संयोग के छ भने शकुन्तला सुब्बा (राना) र निर्मला भट्टराई (खतिवडा) उमेरका समयवी हुन्। एकजना मलेसियाको सेरेम्बान र अर्की आजको मधेश प्रदेशको सप्तरी, घोघनपुरमा जन्मेकी। शकुन्तलाको जन्म २०११ मंसीर र निर्मलाको जन्म २०१८ वैशाख। तर, छोरीको जन्म–कर्मको कुरा नौलो होइन, आँधीहुरीको वेगझैँ हुन्छ– कताबाट कता।
जोडिन आएको अर्को संयोग के छ भने, यी दुवै झापाको दमकमा रहेका दुई सरकारी विद्यालयमा गुरुआमा बनेका छन्, शकुन्तला ४ दशकसम्म र निर्मला ३ दशकभन्दा बढी। शकुन्तला २०७१ मंसीरमा अवकाश र निर्मला २०८२ साउनमा सेवानिवृत्त। यो गणनामा कसले के विषय पढाए, कसरी पढाए वा किन पढाए भन्ने कुरा गौण हो। तर, दुई नारीको जीवनयात्रामा जोडिएको सङ्घर्ष, घरपरिवार झञ्झावात र सामाजिक ‘ट्याबु’का माझ उनीहरूले गरेको कर्म साधनाको अर्थ भिन्न छ, महत्त्व भिन्न छ।
फेरि पनि जोडिन आएको अर्को संयोग के छ भने, यी दुवै गुरुआमाले आफू सेवानिवृत्त भएपछि हालै प्रकाशनमा ल्याएको दुई कृति यतिखेर चर्चामा छाएको छ। विद्यालयमा गुरुआमाको तालिका रहिन्जेलको बेफुर्सदी र धपेडीलाई पन्छाउँदै दुवै शिक्षिकाले ल्याएको कृतिमा समेटिएको सन्दर्भ तथा डायरी जस्तो कथानकका कारण शकुन्तला–निर्मला दुबैजना यतिखेर चर्को बहसमा छाएका छन्। कम्तिमा पनि मोफसलको साहित्य र पुर्वान्चलको सृजनशील जगतमा दुई गुरुआमाहरू राम्रैसँग खोजतलासमा परेका छन्।
*
दुइमध्ये उमेर र अनुभवमा अलिक परिपक्व शकुन्तला राना सुब्बाको स्मृति–कृति ‘शकुनमाला’ प्रस्तुतिका हिसाबमा अलिक भिन्न छ– एउटै कृतिमा गीत र संस्मरणको खण्डले जोडजाड गरिएको। सेर्गेम प्रकाशन गृह, दमकले प्रकाशन गरेको ‘शकुनमाला’मा मलेसियामा जन्मेकी एक शिक्षिकामा रहेका नृत्य, गायन, रचनाका विविध आयामबारे चर्चा गरिएको छ। यी स्रष्टा जसले दमक, झापाकै हिमालय माध्यमिक विद्यालयमा झन्डै ४ दशक लामो आफ्ना उमेर शकुन्तला गुरुआमाको परिचयमा बिताएकी छिन्। नेपाल स्काउटमा पनि उत्तिकै सक्रिय शकुन्तला जन्मेको समय र कालखण्ड हेर्दा एउटी महिलाको पारिवारिक र सामाजिक जीवनको कल्पना गर्न सकिन्छ।
शकुन्तला गुरुआमाको जीवनमा विविधता छ, सङ्घर्ष र यात्रामा पनि विविधता छ। मलायाको लाहुरे बुबाको पृष्ठभूमिमा मलेसियामा जन्मिएर पछि कर्म र पारिवारिक थातथलो पहिल्याउने क्रममा नेपालगन्ज, बीरगंजसम्मको यात्रा सम्पन्न भएको देखिन्छ। वीरगन्ज क्याम्पसमा पढ्दै गर्दा दमक, झापा घर भएका सुब्बा थरका युवकसँग प्रेममा उनिएर शकुन्तलाको जीवनले अर्कै मोड लिएको थियो। यसकारण पनि ‘शकुनमाला’ एउटी महिलाको जीवन यात्रा र सङ्घर्षका रूप–प्रतिरूप केलाउन एकदमै रोचक छ र, भिन्न पनि छ। ‘शकुनमाला’को पहिलो खण्डमा शकुन्तला गुरुआमाले रचेका राष्ट्रिय भावनाका झङ्कारदेखि प्रणय गीतका शब्दावलीसम्मले भरिएको छ।
*
दुई गुरुआमामध्ये उमेर र अनुभवमा अलिक कान्छी निर्मला भट्टराईको ‘स्मृतिको सेरोफेरो’ आत्मकथात्मक गैर आख्यान विधाको अब्बल कृति बनेको छ। बुकमार्क पब्लिकेशनले प्रकाशित गरेको यो लघु पुस्तकका १५ शीर्षकमा लेखक निर्मलाले सिङ्गो जीवन–जगत् र आफ्नै जीवन यात्राको आरोह–अवरोहलाई समेटेकी छिन्, संस्मरण शैलीमा।
