निशुल्क तालिममा समलिंगी तेश्रोलिंगीलाई समावेश नगराएकोमा आपत्ती

निशुल्क तालिममा समलिंगी तेश्रोलिंगीलाई समावेश नगराएकोमा आपत्ती

  • आइतबार, असोज ६ २०७०

काठमाडौं (पहिचान) असोज ६- सरकारले विश्व वैंकको आर्थिक सहयोगमा संचालन गर्न लागेको निशुल्क सीप मुलक तालिममा समलिंगी तेस्रोलिंगीलाई समावेश हुनबाट वञ्चित गराएकोमा नील हिरा समाजले आपत्ती जनाएको छ । समलिंगी तेस्रोलिंगीको साझा संस्था समाजले तालिममा महिला र पुरुष मात्रै समावेश हुन पाउने सरकारी सूचनाले तालिममा सहभागी हुन पाउने अधिकारबाट आफूहरु बञ्चित भएको भन्दै समाजले आपत्ती जनाएको हो ।

देशका ४४ जिल्लामा संचालन हुने निशुल्क तालिममा १६ देखि ४० बर्षका पुरुष तथा १६ देखि ४५ बर्षका महिला समवेश हुने भनिएको छ तर महिला पुरुष भन्दा फरक यौनिकता भएका समलिंगी तेश्रोलिंगीबारे सूचनामा केही उल्लेख नगरेकोमा समलिंगी तेश्रोलिंगीले आपत्ती जनाए । नेपाल सरकार शिक्षा मन्त्रालय व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना सुविधानगर काठमाण्डौंले असोज ६ गते कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा निकालेको निशुल्क सीपमुलक तालिम संचालन हुने सम्वन्धी सूचनामा महिला र पुरुष मात्रै समावेश हुन पाउने भनिएको छ ।

सर्वोच्च अदालतले महिला र पुरुष भन्दा फरक यौनिकता भएका व्यक्तिलाई अन्य भनेर पहिचान दिन सरकारका नाममा आदेश दिइसकेपनि सरकारले समलिंगी तेश्रोलिंगीलाई निशुल्क तालिममा समावेश हुन पाउने अधिकारबाट वञ्चित गराएकोमा नील हिरा समाजका संस्थापक एवं पूर्व सभासद् सुनिलवावु पन्तले आपत्ती जनाउनु भयो । यही असोज महिनादेखि देशका ४४ जिल्लामा संचालन हुने ३ महिने निशुल्क तालिममा गरिव, महिला, दलित, अपाङ्ग, लोपोन्मुख तथा सीमान्तकृत जनजाति पिछडिएको क्षेत्रमा बसोवास गर्ने व्यक्तिलाई प्राथमिकता दिइने भनिएको छ ।

यस्तै तालिम प्रदायक संस्थाबाट तालिम पछि रोजगारीका लागि सहजीकरण हुने तथा राष्ट्रिय सीप परीक्षण केन्द्रबाट निशुल्क सीप परीक्षण गरी उत्तीर्ण हुनेहरुलाई प्रमाणपत्र दिइने भनिएको छ । यो सँगै १६ देखि ४० बर्षका पुरुष तथा १६ देखि ४५ बर्षका महिला समावेश हुन पाउने मात्रै भनिएको छ ।

यो विभेदकारी सूचनाबारे समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता समेत रहेका पन्तले आपत्ती जनाउनु भएको हो । राज्यलेनै सम्वोधन नगर्ने अवस्था आउनु दुखद हो पन्तले भन्नुभयो ः तालिममा महिला र पुरुष मात्रै समावेश हुन पाउने ? यो देशमा रहेका लाखौ समलिंगी तेश्रोलिंगी राज्यले प्रदान गर्ने सबै अवसरबाट विमुख हुनु पर्ने ? पन्तले राज्यले यसको जवाफ दिनुपर्ने माग समेत गर्नु भएको छ । तालिमका सोधपुछ गर्न सूचनामा दिइएको १६६००१६७७७७७ नम्वरको टोल फ्रिमा सम्पर्क गर्दा सम्पर्क हुन सकिरहेको छैन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.