१० बुँदे पोखरा घोषणापत्र जारी गर्दै राष्ट्रिय परामर्श भेला सम्पन्न

१० बुँदे पोखरा घोषणापत्र जारी गर्दै राष्ट्रिय परामर्श भेला सम्पन्न

  • बिहिबार, भाद्र १२ २०७१

राष्ट्रिय परामर्श भेला सम्पन्नपोखरा (पहिचान) भदौ १२ – देशभरका यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजको आयोजना एवं ग्लोवल फण्ड अन्तर्गत एमएसए फेज दुई क्षेत्रिय एचआइभी कार्यक्रमको सहयोगमा भएको दुई दिने राष्ट्रिय परामर्स भेला सकिएको छ । १० बुँदे पोखरा घोषणा पत्र जारी गर्दै सकिएको भेलाले देवानी तथा फौजदारी संहितामा रहेको विभेदकारी व्यवस्था संसोधन गर्न माग गरेको छ । भेलाले जारी गरेको घोषणापत्रमा संविधानसभामा दलहरुको सिफारिसमा मन्त्रीपरिषद्ले मनोनित गर्न बाँकी २६ जनामा अनिवार्य समलिंगी तेस्रोलिंगीको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ ।

समलिंगी तेस्रोलिंगीमा एचआइभी संक्रमणको जोखिम उच्च रहेको भन्दै भेलाले एचआइभी संक्रमितका लागि स्याहार तथा सहयोग गर्न राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रलाई सहयोग गर्न आग्रह गरेको छ । नेपाल एचआइभी इन्भेष्टमेन्ट प्लानलाई कार्यान्वयन गर्न राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रलाई यौनिक तथा लैगिंक अल्पसंख्यकहरुले सघाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । भेलाले पहिचान अनुसारको नागरिकता दिन सर्वोच्च अदालतले गरेको फैसला अनुसार गृह मन्त्रालयले जारी गरेको परिपत्रको सबै जिल्ला प्रशासनले कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

समलिंगी विवाहबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन गठन भएको समितिलाई तत्काल प्रतिवेदन बुझाउन भेलाले माग गरेको छ । भेलाले परराष्ट्र मन्त्रालयले एक्स उल्लेख गरेर राहदानी वितरणका लागि शुरु गरेको प्रक्रिया छिटो भन्दा छिटो कार्यान्वयन गर्न पनि भेलाले माग गरेको छ । देशभरका झण्डै २ सय जना समलिंगी तेस्रोलिंगी सहभागी राष्ट्रिय परामर्स भेलालले शिक्षा, स्वास्थ्य र रोजगारमा समान पहुँचको माग पनि गरेको छ । भेलाले रोजगारीमा आरक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ । भेलाले जारी गरेको पोखरा घोषणपत्रको १० नम्वर बुँदामा विद्यार्थी भर्ना गर्दा विद्यालयले दिने भर्ना फारमको लिंगको महलमा महिला, पुरुष र अन्य उल्लेख गरी विद्यालयलाई समलिंगी तेस्रोलिंगी मैत्री बनाउन सरोकारवाला सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ ।

भेला समापनको अवसरमा अघिल्लो दिन छलफल गरिएका बिषयमा प्रस्तुतीकरण गर्दै तेस्रोलिंगी महिला आनिक रानाले एचआईभि संक्रमितका लागि सरकार र निल हीरा समाजले सहकार्य गरेर औषधीको ब्यबस्था गर्नु पर्ने बताइन । औषधीको अभावमा अकालमै जीवन गुमाउनु पर्ने आवस्था आएको रानाको भनाई छ । एचआईभि संक्रमितले पनि अरु सरह काम गर्न सक्ने भन्दै त्यसका लागी केयर एण्ड सपोर्टका लागी सरकारले पनि बजेट दिनु पर्नेमा रानाले जोड दिइन । बाह्य दाता सँगै आन्तरिक दाता पनि खोज्नु पर्ने भन्दै यसका लागी सरकार तथा सरकारका स्थानीय निकायमा पहल गर्नु पर्ने तेस्रोलिंगी रानाले बताइन् । समलिंगी तेस्रोलिंगीलाई स्वास्थ्य संस्थामा समान ब्यबाहार गर्ने अवस्था ल्याउन नील हिरा समाजले चिकित्सकलाई तालिम दिनु पर्ने रानाको भनाई थियो ।

जवाफमा नील हिरा समाजकी उपकार्यकारी निर्देशक मनिषा ढकालले चिकित्सकलाई समलिंगी तेस्रोलिंगी मैत्री स्वास्थ्य संस्था बनाउन नील हिरा समाजले केयर सपोर्टमै काम गर्ने चिकित्सकलाई बैकक पठाउने तयारी गरेको जानकारी दिइन । ढकालले समलिंगी तेस्रोलिंगी भित्रै पनि विभेद रहेको भन्दै पहिला आँफैमा परिवर्तन हुनु पर्नेमा जोड दिइन । चिवतनका देब नारायण श्रेष्ठले एचआईभि संक्रमितहरु उपचार गर्न काठमाडौं सम्म आउन नसक्ने भन्दै जिल्ला वा क्षेत्रमै उपचारको ब्यबस्था हुनु पर्ने बताए । एचआईभि संक्रमितका लागी उपचार गर्ने सरकारी अस्पतालमा पनि छुट्टै चिकित्सकको ब्यबस्था हुनु पर्ने उनको भनाई छ ।

