काठमाडौँ – रसुवाको भोटेकोशी बाढी प्रभावितहरूको पहिचान गर्न समस्या भएको छ। बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको थुप्रो लाग्दा वितरणमा कठिनाइ भएको छ। देश–विदेशबाट प्रभावित क्षेत्रमा राहतको ओइरो लागेको छ।
तर, प्रभावितहरूको पहिचान हुन नसक्दा राहत वितरणमा कठिनाइ भएको देखिएको छ। बाढीले बगाएका आफन्त फेला पार्न नसक्दाको पीडासँगै आफू प्रभावित भएको प्रमाणित गराउन नपाउँदा राहत पाउनबाट वञ्चित हुनुपरेको गुनासो सुनिएको छ।
त्रिशूली हाइड्रोपावरमा कार्यरत हर्कराज तामाङको परिवारले उनको खोजी गरिरहेको छ। भदौ १० गते बाढीले बगाएका तामाङ फेला नपर्दा परिवार पीडामा परेको छोरी तीर्थमाया तामाङले बताइन्। उनी बुबाको खोजीसँगै राहतका लागि नुवाकोटको विदुर नगरपालिकामा धाइरहेकी छन्।
बाढी प्रभावितहरूको तथ्याङ्क सङ्कलनमा पनि समस्या परेको छ। बाढीले तहसनहस पारेको स्थानीय तहमा तथ्याङ्क लिनै मुस्किल पर्दा पीडितको आवश्यकता पूरा गर्न समस्या भएको छ। बाढीले खेत बगाए पनि भाग्यले बाँचेकी अम्बिकाले तत्कालको आवश्यकता खानेपानी भएको बताइन्। आँखै अगाडि दुई जनालाई बाढीले बगाएको उनले सुनाइन्।
बाढी प्रभावित स्थानीय तहमा राहतको चाङ लागेको छ। प्रभावितहरूको नाम सङ्कलनदेखि आवश्यकताअनुसार राहत वितरणको काम भइरहेको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए। तर, बाढी प्रभावितहरू अन्योलमा छन्। एक बोरा चामल, एक बक्सा चाउचाउ, नुन, तेल पाउनका लागि समेत आफू प्रभावित भएको प्रमाणित हुनुपर्ने बाध्यतामा रहेको उनीहरूको गुनासो छ।
सक्कली पीडितको नाममा नक्कलीले राहत नबुझुन् भन्नेमा सचेत रहेको प्रभावित क्षेत्रका पालिकाका प्रतिनिधिहरू बताउँछन्। बस्ने घर नै बगाएका प्रभावितहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ। खानेकुरा भए पनि लामखुट्टेको टोकाइबाट जोगाउन धौधौ परेको छ।
प्रभावित क्षेत्रमा रोगब्याधी फैलिएको नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बताए। सरकारको उद्धार कार्य व्यवहारिक र प्रभावकारी हुन नसकेको आरोप सांसद केसीले लगाए।
रोगब्याधीबाट बचाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटको सुझावअनुसार आर स्टार फाउन्डेसनको सहयोगमा काभ्रेको पाँचखाल नगरपालिकाका रवीन्द्र सिटौलाले २ हजार थान झुल प्रभावित क्षेत्रमा हस्तान्तरण गरेका छन्।

चार–पाँच जनाको परिवारलाई पुग्ने मेडिकेडेड झुल विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलाई सिटौलाले हस्तान्तरण गरे। खाद्यान्न सहयोग पर्याप्त मात्रामा पुगेको देखिए पनि लामखुट्टे लगायतका अन्य विषालु किराको टोकाइबाट बच्न आवश्यक सामग्री नपुगेको सिटौलाले बताए। होल्डिङ सेन्टरमा आवश्यक देखिएको मेडिकेडेड झुल आर स्टार फाउन्डेसनको सहयोगमा प्रदान गरिएको सिटौलाले बताए।

सरकारले स्थानीय तहहरूलाई प्रभावितहरूको माग र आवश्यकताको विवरण पठाउन ताकेता गरिरहेको जनाएको छ। उनीहरूको बसोबासको व्यवस्थाका लागि सरकारले जग्गा खोजी गरिरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए।
राहत तथा पुनःस्थापनाका कार्यक्रम घोषणा भए पनि प्रभावितहरू कष्टकर जीवन बिताउन बाध्य छन्। उनीहरूको यकिन विवरणसमेत स्थानीय तहबाट माग गरिएको सरकारका प्रवक्ता पोखरेलले बताए।
प्रभावितहरूले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यक्षमतामाथि भने प्रश्न गरेका छन्। कोठे बैठकमा व्यस्त बनेको आरोप वालेनमाथि लागेको छ। जसलाई सरकारको नेतृत्व गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ओठ–मुख सुकाएर बचाउ गरेका छन्।
रास्वपा सभापति लामिछानेले सरकारको कामलाई सुनपानी छर्कने प्रयास गरे पनि वास्तविकता भने फरक रहेको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए। भोटेकोशी बाढीमा सिंहदरबार बन्धक बनेको राउतले सुनाए।
रास्वपा सांसद धनञ्जय रेग्मीले रसुवाको भोटेकोशी बाढीलाई २०७२ सालको भूकम्पसँग जोडेर अपव्याख्या गर्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बाढी जलवायु परिवर्तनका कारण आएको भन्दै तथ्य र वैज्ञानिक अनुसन्धानमा आधारित डाटा लिएर प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घ महासभामा कुरा राख्नुपर्ने सांसद रेग्मीले सुझाव दिए।
सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा गठित समितिमा डा. नरेन्द्रमान शाक्य, डा. रिजनभक्त कायस्थ, डा. उत्तमबाबु श्रेष्ठ, डा. मेघराज धिताल, डा. हरि पण्डित र अनिल पोखरेल सदस्य छन्।
समितिले बाढीको उद्गमस्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने भनिएको छ। यसअघि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रारम्भिक अध्ययन गरेको थियो। प्रारम्भिक अध्ययनमा हालसम्म रसुवा बाढीको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपद् सुरु भयो र ती प्रक्रिया कसरी ल्हेन्दे–भोटेकोशी नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त वैज्ञानिक प्रमाण भेटिएको छैन।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.