सप्तरी जिल्लाको सीतापुर गाउँबाट सुरु भएको आफ्नो जीवन यात्रामा त्यो गाउँको परिवेश, रहनसहन तथा पारिवारिक यथास्थितिको राम्रोसँग चरित्र चित्रण गरिएको छ। आफ्नै परिवारमा छोराको चाहना गरेकै भरमा एउटी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती बिहे गर्नुको दृष्यचित्र जति कारुणिक देखिन्छ, त्योभन्दा बढी यही दृष्यचित्रले नेपाली समाजमा एउटी छोरीको स्थान के रहेछ भन्ने स्पष्ट सङ्केत गर्छ। लेखक निर्मलाकी आफ्नै आमा र ठूली आमाले गरेको सङ्घर्ष र भोग्नुपरेको पिडाको बयान यहाँ गर्ने हो भने ‘धर्तीरुपी नारी’को अर्को (थप) व्याख्यान आवश्यक नपर्न सक्छ।
निर्मला २० हुँदा बुबाको देहान्त भएको र त्यसमाथि तीन महिने गर्भवती आमाको पीडादायी दैनिकीको साक्षी आफू बस्नुपरेको यो पीडालाई पाठक भएर टाढै बसेर पढ्न पनि त्यत्तिकै मुस्किल छ। अहो कत्रो बज्रपात! स्रष्टा स्वयमले आफ्नी आमा सुत्केरी व्यथामा तड्पिएको देखेकी मात्रै छैनन्, बरु त्यसरी कष्टप्रद र बेसहारा स्थितिमा जन्मिएको सन्तान (भाइ)लाई आमाले ‘देउता’ भन्दै पुकारेको क्षणको साक्षी समेत बनेकी छिन्।
सप्तरीको भित्री गाउँ (देहात) मा जन्म–कर्म भएपनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने मान्यताका आमाबाबु र आफन्तको भरोसामा लेखक निर्मलाले अक्षरको उज्यालो बोध गर्न पाएकी थिइन्। त्यही शिक्षादीक्षा र पढाइकै कारण अर्को शिक्षित परिवारसँग आफ्नो जीवनको नाता–सम्बन्ध जोडिएको यथार्थलाई लेखकले खुलेर लेखेकी छिन्।
झापा, दमकको भट्टराई पण्डित परिवारका छोरासँग घरजम गरेपछि पनि बिशेषत ससुरा बुबा (पण्डित टेकनाथ)को सहमति र आग्रहमा पडाइलाई जारी राख्न पाएको क्षणप्रति कृतज्ञता जनाउँदै त्यही प्रभावका कारण आज आफूलाई मनमा लागेका भावना यसरी शब्दमा पोख्न पाएको आत्मबोध लेखक निर्मलाले उतारेकी छिन्। त्यही क्रममा २०४४ सालदेखि दमक, झापाकै भृकुटी प्राथमिक विद्यालय(तत्कालीन)मा शिक्षक रूपमा कार्यरत रहेर जीवनको सिकाइ र बुझाइलाई थप परिष्कृत गर्न मौका पाएकोबारेमा लेखक निर्मलाले पठनीय शैलीमा ‘स्मृतिको सेरोफेरो’मा उतारेकी छिन्।
लेखक निर्मलाले विभिन्न अवसरमा आफूले भ्रमण गरेका स्थानहरूको परिचय, पारिवारिक माहोल र रमझमबारे पनि खुलेर व्याख्या गरेकी छिन्। त्यसमा पनि साहित्यिक सत्सङ्ग पाएर उपन्यासकार डा.गोविन्दराज भट्टराई, लेखक डा.अञ्जना भट्टराईसहितको टोलीमा घरआँगनबाट बाहिर निस्किन पाएको क्षणलाई निर्मलाले बाहिरी जगतसँगको साहचर्य अवसर भनेर लेखेकी छिन्।
यदि आफूमा इच्छाशक्ति भयो र घरपरिवारको साथ रह्यो भने घर, समाज र परिवार सबैलाई सन्तुलनमा राखेर आफ्नो पहिचान बनाउन सकिँदो रहेछ भन्ने उदाहरणका रूपमा लेखक निर्मला उदाएकी छिन्। यही स्वरूप र पहिचानमा अर्की लेखक शकुन्तला सुब्बा पनि झापाली भावभूमीमा छाएकी छिन्।
यसरी एउटै परिवेशमा एउटै पेशामा संलग्न भएका दुई नारीले गरेको सङ्घर्षको कथा पढ्न पाउँदा भिन्न अनुभूति पलाउन सक्छ। सामान्यतया ‘अवकाश’ भन्ने शब्दावलीलाई हामी धेरैले आफैँमा निराशाजनक र नकारात्मक अर्थमा प्रयोग गर्ने गरेका छौँ। तर, यही समान अर्थको जापानी कृति ‘इकिगाई’ पढेपछि मैँले थाहा पाएकी थिएँ, यो आफैँमा निराशाजन्य शब्द होइन। बरु जीवनको एक अध्यायबाट अर्को अध्यायमा प्रवेश गर्ने एउटा खुड्किलो मात्रै हो– रिटायर्डमेन्ट। बरु जीवनको अघिल्लो चरणमा गर्न नसकेका, नभ्याएका र नपाएका कामहरूलाई पुरा गर्ने समय (क्षण) आइपुगेको एउटा अपूर्व समय मात्रै हो।
दुवै गुरुआमालाई लेखन र सृजनाको अग्रगामी शुभकामना!
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.