चीन र भारतलाई मिलेर लगानी गर्न आग्रह

चीन र भारतलाई मिलेर लगानी गर्न आग्रह

  • शुक्रबार, बैशाख ६ २०७०

काठमाडौं, ६ बैशाख । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीन र भारत मिलेर नेपालको जलविद्युतमा लगानी गर्न चीनियाँ राष्ट्रपतिसँग आग्रह गरेको बताएका छन् । चीनिया राष्ट्रपति सी चिनफिङसँगको आफ्नो भेटले नेपाल र चीनबिचको सम्बन्धमा नयाँ अध्याय थपेका उनले यस्तो बताएका हुन् ।
चीनियाँ राष्ट्रपतिसँगको भेटपछि चिनियाँ पत्रिका ग्लोबल टाइम्सलाई अन्तरवार्ता दिँदै दाहालले चीनिया राष्ट्रपतिसँगको भेटमा आफुले नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराएको र नेपालमा चीनिया लगानी बढाउन आग्रह गरेको जानकारी दिएका छन् ।
दाहालले नेपालको ठूला जलविद्युत तथा सडक परियोजनामा चीन र भारतले संयुक्त लगानी गरेर सहकार्य गर्दै नेपालको विकासका लागि सहयोग गर्नसक्ने अन्तरवार्तामा बताएका छन् ।
चीनले नेपालमा लगानी बढाएर आफ्नो प्रभाव बढाउँदै गएको आलोचना हुने गरेपनि चीनले नेपालमा गर्ने लगानी दुई देशबीचको ऐतिहासिक सम्बन्धमा आधारित रहेको र नेपालको सम्वृद्धिका लागि चीनिया लगानी अनिवार्य रहेको दाहालको भनाई छ ।
प्रचण्डले आफुले नेपालको दुई छिमेकी देशसँग समदुरीको सम्बन्धको वकालत गरिरहेको समेत दाबी गर्नुभयो ।
यसैवीच चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले एक चीन नीतिप्रति प्रतिवद्धताको प्रशंसा गर्दै नेपालको प्रगति र विकासको प्रयासमा साथ दिने बताएका छन् । नेपाल र चीनवीचको सम्बन्ध दुई देशको मात्र नभई यस क्षेत्रकै स्थायित्व र विकासका लागि महत्वूर्ण रहेकोमा सीले जोड दिएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.