लामाले आक्रमणमा संलग्न युवाहरू र दर्शक बन्ने प्रहरी अधिकारीलाई कारबाही गर्न उजुरी दिएका छन्।

उजुरीमा ललितपुरको बालकुमारी पुलमुनि मादक पदार्थ सेवन गरेका युवाहरूको समूहले आफूहरूमाथि ज्यान मार्ने उद्देश्यले लौरो र पाइपले कुटपिट गरेको उल्लेख छ। उक्त घटनाको साक्षी प्रहरी अधिकारी नै बनेको देख्दा आफूहरू अचम्मित भएको पीडितहरूको भनाइ छ।

प्रहरी अधिकारीहरूले नै बाहिरका मानिसहरूलाई ‘यिनीहरूलाई कुटे हुन्छ’ भन्ने र मादक पदार्थ सेवन गरेका युवाहरूले प्रहरीको संरक्षणमा कुटपिट गरेको उजुरीमा उल्लेख छ। पीडितहरूले आफूहरू राज्य नियन्त्रित हिंसामा परेको गुनासो गरेका छन्।

प्रहरी अधिकारीहरूले नै आक्रमण गर्न उक्साएको घटनाले राज्यको सुरक्षा व्यवस्थालाई नै लज्जित बनाएको उनीहरूको भनाइ छ। साथीको जन्मदिन मनाएर कोठातर्फ फर्कँदै गर्दा प्रहरी अधिकारीले सोधपुछ गर्दै सडकमा नहिँड्न भनेको उनीहरूको भनाइ छ।

‘काम दिनु नि, हामी हिँड्दैनौ, सडकमा उभिँदैनौँ’ भनेर आफूहरूले प्रहरीलाई जवाफ दिएको र त्यसपछि कोठातर्फ फर्किरहेको अवस्थामा प्रहरीकै सामुन्ने बियर तानिरहेका युवाहरूले पछाडिबाट आक्रमण गरेको उनीहरूले घटना विवरण सुनाए।

उनीहरूका अनुसार युवाहरूको समूहले लौरो र पाइपले कुटपिट गरेको थियो। केटाहरूको हुल नै आएर कुटपिट गर्दा प्रहरी हेरेर बसेको र प्रहरीले भिडियोसमेत बनाएको उनीहरूको आरोप छ।

आफूहरूले पनि घटनाको भिडियो बनाउँदा प्रहरीले मोबाइल नै फालिदिए,उनीहरूले गृहमन्त्री गुरुङ र आयोगमा दिएको उजुरीमा लेखिएको छ, प्रहरी अधिकारीले ‘हान्नु, हान्नु’ भनेको आफूहरूले स्पष्टै सुनेका थियौँ।

आफूमाथि आक्रमण भइरहँदा प्रहरी अधिकारी दर्शक बनेर बसेको र प्रहरीलाई दुई–तीन पटक फोन गर्दा पनि चासो नदिएको उनीहरूको गुनासो छ। ‘रक्षक नै भक्षक बनेको’ अनुभव आफूहरूले गरेको उनीहरूले उजुरीमा लेखेका छन्।

‘लैङ्गिक पहिचानकै कारण पटक–पटक आक्रमण’

पीडितहरूले आफ्नो लैङ्गिक पहिचान तेस्रोलिंगी भएका कारण आफूहरूमाथि पटक–पटक आक्रमण हुँदै आएको बताए। आक्रमण गर्नेहरूलाई उल्टै राज्यबाट संरक्षण हुनुले आफ्नो ज्यानकै असुरक्षा बढेको उनीहरूको भनाइ छ।

समुदायका केही व्यक्तिले गर्ने गल्तीलाई देखाएर समग्र तेस्रोलिंगी समुदायमाथि आक्षेप लगाउने र आक्रमण हुने गरेको उनीहरूले बताए। उनीहरूले आफूहरूमाथि आक्रमण गर्ने युवाहरू र सुरक्षा नदिने प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

मायाको पहिचान नेपालका बागमती प्रदेश समन्वय अधिकारी बाबु दुमि राईका अनुसार यो बालकुमारीको मात्रै घटना होइन। काठमाडौँको सोह्रखुट्टे, बालाजु, महाराजगन्ज, चाबहिल, कोटेश्वर र कलङ्कीसहितका ठाउँमा यसअघि पनि तेस्रोलिंगीहरूमाथि आक्रमण भएको उनले बताए।

