तत्कालिन माओवादी र सैनिकको त्रासमा अन्तरलिंगी पार्वतीको एसएलसी

तत्कालिन माओवादी र सैनिकको त्रासमा अन्तरलिंगी पार्वतीको एसएलसी

  • सोमबार, असोज १४ २०७०

काठमाडौ (पहिचान) असोज १४ – जन्म महिलाको, हुर्कदा पुरुष स्वभाव । बाजुरा कोल्देवमाण्डौ ९ सराप्लाकी २५ बर्षकी पार्वतीकुमारी रेग्मी अन्तरलिंगी हुनुहुन्छ । आमाले छोरी र दाईले बहिनी नै भनेर बोलाउनुहुन्छ । तर पार्वती आफूलाई छोरा नै हुँ भनेर चिनाउनुहुन्छ । पार्वतीलाई मानसिक चोट नपुगोस् भनेर परिवार र समाजले महिला भएर किन पुरुषजस्तो ? भन्ने प्रश्न अहिलेसम्म गरेका छैनन् ।

पार्वती आमाबाबुको पाँचौ सन्तान हुनुहुन्छ । छोरीको रुपमा जन्मेपनि पार्वतीलाई कहिल्यै छोरीले गर्ने काम गर्न मन गएन । सधैं छोराकै रुपमा काम गर्ने पार्वतीलाई समाजले इमान्दार भन्थे । तर पार्वतीको मन भने चञ्चल नै थियो । समाजले केही नभनेपनि पार्वतीलाई संसारमा म एक्लै छु भन्ने लागिरहन्थ्यो । परिवार, समाज र विद्यालयबाट पाएको सहयोगले नै पार्वतीलाई आत्महत्या गर्नबाट जोगायो । बाँच्नुपर्छ भन्ने हौसला जगायो ।

विद्यालयस्तरको अध्ययन गर्दा नै पार्वतीमा राजनीतिक चेतना जागिसकेको थियो । परिवारमा सबै नेपाली कांग्रेस थिए । सशस्त्र युद्ध चलिरहेकै बेला पार्वतीले एसएलसी दिनुभयो ।

परीक्षा दिन जाँदा तत्कालीन माओवादीको सिफारिस लिएर जानुपथ्र्यो । माओवादीको सिफारिस बीच बाटोमा लुकाएर जानुपरेको पार्वतीलाई अहिले झैं लाग्छ । घरबाट जाँदा माओवादीको र परीक्षा केन्द्रमा सैनिकको त्रासले एक बर्ष पार्वतीको एसएलसी परीक्षा बिग्रियो ।

एसएसली सकेर पार्वती बाजुराबाट धनगढी झर्दाको अनुभव बेग्लै छ । जब पार्वतीले बाजुरा छाड्नुभयो । त्यसपछि गाउँमा कुरा हुन थालेछन् । उहाँले भन्नुभयो ‘घरमा आमाबाबुलार्ई समाजका जान्ने सुन्नेले नै तेश्रोलिंगीको जंगलमा घर हुन्छ, अब त पार्वती फर्केर आउँदिन भनेर कुरा लगाइदिए’ ।

घरपरिवारलाई वनको बाघले खाओस नखाओस मनको बाघले खाएछ । त्यसपछि परिवारका सबै सदस्य एक हप्ता घरबार निस्कन समेत सकेनन् ।

शिक्षक सेवा आयोगको परीक्षाको फारम भर्न जाँदा महिला कि पुरुष भनेर सोधेको प्रश्नले पार्वतीलाई नमिठो बनाइरहेको छ । ‘बल्लबल्ल फारम भरें’ पार्वतीले भन्नुभयो ‘परीक्षा दिन जाँदा रेग्मी जी भनेर सम्बोधन गर्नुभयो खुशी लाग्यो ।’???????????????????????????????

उच्च शिक्षा पढ्दादेखि नै नेविसंघको सक्रिय राजनीतिमा लागेकी पार्वतीलाई अहिले नेपाली कांग्रेस बाजुराले संविधानसभा चुनावमा समानुपातिक तर्फको उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको छ । पार्टीको सिफारिस बोकेर पार्वती अहिले कांग्रेसका शीर्ष नेताहरुको घर घरमा धाइरहनुभएको छ ।

पार्वतीलाई नेताहरुले आश्वासन पनि दिइरहेका छन् । ‘आश्वासन पाइएको छ’ पार्वतीले भन्नुभयो ‘बाजुराबासीले मप्रति गरेको सदासयता पूरा गर्न मेरो नाम कांग्रेसले समानुपातिक तर्फको बन्द सूचीमा पार्नुपर्छ ।’

संविधानसभामा प्रतिनिधित्व हुन पाए समलिंगी तेश्रोलिंगी अन्तरलिंगीलाई होच्याएर बोल्नेलाई कडा कारवाही गने कुरा कानुनमा नै लेख्ने धोको छ उहाँलाई ।

‘कसैले कसैलाई होच्याएर बोल्नु हुँदैन, सबै नागरिक समान हुन् भनेर व्यवहार हुनुपर्छ’ पार्वतीले भन्नुभयो, ‘म संविधान सभामा प्रतिनिधित्व हुन पाए विभेदमा परेका सबै नागरिकको अधिकारको विषय लेख्छु ।’

आफ्नो समुदाको कुरामात्रै होइन आफ्नो जिल्ला बाजुराका लागि पनि केही गर्ने धोको छ उहाँमा । ‘बाजुराका नागरिकले म प्रति धेरै आशा गरेका छन्’ पार्वतीले भन्नुभयो  ‘समलिंगी तेश्रोलिंगीसँगै बाजुराको नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमका लागि पनि जोड दिनेछु ।

त्यहा शिक्षा, स्वास्थ्य, रोजगारमा कुनै अवसर नभएकाले जनप्रतिनिधिको विशेष दायित्व हुने उहाँलाई थाहा छ । पार्वतीले भन्नुभयो ‘समान अधिकार, समान अवसर मेरो मुद्दा हुनेछ ।’

(यो उज्यालो अनलाइनमा माधव दुलालले लेखेको सामग्री हो । )

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.