यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता

61
SHARES

भैरहवा – सिद्धार्थनगर नगरपालिका–४ का वडाध्यक्ष मुक्तिनाथ यादव ‘भोला’ले आफ्नो वडामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि आगामी बजेटमा आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

समावेशी मञ्च नेपालका प्रदेश समन्वय अधिकारी विनोद बिसी र एफएसटीपी रुपन्देहीका किरण गुरुङसँगको भेटघाटका क्रममा वडाध्यक्ष यादवले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई लक्षित कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रस्तावना तयार गरी ल्याउनसमेत आग्रह गरे।

वडाध्यक्ष यादवले आफ्नो वडामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि विशेष कार्यक्रम आयोजना गर्ने बताउँदै उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाभित्र बसोबास गर्ने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिका साथै वडाका जनप्रतिनिधिहरूलाई समेत सहभागी गराउने जानकारी दिए।

उनले समावेशी मञ्च नेपालका प्रदेश समन्वय अधिकारी विनोद बिसीसँग विगतदेखि नै विभिन्न सामाजिक विषयमा सहकार्य हुँदै आएको स्मरण गर्दै आफू पहिलोपटक निर्वाचनमा उम्मेदवार बनेदेखि नै बिसी र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबाट निरन्तर साथ र सहयोग प्राप्त भएको बताए।

“निर्वाचनका क्रममा समुदायले गरेको सहयोग म कहिल्यै बिर्सने छैन,” वडाध्यक्ष यादवले भने, “आगामी दिनमा पनि समुदायका सवालमा सहकार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउनेछु।”

भेटघाटका क्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अधिकार, स्थानीय तहको नीति तथा कार्यक्रममा समावेशिता र समुदायमैत्री कार्यक्रम सञ्चालनका विषयमा समेत छलफल भएको समावेशी मञ्च नेपालले जनाएको छ। आगामी दिनमा वडा कार्यालय र सम्बन्धित समुदायबीच समन्वय तथा सहकार्यलाई निरन्तरता दिने विषयमा समेत जोड दिइएको छ।

समाचार शेयर गर्नुहोस्
61
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.