शरणार्थी शिविरदेखि सिड्नी म्याराथनसम्म : भुटानी पहिचान बोकेर विश्व कीर्तिमानको यात्रा

शरणार्थी शिविरदेखि सिड्नी म्याराथनसम्म : भुटानी पहिचान बोकेर विश्व कीर्तिमानको यात्रा

81
SHARES

“सुरु गर्न तपाईँ खेलाडी हुनुपर्दैन। म पनि थिइनँ। पाँच किलोमिटरबाट सुरु गर्नुहोस्। एउटा पदयात्राबाट सुरु गर्नुहोस्। एउटा रूख रोपेर सुरु गर्नुहोस्। एउटा इमानदार कुराकानीबाट सुरु गर्नुहोस्। दूरीले फरक पार्दैन—तपाईँ कुन दिशातर्फ अघि बढिरहनुभएको छ, त्यसले फरक पार्छ।”

जीवनमा आएको सङ्कटलाई अवसरमा बदल्दै प्रकृति, स्वास्थ्य, नेतृत्व र वातावरण संरक्षणको सन्देश विश्वभर पुर्‍याउने अभियानमा रहेका नील भण्डारीले सिड्नी म्याराथनमा परम्परागत भुटानी पोसाक बक्खु लगाएर गिनिज विश्व रेकर्ड कायम गरेका छन्। ३० अगस्ट २०२६ मा आयोजित सिड्नी म्याराथनमा उनले ४२.१९५ किलोमिटरको दूरी ४ घण्टा ७ मिनेट ६ सेकेन्डमा पूरा गरे।

यो उपलब्धि उनको लागि केवल खेलकुदको कीर्तिमान होइन। भण्डारीले यसलाई विस्थापन, पहिचान, स्वास्थ्य, प्रकृति र सामाजिक उत्तरदायित्वसँग जोडिएको ठूलो सन्देश विश्वसामु पुर्‍याउने माध्यमका रूपमा लिएका छन्।

सिड्नीको उत्तर सिड्नी स्थित मिल्लर स्ट्रिट बेडफिल्ड पार्कबाट सुरु भएको म्याराथन सिड्नी हारबर ब्रिज हुँदै सीबीडी द रक्स र कल्चर क्वे पार गरेर सेन्ट्रल पार्क तथा पूर्वी उपनगरतर्फ अघि बढेको थियो। अन्ततः दौड सिड्नी ओपेरा हाउस फरकोटमा पुगेर समाप्त भयो। वर्षमा सीमित अवसरमा मात्र सवारीसाधनका लागि बन्द गरिने सिड्नी हार्बर ब्रिज हुँदै परम्परागत भुटानी राष्ट्रिय पोसाकमा दौडिनुले उनको यात्रालाई थप चर्चित बनायो। भुटानको उक्त राष्ट्रिय पोशाकमा त्यति लामो दुरीको म्याराथन दौड त्यत्ति सहजको विषय पनि होइन।

भण्डारीका अनुसार उनी कहिल्यै खेलाडी थिएनन्। कोभिड–१९ पछिको समयमा उनी बढी तौल, अत्यधिक तनाव र स्वास्थ्यसम्बन्धी जोखिमको अवस्थामा पुगेका थिए। त्यसपछि १ जनवरी २०२२ मा उनले जिम जान सुरु गरे र आफ्नो स्वास्थ्यलाई पुनःनिर्माण गर्ने निर्णय गरे।

सुरुमा लक्ष्य केवल व्यक्तिगत स्वास्थ्य सुधार थियो। तर अक्टोबर २०२३ मा गरिएको अन्नपूर्ण सर्किट पदयात्राले उनको जीवनको दिशालाई नै परिवर्तन गरिदियो। हिमालयमा बिताएको समय, प्रकृतिसँगको निकटता र जीवनलाई सरलता तथा उद्देश्यका आधारमा हेर्ने मानिसहरूसँगको सङ्गतले उनलाई नयाँ अभियानको अवधारणातर्फ डोर्‍यायो। त्यसैबाट इन्सपायर टु एक्सप्लोरको जन्म भयो।

त्यसपछि ५ किलोमिटरको दौडबाट सुरु भएको यात्रा १० किलोमिटर, स्थानीय दौड, हाफ म्याराथन हुँदै पूर्ण म्याराथनसम्म पुगेको हो। उनका लागि दूरी बढ्नु मात्र उपलब्धि होइन, प्रत्येक चरण आत्मविश्वास र आत्मअनुशासन निर्माण गर्ने प्रक्रिया पनि हो।

भण्डारीको आजको यस जीवनकथालाई चार भूगोलले जोड्छन्—भुटान, नेपाल, संयुक्त राज्य अमेरिका र अस्ट्रेलिया।

सिड्नी म्याराथनमा बक्खु लगाएर विश्व कीर्तिमान कायम गर्नु भण्डारीका लागि आफ्नो पुर्ख्यौली पहिचानप्रतिको सम्मान पनि हो। सन् १९९० को दशकमा दक्षिणी भुटानका नेपालीभाषी समुदायले भाषा, संस्कृति, पोसाक र परम्परामाथि दबाब तथा विस्थापन भोगेको ऐतिहासिक पृष्ठभूमिमा आफ्नो राष्ट्रिय पहिचान बोकेर विश्वमञ्चमा उभिनुलाई उनले अर्थपूर्ण मानेका छन्। उनको दृष्टिमा रेकर्ड आफैँ गन्तव्य होइन। यो अझ गहिरो सन्देश विश्वभर पुर्‍याउने माध्यमको एक सुरुवाती चरण हो। मातृभूमिप्रतिको गहिरो माया हो। सिड्नी म्याराथनमा विश्वका १४० राष्ट्रहरूबाट ४०,००० धावकहरूको सहभागिता थियो। जसमध्ये भण्डारीको नाम गिनिज बुक अफ विश्व रेकर्डमा लेखिनु कम महत्वको विषय होइन।

आई टी ई अभियानले मानिसलाई प्रकृतिको काखमा जान प्रेरित गर्दै छवटा प्रमुख क्षेत्रमा काम गर्ने लक्ष्य राखेको छ—प्रकृतिबाट मानसिक शान्ति र उपचारको अनुभूति, समुदाय निर्माण तथा सामाजिक सम्बन्ध, स्वास्थ्य र समग्र कल्याण, प्रकृतिबाट प्रेरित उत्पादकत्व, नेतृत्व विकास र वातावरण संरक्षण।

अभियानले सिक → विकास गर → नेतृत्व गर → रूपान्तरण गरेको ढाँचा अघि सारेको छ। यसको उद्देश्य प्रकृतिसँग जोडिएर सिक्ने, व्यक्तिगत रूपमा विकास गर्ने, नेतृत्व गर्न सिक्ने र अन्ततः समाज तथा वातावरणमा सकारात्मक परिवर्तन ल्याउने हो।

रूख रोप्ने, जलवायु परिवर्तन न्यूनीकरणमा योगदान गर्ने, स्वच्छ पानीका लागि अभियान चलाउने, लिभ अन ट्रेकको अवधारणा प्रवर्द्धन गर्ने, प्लास्टिक प्रयोग घटाउने तथा वातावरणीय दिगोपनबारे शिक्षा दिने विषयलाई पनि अभियानले प्राथमिकतामा राखेको छ।

पछिल्ला करिब साढे तीन वर्षमा करिब ८५० जना मानिस आई टी ईका प्रकृतिमा आधारित गतिविधिसँग जोडिएको भण्डारीको दाबी छ। यसले व्यक्तिगत अनुभवबाट सुरु भएको अभियान समुदायस्तरमा विस्तार हुँदै गएको देखाउँछ।

भण्डारीले सात महादेशका अग्ला चुचुराहरू आरोहण गर्ने अभियान पनि अघि बढाइरहेका छन्।हालसम्म उनीले किलिमान्जारो, अफ्रिकक-तान्जेनिया; भिन्सन मासिफ, अन्टार्कटिका; मोन्ट ब्लान्क, युरोप, प्रान्/इटली; माउन्ट कोसिअस्को, अस्ट्रेलिया, ओसियाना; अकोनकागुआ दक्षिण अमेरिका, अर्जेन्टिना ;पूरा भइसकेका छन्।

अब डेनाली, संयुक्त राज्य अमेरिका र सगरमाथा, एसिया,नेपाल; बाँकी छन्।

त्यसैगरी सिकागो, न्यूयोर्क र लन्डन म्याराथन पूरा गरिसकेका उनले बर्लिन् म्याराथन सेप्टेम्बर २७, २०२६ का लागि तय गरेका छन्। टोक्यो म्याराथन २०२७ मा गर्ने योजना छ भने बोस्टन मेरा थान अझै बाँकी छ। सिड्नी म्याराथन भने विश्व प्रमुख दौडको आधिकारिक सूचीभन्दा बाहिरको छुट्टै उपलब्धि हो।

यस यात्रासँगै विस्थापित तथा स्रोतसाधनको अभावमा रहेका विद्यार्थीका लागि अवसर सिर्जना गर्ने अरनिको इनडाउनमेन्ट/छात्रवृत्ति कार्यक्रमलाई पनि उनले अघि सारेका छन्। यस कार्यक्रम अन्तर्गत हालसम्म नेपालका एक जना विद्यार्थीले छात्रवृत्ति पाउने गरेका छन्। निकट भविष्यमा यसमा संख्या बढाइने उनले जानकारी दिए।

सन् १९८३ मा भुटानको दागाना जिल्लाको सल्लेरी ब्लकस्थित पासेबुङ गाउँमा जन्मिएका उनी भुटानलाई आफ्नो जन्मभूमि र पुर्ख्यौली पहिचानका रूपमा सम्झन्छन्। त्यसपछि उनको जीवन नेपालका शरणार्थी शिविरमा पुग्यो। बेलडाँगी–१ शरणार्थी शिविरको सेक्टर इ टु, छाप्रो नं. १९० मा बितेको बाल्यकाल विस्थापन र पहिचानको सङ्कटसित जोडिएको थियो।

पुनर्वास पछि अमेरिकाको नागरिक हॅुदै हाल पेन्सिलभेनिया मेकानिस्बर्गको बसाई र पहिचानको निश्चिततासित जोडिएका पर्वतारोही र धावन कार्यहरू पहिचानका साधन बनेका छन्। अझ ३० अगस्त २०२६ मा सम्पन्न म्याराथनले त गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पहिचान सहितको नाम दर्ता गरेको छ।

शरणार्थी शिविरमा हुर्किने बालबालिकाले स्थायी घर, निश्चित भविष्य र आफ्नो जीवनमा प्रभाव पार्ने निर्णयमाथि नियन्त्रण नहुँदा पहिचान सङ्कटको गहिरो सामना गर्नुपरेको भण्डारीको अनुभव छ। भण्डारीको जीवन कथा उनी जस्तै संसारभरका समग्र शरणार्थीहरूका निम्ति प्रतिनिधि घटना हो ।

सन् २००९ मा संयुक्त राज्य अमेरिकामा पुनर्वास भएपछि उनको जीवनले अर्को मोड लियो। शिक्षा, व्यावसायिक विकास र व्यवसाय निर्माणसँगै अमेरिकालाई उनले आफ्नो वर्तमान घरका रूपमा विकास गरे। एसएनएचयू तथा ह्वार्टन कार्यकारी कार्यक्रम लगायतका शैक्षिक अनुभवले उनको व्यक्तिगत र व्यावसायिक यात्रालाई थप फराकिलो बनायो।

यसैबीच, जन्मले भुटानी ह्लोत्साम्पा , संस्कृतिले नेपालीभाषी र वर्तमान जीवनले अमेरिकी—यी पहिचान एकअर्काका प्रतिस्पर्धी नभई एउटै जीवनका विभिन्न तह भएको उनको दृष्टिकोण र एकअर्काका परिपूरक हुन।

उनको सन्देश सरल छ—जीवनले मानिसलाई जहाँसुकै विस्थापित गरे पनि उसका जरा ऊसँगै यात्रा गर्छन्। आफ्नै जीवनलाई परिवर्तन गर्न चालिएको एउटा कदम अर्को व्यक्तिका लागि सम्भावनाको ढोका बन्न सक्छ।

सिड्नीमा कायम भएको गिनिज विश्व रेकर्ड यही यात्राको एउटा चम्किलो अध्याय हो। भण्डारीका लागि वास्तविक गन्तव्य रेकर्ड होइन—स्वास्थ्य, प्रकृति, नेतृत्व, समुदाय, वातावरण र अवसरबाट वञ्चित मानिसका लागि आशाको बाटो निर्माण गर्नु हो।

समाचार शेयर गर्नुहोस्
81
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.