आफ्नो समूदायलाई उम्मेदवार नवनाएकोमा सयौं समलिंगी तेश्रोलिंगी दुखी

आफ्नो समूदायलाई उम्मेदवार नवनाएकोमा सयौं समलिंगी तेश्रोलिंगी दुखी

  • मंगलबार, कार्तिक १२ २०७०

काठमाडौं (पहिचान) कार्तिक १२ – नेकपा एमाले समलिंगी तेश्रोलिंगीको अभिभावक पार्टी हो । अब तपाईंहरुले अधिकार प्राप्तिको अभियानमा आफूलाई एक्लो नठान्नुहोला ।’ भदौ १७ गते एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष झलनाथ खनालले यसो भनेपछि समलिंगी–तेस्रोलिंगी कम्ता खुशी थिएनन् । खनालको अभिव्यक्ति सुनेपछि सयौं समलिंगी–तेस्रो लिंगीको तालिको गडगडाहटले एमाले केन्द्रीय कार्यालय गुञ्जायमान भयो ।
आफू एमाले प्रवेश गरेको भदौ १७  लाई उनीहरुले ऐतिहासिक दिन पनि भन्न भ्याए । संविधान सभामा आफ्नो प्रतिनिधित्व हुने कुरामा विश्वस्त हुँदै एमाले प्रवेश गरेका थिए । तर उनीहरुको त्यो खुशी दुई  महिना पनि टिक्न सकेन् । उनीहरुको खुशी दुई दिनको रामछायाँ भयो । कात्तिक ६ गते समानुपातिक तर्फको अन्तिम नामावली प्रकाशित हुँदा एमालेको सूचिमा उनीहरुले आफूलाई पाएनन् ।
यसले समलिंगी–तेस्रो लिंगीलाई निकै चोट पुग्यो । बर्दिया घर भएकी तेश्रोलिंगी शिल्पा चौधरीको त दुई दिन रोएरै बित्यो । ‘कहिले राजनीति गरेको थिइन्, एमालेमा गइयो तर ठुलो चोट पाइयो ।’ शिल्पाले भन्नुभयो, ‘दुई दिन त म रोएँ मात्रै ।’ पूरा गर्न नसक्ने आश्वासन नदिएको भए हुन्थ्यो भन्ने लागेको छ । समलिंगी तेश्रोलिंगी एमालेमा राजनीतिक स्थान खोज्दै गएका थिएनन्, उनीहरु त विभेद अन्त्य गर्ने कानुन बनाउने ठाउँमा आफ्नो प्रतिनिधित्व मात्रै होस भन्ने चाहान्थे । तर सोचे जस्तो भएन । ‘एमालेले हल्ला मात्रै गर्‍यो देखायो मात्रै ।’ एक जना तेश्रोलिंगीले दुखी हुँदै भने, ‘कम्तीमा एक जनालाई त उम्मेदवार बनाउँला भन्ने लागेको थियो तर बनाएन ।’
निकै उत्साहका साथ एमाले प्रवेश गरेका समलिङ्गी तेश्रोलिंगी अधिकारकर्मी सुनीलबाबु पन्त एमालेको निर्णयबाट निकै दुखित हुनुहुन्छ । ‘मलाई नै संविधान सभा चुनावको उम्मेदवार बनाउनु पर्छ भन्ने होइन ।’ पन्तले भन्नुभयो, ‘हाम्रा सयौं साथी एमालेमा प्रवेश गरेका थिए, तर एक जनालाई गराएको भएपनि हुन्थ्यो । तर गराएन । निकै दुःख लागेको छ ।’ आफू मात्रै होइन एमाले प्रवेश गरेर चुनावी अभियानमा होमिएका सयौं समलिंगी तेश्रोलिंगी अहिले दुखी रहेको पन्त बताउनुहुन्छ ।
हुन त सास रहेसम्म आश हुन्छ भन्छन् त्यसैले अझै प्रतिनिधित्व हुन्छ कि भन्ने झिनो आश भने समलिंगी समलिङ्गीलाई छ । ‘मन्त्रिपरिषदबाट मनोनित गर्ने २६ जनामा एमालेले एक जना मात्रै भएपनि समलिंगी तेश्रोलिंगीलाई प्रतिनिधित्व गराउँछ कि भन्ने आश अझै छ ।’ तेस्रो लिङ्गी विष्णु अधिकारीले भन्नुभयो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.