सरकारले ल्यायो चार खर्बको बजेट, चुनावलाई १४ अर्ब

सरकारले ल्यायो चार खर्बको बजेट, चुनावलाई १४ अर्ब

  • मंगलबार, चैत्र २७ २०६९

पहिचान/ काठमाडौं, चैत २७ – सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ४ अर्ब ८२ करोड रुपैयाँको पूर्ण बजेट सार्वजनिक गरेको छ । सरकारले सिफारिस गरेका बजेट सम्बन्धी तीन वटा अध्यादेश राष्ट्रपति डा. रामबरण यादवले स्वीकृत गरेपछि अर्थमन्त्री शंकर प्रसाद कोइरालाले आर्थिक वर्ष २०६९ ७० को बजेट सार्वजनिक गरे ।

बजेटमा चालु खर्चका लागि २ खर्ब ७९ अर्ब १ करोड १२ लाख रुपैयाँ र पूँजीगत तर्फ ६६ अर्ब १३ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा संविधान सभा चुनावका लागि १४ अर्ब रुपैयाँ छुट्याइएको छ । जसमा निर्वाचन आयोगका लागि ६ अर्ब र चुनाव सुरक्षा खर्चका लागि ८ अर्ब रुपैयाँ छ । निर्वाचन आयोगले सरकारसँग ७ अर्ब मागेको थियो ।

अर्थमन्त्री कोइरालाले बजेट चुनाव, शान्ति सुरक्षा र महत्वपूर्ण भौतिक आयोजनामा केन्द्रीत रहेको बताए ।

बजेटका लागि राजश्वबाट २ खर्ब ८९ अर्ब संकलन हुने र वैदेशिक अनुदानबाट ४६ अर्ब ९८ करोड उठ्ने सरकारको अनुमान छ । बाँकी वैदेशिक र आन्तरिक ऋणबाट व्यवस्था गरिने मन्त्री कोइरालाले जानकारी दिए ।

नयाँ सरकारले यो आर्थिक वर्षको पूर्ण बजेट प्रस्तुत गरेपनि करका दर र नीति तथा कार्यक्रम भने पुरानै हुन् । त्यसैले बजेटले जनअपेक्षा संबोधन गर्ने भन्दा पनि विकास निर्माणको निरन्तरता र संचालनमा रहेका आयोजना तथा कार्यक्रममा जोड दिएको छ ।

यो वर्षकै असार ३१ र मंसिर ५ गते आएको बजेट राजश्व र व्ययको अनुमान सहित आएको थिएन । तर आर्थिक वर्ष सकिन झण्डै ३ महिना मात्रै बाँकी रहँदा आएको यो पूर्ण बजेटले लक्ष्य पनि सानै मात्रै राखेको छ । ३ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने बजेटको लक्ष्य छ ।

चुनावलाई पहिलो प्राथमिकता, त्यसपछि कृषि

संविधानसभा चुनाव आर्थिक वर्षभित्रै हुन्छ कि हुन्न, सन्देहमा रहेको बेला बजेटले चुनाव सम्पन्न गर्न भनेर ठूलो रकम बिनियोजन गरेको छ । चुनाव पछि बजेटले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

बजेटले किसानलाइ केही राहत हुने गरी सम्बोधन गर्ने प्रयास गरेको छ । उर्जा र यातायात, पर्यटन, पूर्वाधार, उद्योग, सिंचाई, सडक, सूचना प्रविधिको विषयलाई पनि बजेटले प्राथमिकतामा राखेको छ ।

यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको पूर्ववर्ती सरकारले दुईपटकमा एक तिहाई र दुई तिहाई गरि पूरक बजेट ल्याएको थियो ।

सरकारले सार्वजनिक गरेको बजेटको पूर्ण पाठ पढ्नुहोस् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.