समलिंगी तेश्रोलिंगीले राजनीतिक दल खोल्ने

समलिंगी तेश्रोलिंगीले राजनीतिक दल खोल्ने

  • सोमबार, बैशाख ३० २०७०

काठमाडौं, बैशाख ३० – अधिकार प्राप्तीको अभियान सञ्चालन गरिरहेका समलिंगी तेश्रोलिंगी समूदायले अन्ततः राजनीतिक दल खोल्ने भएका छन् ।

देशभरका समलिंगी तेश्रोलिंगीको काठमाडौंमा भएको राष्ट्रिय भेलाले पूर्व सभासद सुनिलवावु पन्तको अध्यक्षतामा दल खोल्ने निर्णय गरेको छ ।

दलको नाम शान्ति, वातावरण र विकास पार्टी रहनेछ ।

भेलाले आउँदो संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारी दिने घोषणा गरेको छ । दल दर्ताका लागि हस्ताक्षर संकलन भैसकेको उनीहरुले जनाएका छन् ।

प्रत्यक्ष र समानुपातिकमा समलिंगी तेश्रोलिंगीलाई कुनै पनि दलले उम्मेदवार बनाउने प्रतिवद्धता नजाएकाले उनीहरु दल खोल्ने निष्कर्षमा पुगेका हुन् । यसअघि फरकफरक विचार र आस्थामा विभाजित समलिंगी तेश्रोलिंगी यसपटक अधिकारको मुद्दामा एक हुने अध्यक्ष सुनिलवावु पन्तले जानकारी दिए ।

समलिंगी तेश्रोलिंगीले पूर्व सभासद् सुनिलवावु पन्तको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेका छन् । केन्द्रीय कार्य समितिको उपाध्यक्षमा संजिव गुरुङ (पिङकी) महासचिवमा मनिषा ढकाल, कोषाध्यक्षमा दुर्गा थापा सदस्यहरुमा भक्ति शाह, विष्णु अधिकारी लगायत रहेका छन् ।

पूर्व सभासद् पन्तले यसअघि नेकपा संयुक्तबाट संविधानसभामा समानुपातिकबाट प्रतिनिधित्व गरेका थिए । उनी मौलिक अधिकार तथा निर्देशक सिद्दान्त समितिको सदस्य थिए । उनले यौनिक पहिचान अनुसारको नागरिकता, समलिंगी तेश्रोलिंगीको विवाहलाई मान्यता दिने, राज्यका हरेक निकायमा रोजगारीको ग्यारेन्टी गर्नुपर्ने लगायतका व्यवस्था गराउन सफल हुनु भएको थियो ।

समलिंगी तेश्रोलिंगी दल खोलिहाल्ने मनस्थितिमा थिएनन् । उनीहरुलाई १० हजार हस्ताक्षर संकलन गर्न नसकिरहेको हरियाली नेपाल पार्टीले केन्द्रीय समितिमा बस्न प्रस्ताव गरेको थियो ।

केही दिनको छलफल कुनै निष्कर्षमा नपुगी सकिएपछि समलिंगी तेश्रोलिंगीले निर्वाचन आयोगमा हस्ताक्षर सहित नयाँ दल दर्ता गर्न लागेका हुन् ।

सुनिलवावु पन्त ६ सय १ सदस्यीय विघठित संविधानसभामा एक्लो समलिंगी सभासद् थिए । लैगिंक अल्पसंख्यकहरु खुलेर आफ्नो पहिचान भन्न नसकिरहेको समयमा पन्तले खुलेरै समलिंगी तेश्रोलिंगीको अधिकारका लागि संविधानसभामा लविङ गरेका थिए ।

‘अधिकार प्राप्तीका लागि संगठित रुपमा दवाव दिदै आएका समलिंगी तेश्रोलिंगीलाई निराश बन्न नदिन दलको नेतृत्व गर्न तयार भएको हुँ’, पन्तले भन्नुभयो, ‘दलको विधान, नियमावली र घोषणापत्र निर्माणको क्रममा छ ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading