तेस्रोलिंगी विरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले नेता नेपाललाई स्पष्टिकरण सोध्न माग

तेस्रोलिंगी विरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले नेता नेपाललाई स्पष्टिकरण सोध्न माग

709
SHARES

काठमाडौं, (पहिचान) जेठ १६ -समलिंगी तेस्रोलिंगीले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रोलिङ्गी विरुद्ध भाँजो हाल्ने काम बन्द गर्न सार्वजनिक चुनौति दिदै स्पष्टिकरण माग्न पार्टीसँग माग गरेका छन् । एमाले पार्टी प्रवेश गरेको तथा अन्य सबै समलिंगी तेस्रोलिंगीले विश्वको चिकित्सा संयन्त्रलाईनै झुठो सावित गर्ने गरी तेस्रोलिंगी विरुद्ध अभिव्यक्ति दिएको भन्दै नेता नेपाललाई स्पष्टिकरण माग्न पार्टी नेतृत्वसँग माग गरेका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले हक अधिकारका लागि लडेका समलिंगी तेस्रोलिंगीलाई जहा पनि भाँजो हाल्ने काम गरेको भन्दै समलिंगी तेस्रोलिंगीले आपत्ती जनाए । समलिंगी तेस्रोलिंगीले एमाले बरिष्ठ नेता नेपालले दोश्रो संविधानसभाको चुनाव अगाडि एमालेले पार्टी प्रवेश गराउने निर्णय गर्दा असन्तुष्टी जनाएको, समानुपातिकको सूचिमा ३ जना समलिंगी तेस्रोलिंगीको नाम पार्ने पार्टीको निर्णय विपरित अन्तिममा नाम हटाएको, पार्टीको सचिवालयले तेस्रोलिंगीको छुट्टै जनवर्गिय संगठन बनाउने निर्णय गर्दा विरोध गरेको एमाले पार्टी भित्रैबाट जानकारी आएको दावी गरेका छन् ।
यस्तै समलिंगी तेस्रोलिंगी समूदायका सदस्यलाई पार्टीको महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि बनाउने र जिल्ला कमिटीमा पनि छुट्टै भूमिका दिने एमाले सचिवालयले गरेको निर्णयमा वरिष्ठ नेता नेपालले स्थायी समितिको बैठकमा चर्को विरोध गरेर सचिवालयलको निर्णय बदर गराएको एमाले पार्टी सचिवालयले बताएको समलिंगी तेस्रोलिंगीले नेपाललाई दिएको सार्वजनिक खुल्ला चुनौतीमा लेखिएको छ ।
यस्तै नील हिरा समाजका अभियान्ताहरुले बारम्बार छलफलका लागि अनुरोध गर्दा पनि नेपालले भेट्न नमान्नु र  संवैधानिक समितिको सभापति हुँदा एवं सरकारमा वा पार्टि भित्रै समलिंगी तेस्रोलिङ्गी समुदायको बारेमा तथानाम भन्ने र विरोध गर्ने गरेको तथ्यले सम्पूर्ण तेस्रोलिङ्गी समुदाय स्तब्ध भएका खुल्ला पत्रमा उल्लेख छ ।
सम्वन्धित समुदायको कुरा नसुनि एकोहोरो विरोध मात्र गर्नुले एमाले नेता नेपाल कस्तो चरित्रको नेता हो अब बुझि सकेको समलिंगी तेस्रोलिंगीले बताएका छन् ।
एमाले बरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा विश्व एड्स दिवस मनाउने क्रममा काठमाडौंको टुडिखेलमा तेस्रोलिङ्गी सन्ध्या लामालाई मञ्चमा बसेको बेला ‘तेस्रोलिङ्गीको यौनअङ्ग नै हुदैन हो?’ भनेर सोध्नुले  नेपाललाई तेस्रोलिङ्गीहरुको बारेमा सामान्य जानकारीसमेत नरहेको पुष्टि भएको खुल्ला पत्रमा लेखिएको छ ।
नेकपा एमालेमा प्रवेश गरेका समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्त, तेस्रोलिंगी शिल्पा चौधरी, विष्णु अधिकारी सहितका समलिंगी तेस्रोलिंगीले नेपालाई सार्वजनिक चुनौती दिएका हुन् ।
विश्व स्वास्थ्य संगठनले समलैङ्गिकता कुनै मानसिक रोेग नभएको १९९० मे १७ का दिन घोषणा गरिसकेको भएपनि माधव कुमार नेपाल भने हिजो सोभियत संघको स्टालिन वा आजको जिम्वावेका सामन्ती नेता रोवर्ट मुगावेले जस्तो समलिंगी÷तेस्रोलिंगीलाई मानव नै होइनन् भन्दै हिड्नु लाज मर्दो विषय भनेका छन् ।
नेपाल प्रधानमन्त्री हुँदा पनि सर्वोच्च अदालतको आदेश विपरित तेस्रोलिंगीलाई नागरिकता नदिईएको र नेपाल हटेपछि भने झलनाथ खनालको सरकारको पालामा तेस्रोलिंगीलाई नागरिकता दिने काम गृह मन्त्रालयले गरेको समलिंगी तेस्रोलिंगीले उल्लेख गरेका छन् ।
सुनिलवावु पन्तकै नेतृत्वमा २०७० भदौ १७ गते समलिंगी तेस्रोलिंगी एमाले पार्टीमा प्रवेश गर्दा पार्टी अध्यक्ष झलनाथ खनालले एमाले समलिंगी तेस्रोलिंगीको अभिभावक पार्टी भएको घोषणा गरेका थिए ।

समाचार शेयर गर्नुहोस्
709
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.