राष्ट्रिय मानवअधिकार आयोगमा पीडितहरूसँगै पुगेका राईले तत्काल देशैभर सर्कुलर गरेर तेस्रोलिंगी व्यक्तिहरूमाथिको आक्रमण बन्द गर्न आग्रह गरे। राईले तेस्रोलिंगी व्यक्तिहरूको मानवअधिकार हनन, हिंसा, विभेद, दुर्व्यवहार रोक्न देशैभर सम्बोधन हुने गरी विज्ञप्ति प्रकाशित गरिदिन आयोगका अधिकारीसमक्ष आग्रह गरे।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिमाथि राज्यबाट हुँदै आएको निकृष्ट व्यवहार छर्लङ्ग हुँदा समेत मानवअधिकार आयोग मौन बस्न नमिल्ने राईले बताए।

आयोगले घटनाको सत्यतथ्यका लागि प्रधानमन्त्री कार्यालयदेखि प्रहरी प्रधान कार्यालयसम्म पत्राचार गर्ने बताएको छ। ७ दिनभित्र घटनाविवरण बुझाउन पत्राचार गर्छौ,आयोगकी मानवअधिकार अनुसन्धान अधिकृत मञ्जु खतिवडाले भनिन्।

मायाको पहिचान नेपालले तेस्रोलिंगी व्यक्तिहरूमाथि भएको हिंसात्मक आक्रमणको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ। मायाको पहिचान नेपालले हिंसात्मक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

मायाको पहिचान नेपालले यो केवल व्यक्तिमाथिको आपराधिक आक्रमण मात्र नभई कानुन कार्यान्वयन गर्ने निकायप्रतिको जनविश्वास र राज्यको नागरिक सुरक्षासम्बन्धी दायित्वमाथि गम्भीर प्रश्न उठाउने विषय हुने जनाएको छ।

मायाको पहिचान नेपालले प्रेस विज्ञप्तिमार्फत गृह मन्त्री, महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय तथा सम्बन्धित सरकारी निकाय, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय ललितपुर, सांसद भूमिका श्रेष्ठ तथा अन्य सम्बन्धित मानवअधिकार र न्यायिक निकायहरूको गम्भीर ध्यानाकर्षण गराएको छ।

मायाको पहिचान नेपालले बालकुमारी घटनाको निष्पक्ष, स्वतन्त्र र तत्काल छानबिन गर्न माग गरेको छ। घटनामा संलग्न भएको प्रमाणित हुने सबै व्यक्तिलाई प्रचलित कानुनबमोजिम तत्काल कानुनी कारबाही गर्नुपर्ने उसको माग छ।

घटनास्थलमा उपस्थित प्रहरी अधिकारीहरूको भूमिका, व्यवहार तथा पीडितलाई सुरक्षा प्रदान नगरेको सम्बन्धमा स्वतन्त्र छानबिन गरी दोषी देखिएमा विभागीय तथा कानुनी कारबाही गर्न पनि माग गरिएको छ।

घटनाको सिसिटिभी दृश्य, भिडियो तथा अन्य प्रमाणहरू सुरक्षित गरी निष्पक्ष अनुसन्धानको आधार बनाउनुपर्ने माग गरिएको छ। पीडितहरूको सुरक्षा, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग तथा न्यायमा पहुँच सुनिश्चित गर्न पनि मायाको पहिचान नेपालले माग गरेको छ।

तेस्रोलिंगी तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने हिंसा र विभेद रोक्न सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायमा लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी संवेदनशीलता र मानवअधिकारसम्बन्धी प्रभावकारी तालिम सुनिश्चित गर्नुपर्ने माग पनि गरिएको छ।

‘रोजगारी नहुँदा सडकमा उभिनुपर्ने बाध्यता’

पीडित तेस्रोलिंगीहरूले बेरोजगार भएका कारण सडकमा उभिनुपर्ने अवस्था रहेको बताएका छन्। ‘हामीलाई रोजगारी दिनु नि, हामी सडकमा उभिन आउँदैनौ’ भन्दै तेस्रोलिंगीहरूले सरकारसँग माग गरेका छन्।

राज्यले आफ्नो पहिचान दिए पनि जीविकोपार्जनका लागि कुनै व्यवस्था नगर्दा सडकमा उभिनुपर्ने बाध्यता रहेको तेस्रोलिंगीहरूको भनाइ छ। उनीहरूले ‘दालभात मागेको होइन, काम देऊ भनेको हो, काम खोज्दै सडकमा नआए कहाँ जाने?’ भनेर प्रश्न गरेका छन्।

तेस्रोलिंगीहरूले आफूहरूमाथि प्रहरीको ज्यादती बढेको बताएका छन्। काम विशेषले सडकमा उभिँदासमेत यौनकर्मीकै व्यवहार गरेको आरोप लाग्ने गरेको उनीहरूको गुनासो छ। गुनासो सुन्ने निकायकै अधिकारीबाट आफूहरूले पीडा भोग्नुपरेको उनीहरूले बताएका छन्।

समाचार शेयर गर्नुहोस्
190
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.