समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगीबारे आम मानिसको बुझाईमा एक रुपता पाईंदैन । बुझेकाले पनि महिला, पुरुषसँगै तेस्रोलिंगी भनेर सम्बोधन गर्छन । तर तेस्रोलिंगीमा पनि महिला तेस्रोलिंगी र पुरुष तेस्रोलिंगी हुन्छन भन्ने जानकारी राखेका हुँदैनन ।

यस्तो अवस्थामा समाजलाई उनीहरुको अधिकारबारे बुझाउनु चानचुने कुरा थिएन । यति मात्रै होइन यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी) हरु प्रति समाज र नेपाली सञ्चार माध्यमको पनि उति सकारात्मक दृष्टिकोण थिएन । फरक यौनिक पहिचान भएका व्यक्तिका अधिकारका बारेमा नेपालका राष्ट्रिय सञ्चार माध्यमले प्राथमिकता दिइरहेको अवस्था थिएन ।

यो अभावले नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यकहरु सहित सम्पूर्ण अल्पसंख्यक समुदायको  बिषयमा समाजमा पर्याप्त बहस, छलफल हुन नसक्दा यसले उनीहरुको अधिकारको विषय ओझेलमा परिरहेको थियो । यहि आवश्यकतालाई मध्यनजर गर्दै पहिचान मिडियाले पहिचान अनलाईन सञ्चालनमा ल्यायो । घर, परिवार, समाज र राज्यकै दृष्टिकोण सकारात्मक नहुनु, मानव भएर बाच्न नदिने मानवअधिकार विरुद्धको कार्य रोकिनु पर्छ भन्ने काममा पहिचान अनलाईनले आवाज बुलन्द गरिरहेको छ ।

यो पहिचान अनलाईन यौनिक तथा लैंगिक अल्पसंख्यक सहित सम्पूर्ण अल्पसंख्यक समुदायको बारेमा समाचार र विचार पस्कने नेपालको एक मात्र अनलाइन हो । पहिचान अनलाइनले सन् २०१३ देखि नियमित रुपमा यौनिक तथा लैंगिक अल्पसंख्यक सहित सम्पूर्ण अल्पसंख्यक समुदायका सूचना, गतिविधि, विचार, पीडा, बेदना, खुशी लगायतका सन्देशमुलक समाचार, सामग्री प्रकाशन गर्दै आएको छ । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा हुने यो समुदायका गतिविधि, अल्पसंख्यक समुदायका व्यक्तिलाई हेर्ने दृष्टिकोण, सामाजिक, राजनीतिक, आर्थिक अवस्थामा हरेक क्षेत्रमा कार्यरत प्रतिष्ठित व्यक्तिको धारणालाई समाचार या विचारको रुपमा पहिचान अनलाइनले स्थान दिंदै आएको छ ।

पछिल्लो समय यौनिक तथा लैंगिक अल्पसंख्यक सहित सम्पूर्ण अल्पसंख्यकका भिडियो सामग्री समेत पहिचान मिडियाको आफ्नै युट्युव च्यानलमा अपलोड हुँदै आएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक सहित सम्पूर्ण अल्पसंख्यकका बिषयमा रेडियो, टेलिभिजन लगायतका सञ्चार माध्यमबाट तपाईका पनि कुनै सामग्री प्रकाशन, प्रसारण गर्नु परेमा पहिचान मिडियालाई पठाउनसक्नु हुन्छ । यौनिक तथा लैंगिक अल्पसंख्यक सहित सम्पूर्ण अल्पसंख्यकको मात्रै समाचार र विचार पस्कदै आएको पहिचान अनलाइनका सामग्री प्रकाशन तथा प्रसारण गर्नु भएमा अन्यथा नमानी श्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौ ।