सगरमाथा र सौर्य विरुद्ध गाली/बेइज्जती मुद्धा दर्ता

सगरमाथा र सौर्य विरुद्ध गाली/बेइज्जती मुद्धा दर्ता

  • शुक्रबार, माघ १२ २०६९

पहिचान/काठमाडौ, माघ १२ – व्यक्तिगत चरित्र हत्या हुने गरी समाचार प्रसारण र प्रकाशन गरेको दावी सहित जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता भएको छ । काठमाडौंबाट प्रसारण हुँदै आएको सगरमाथा टेलिभिजन र काठमाडौंबाटै प्रकाशन हुँदै आएको सौर्य दैनिक विरुद्ध अदालतमा मुद्धा दर्ता भएको हो ।

जिल्ला अदालत काठमाडौंमा शुक्रवार दर्ता भएको मुद्धामा सगरमाथा टेलिभिजनसँग नील हिरा समाजको कुनै सम्वन्ध र सरोकार नभएको तर सूचनाको हक अनुसार समाचार सम्प्रेषण गर्ने भनि टेलिभिजनद्धारा संचालित खोजखवर कार्यक्रममा निरन्तर समाजका विरुद्धमा गलत र भ्रामक समाचार सम्प्रेषण गर्दै आएको उल्लेख छ ।

सगरमाथा टेलिभिजनले हुँदै नभएको विषयलाई लिएर संस्थाका पदाधिकारी र समूदाय समेतलाई गालि बेइज्जती गर्ने काम गरेको अदालतमा दर्ता भएको मुद्धामा उल्लेख छ । मुद्धामा अहिले पनि विपक्षीहरुले (सगरमाथा टेलिभिजन) समलिङ्गीको आँशु बेच्ने एक चर्चित तर भ्रष्ट र निर्दयी अनुहार भनि समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तको बारेमा कार्यक्रम प्रशारण गरिरहेको भन्दै यो काम गालि बेइजजती ऐन २०१६ को दफा ३ बमोजिम हुँदा अन्यायमा परि म्यादभित्र सम्मानित अदालत समक्ष यो फिरादसाथ उपस्थित भएका छौ भनिएको छ ।

यसले नील हिरा समाज र पदाधिकारीको सामाजिक मान प्रतिष्ठामा आँच पुर्याउने काम भएको र यो काम गालि बेइज्जती ऐन २०१६ को दफा ३ बमोजिम भएको हुँदा यही ऐनको दफा ७ बमोजिम विपक्षीहरुलाई हदैसम्मको सजाय गरी गालि बेइज्जती ऐनको दफा १२ बमोजिम उचित क्षतिपूर्ति एवं मुद्धा दर्ता गर्दा लागेको खर्च समेत दिलाई पाउँ भनिएको छ ।
यस्तै सौर्य दैनिकले २०६९ साल कार्तिक ४ गते नील हिरा समाज भित्र लाजमर्दो कुरा शिर्षक दिई संस्था र कार्यकारी निर्देशक तथा पदाधिकारीहरुका विरुद्ध तथ्यहिन र भ्रामक समाचार सम्प्रेषण एवं प्रकाशन गरेको भन्दै मुद्धा दर्ता गरिएको छ । सौर्य दैनिकले अत्यन्त आपत्तिजनक, असत्य, लाजमर्दो, तथ्यहिन, भ्रामक र गलत समाचार पत्रिकामा प्रकाशन गरेको भन्दै नील हिरा समाजले जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको अधिवक्ता सुजन पन्तले जानकारी दिनुभयो ।

मुद्धामा नेपालको अन्तरिम संविधान २०६३, नेपाल पक्ष राष्ट्र भएको मानवअधिकार सम्वन्धि दस्तावेजहरु लगायतले प्रदान गरेको हामीहरु सम्मानपूर्वक बाँच्न पाउने नैसर्गिक मानवअधिकारको समेत विपक्षीहरुले (सौर्य दैनिक) उल्लघंन गरी अन्यायमा पारेका उल्लेख छ । यो काम अन्तरिम संविधान २०६३, नेपाल पक्ष भएको मानवअधिकार सम्वन्धि कानुन एवं गालि बेइज्जती ऐन २०१६ को दफा ३ बमोजिमको कार्य भएको हुँदा यही ऐनको दफा ५ बमोजिम विपक्षीहरुलाई हदै सम्मको सजाय गरी गालि वेइज्जती ऐनको दफा १२ बमोजिम उचित क्षतिपूर्ति एवं मुद्धा दर्ता गर्दा लागेको खर्च समेत भराई पाउन मुद्धामा माग गरिएको छ ।

सगरमाथा टेलिभिजन र सौर्य दैनिकले पटक पटक भ्रामक, कपोलकल्पित, व्यक्तिगत चरित्र हत्या गर्ने काम गरिरहेकाले बाध्य भएर न्यायका लागि अदालतमा मुद्धा दर्ता गरेको समाजले बताएको छ । मुद्धामा सगरमाथा टेलिभिजनका व्यवस्थापक, खोजखवर कार्यक्रमका प्रस्तोता तथा उत्पादक नारायण तिमिल्सिना र खोजखवर कार्यक्रमका सम्वाददाता सरल गुरुङलाई विपक्षी वनाइएको अधिवक्ता सुजन पन्तले जानकारी दिनुभयो । यस्तै सौर्य दैनिकका प्रधानसम्पादक बोधराज त्रिपाठी र सम्वाददाता टेकराज थामीलाई विपक्षी बनाइएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading