खोइ कस्तो मान्छे हुँ म …

खोइ कस्तो मान्छे हुँ म …

  • शनिबार, जेष्ठ ३ २०७१

काठमाडौं (पहिचान) जेठ ३ -मान्छेहरुको भीडमा हराएको मान्छे हुँ म, आफन्तहरुको बीचमा रुमल्लिएको मान्छे हुँ म ।

महिला र पुरुषको पहिचानले चिनिएको यो समाज भित्र आफ्नै पहिचान खोजी हिड्ने मान्छे हुँ म ।

पुरुषको जन्म त पाएकै हुँ तर पनि महिलाको जुनी रोज्ने मान्छे हुँ म ।

पुरुषको नागरिकता त लिएकै हुँ तर पनि तेश्रोलिंगीको पहिचान खोजी हिड्ने मान्छे हुँ म ।

चौरासी व्यन्जन त खाएकै हुँ, महलमा पनि सुतेकै हुँ तर पनि स्वतन्त्र आकास मुनी रमाउने मान्छे हुँ म ।

नेपाली धर्म र संस्कृतीमा हुर्केकै हुँ तर पनि शान्ति र पुण्यको खोजीमा हिड्ने मान्छे हुन म ।

घृणा र तिरस्कार अनि धोका त पाएकै नै हुँ तर पनि माया खोज्दै हिड्ने मान्छे हुँ म ।

आफ्नो आफन्तकाबीच त हुर्केकी नै हुँ तर पनि साथी खोज्दै हिड्ने मान्छु हुँ म ।

पटक पटक लडेर घाइते त भएकी नै हुँ तर पनि दौडेर हिड्न खोज्ने मान्छे हुँ म ।

मुटु भरी दुख पीडा त बोकेकी नै हुँ तर पनि संघर्षमा रमाउने मान्छे हुँ म ।

खोजी गर्दा गर्दै प्राप्ती त गरेकी नै हुँ तर पनि चिन्तन गर्ने मान्छे हुँ म ।

चिन्तन गर्दा गर्दै ज्ञान प्राप्ती गरेकी नै हुँ तर पनि गौतम बुद्ध बन्न नसकेकी मान्छे हुँ म ।

खोई कस्तो खोइ कस्तो खोइ कस्तो मान्छे हुँ म ।। IMG_20140517_151945298
यि माथिका शव्द कोर्ने कुनै सामान्य मान्छे भने पक्कै होइन । नेपालमा सन् २००१ देखि समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीको अभियान चलाउँदै नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले कोरेका शव्द हुन् यि । अहिले पनि समाजमा महिला र पुरुष बाहेकका फरक यौनिकता भएका मान्छे पनि छन् भन्नेहरुलाई अध्यक्ष गरुङले यो कविताबाट चोटिलो जवाफ दिएकी छन् । समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता, विश्व प्रसिद्ध नोवेल शान्ति पुरस्कारको मनोनयनमा परेका पूर्व सभासद् सुनिलवावु पन्तको उपस्थितिमा नील हिरा समाजले आफ्नै भवन काठमाडौं धुम्वाराहीमा मनाएको समलिंगी तेश्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसमा अध्यक्ष गुरुङले प्रस्तुत गरेको कविताले सबैलाई मन्त्रमुग्ध बनायो ।IMG_20140517_161854776

दिवसमा नील हिरा समाजका संस्थापक एवं पूर्व सभासद् सुनिलवावु पन्तले एक जना आगो भए अर्को पानी हुनुपर्ने भन्दै रिस राग सबै त्यागेर एक जुट भएर अधिकार प्राप्तीको अभियान सफल बनाउन शुभकामना दिए । पन्तले काम गर्दा कमीकमजोरी जोबाट पनि हुन सक्ने भन्दै पाठ सिक्दै अगाडि बड्नु पर्ने बताए । घर, परिवार, समाज र राज्यबाट अधिकार विहिन भएर बस्नु परेको मनभरीको पीडा लिएर दिवस मनाउन आएका तेश्रोलिंगी कलाकार श्याम राना, सिर्जु थापाले गीत गाएर मनको पीडा व्यक्त गरे भने विष्णु अधिकारी, दुर्गा थापा र बासु गुरागाईले भरखरै डेनमार्कमा भएको राजनीतिक सम्मेलनमा सहभागी हुँदा आफ्नो समूदायलाई पुगेको फाइदाबारे जानकारी गराए । दिवसका अवसरमा भएको कार्यक्रममा नील हिरा समाजकी कार्यवाहक कार्यकारी निर्देशक मनिषा ढकालले मानव भएर बाच्न नपाउनुको पीडा अन्त्य गर्न सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिइन । विश्व स्वास्थ्य संगठनले समलिंगी तेश्रोलिंगी हुनु मानसिक रोग नभएको निर्णय गरेको खुशीयालीमा सन् २००६ देखि यो दिवस मनाउन थालेको जानकारी दिइन ।

समलिंगी पुरुषको सौन्दर्य प्रतियोगिताका विजेता विश्वराज अधिकारीले यो एक जना व्यक्तीको मात्रै विषय नभएर सबैको विषय भएको बताए । समलिंगी तेश्रोलिंगी पनि यही समूदायका सामान्य नागरिक हुन भन्ने बुझेर सबैले सहयोग गरे यो समूदाय माथि हुँदै आएको विभेद अन्त्य हुन सक्ने अधिकारीको भनाई छ । दिवा कार्यक्रमका सहायक कार्यक्रम निर्देशक संजय शर्माले नील हिरा समाजकै सहयोग र साथका कारण आफूहरु यहाँसम्म आउन पाउँदा खुशी लागेको बताए । उनले अधिकार प्राप्तीको अभियानलाई अझ उचाईमा पुर्याउन लागि पर्ने प्रतिवद्धता पनि जनाए ।IMG_20140517_151929813

दिवसका अवसरमा समलिंगी तेश्रोलिंगीले नाँचगान गरेर आफू भित्र रहेको पीडा भुल्ने प्रयास गरेका थिए । कार्यक्रममा लामो समय नील हिरा समाजमा कार्यरत तेश्रोलिंगी मेकअप आर्टिस सोफी सुनारलाई सम्मान गरिएको थियो । सोफीलाई विश्व प्रसिद्ध नोवेल शान्ति पुरस्कारको मनोनयनमा परेका सुनिलवावु पन्तले खादा लगाएर मायाको चिनो दिदै सम्मान गरे । सम्मानपछि सोफीले नील हिरा समाजलाई अधिकार प्राप्तीको अभियानमा बाहिरै बसेर पनि सहयोग गर्ने प्रतिवद्धता जनाइन् । सोफीलाई सम्मान गर्दै पन्तले अझ धेरै प्रगति गर्न सोफीलाई शुभकामना दिए । संस्थामा इमान्दारिताका काम गरेर सबैसँग मित्रवत व्यवहार राख्ने सोफीलाई नील हिरा समाजले सम्मान गरेको हो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.