तेस्रोलिंगी ज्योति थापाले समलिंगी तेस्रोलिंगीलाई खुल्दा पनि समस्या र नखुल्दा पनि समस्या रहेको बताइन । नखुल्दा अधिकार प्राप्तिको लडाईमा सहयोग गर्न नसक्ने तर, खुलेर आए समाजको तिरष्कार ब्यहोर्नु पर्ने अवस्था रहेको थापाको भनाई छ । यद्यपी नील हिरा समाजको अभियानसँगै पछिल्लो समय समलिंगी तेस्रोलिंगी खुल्नेक्रम भने बढेको थापाले बताइन । उनले शिक्षा सँगै आर्थिक उपार्जनको ब्यबस्था गर्नु पर्नेमा जोड दिइन । समलिंगी तेस्रोलिंगीका बिद्यमान समस्या अन्त्यका लागी संबिधान मै यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको अधिकार उल्लेख हुनु पर्ने थापाको भनाई छ ।

नील हिरा समाज धनुषाका मनोज यादवले सरोकारवाला पक्ष सरकारी तथा गैरसरकारी संस्थाका ब्यक्तिहरुले नै समलिंगी तेस्रोलिंगी बारे बुझन नसकेको गुनासो गरे । उनले समलिंगी तेस्रोलिंगी माथि प्रहरी प्रशासनबाटै दुरब्यबाहार हुने गरेको बताइन । धनगढीका बिबेक सिंह र हेटौडाका सुरज थापाले समयमै कण्डम र लुब्रिकेण्ट प्राप्त हुन नसकेको बताए । हेटौडाका थापाले रेडियो कार्यक्रम पहिचानका लागि हेलो पहिचान नाम राखेर कार्यक्रम बनाउन शुरु गरेको जानकारी दिए ।

दाङ, सुर्खेत, महेन्द्रनगर, विरगंज, झापा लगायत जिल्लाका समलिंगी तेस्रालिंगीले समलिंगी तेस्रोलिंगीको समस्या स्वास्थ्यकर्मीसँग नहुनु र सरकारी अस्पतालमा उपचार गर्न जाने अवस्था नरहेकाले स्वास्थ्य सेवा पाउन नसकेको बताए । कार्यक्रममा शिक्षक नेपाल प्रकाश अधिकारीले शिक्षाका लागी सरकारले बजेट छुट्याउनु पर्ने बताए । समलिंगी तेस्रोलिंगीले अनिवार्य शिक्षा लिनु पर्ने भन्दै अधिकारीले बिद्यालयमा पहुँच हुन नसकेकाले आरक्षणको ब्यबस्था हुनु पर्ने बताए । बिद्यालयको भर्ना फारममा अन्य लेखिनु पर्ने, छात्र बृत्तिको ब्यबस्था हुनु पर्ने, समलिंगी तेस्रोलिंगी मैत्री बिद्यालय हुनु पर्ने, पाठ्यक्रममा समलिंगी तेस्रोलिंगीका बिषय समाबेश गर्नु पर्ने, पढाउने शिक्षक शिक्षिकालाई समलिंगी तेस्रोलिंगीबारे जानकारी दिनु पर्ने शिक्षक अधिकारीकाले बताए ।

भेलामा तेस्रोलिंगी महिला पुष्पा लामाले संविधानमा समलिंगी तेस्रोलिंगीका अधिकार समाबेश हुनु पर्नेमा जोड दिए । लैगिक पहिचान कै कारण रोजगारीको अबसरबाट बञ्चित, आबेदन फारममा अन्य उल्लेख नहुुनु, मनोरञ्जनको साधनको रुपमा लिनु नै यौनिक तथा लैगिक अल्पसंख्यकको समस्या रहेको लामाको भनाई छ । तेस्रोलिंगी परिना चौधरीले समलिंगी तेस्रोलिंगीका सत्य तथ्य कुरा सञ्चार माध्यममा नआउँदा यो समुदायलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको बताइन । सञ्चार माध्यमले समलिंगी तेस्रोलिंगीको स्वास्थ्य, रोजगारीका बिषय नउठाउनु दुखद पक्ष भएको चौधरीको भनाई छ ।

तेस्रोलिंगी सुमन लामाले समलिंगी तेस्रोलिंगीलाई अझै घरपरिवारले नस्वीकार्दा मानब अधिकारको हनन भइरहेको बताए । शिक्षा, स्वास्थ्य, रोजगारीको ब्यबस्था नहुनु, खुलेर हिड्न नसक्नु, नागरिकता लिन समस्या हुनु, सरकारले बजेट नछुट्याउनु, कर्मचारी आह्वान गर्दा निश्चित कोटा सहित आह्वान नगरिनु मानव अधिकार हनने भएको लामाको भनाई छ । तराइका जिल्लामा कार्यरत समलिंगी तेस्रोलिंगीले अन्य जिल्लाका तुलनामा आफ्नो पहिचान खुलाए कै भरमा समलिंगी तेस्रोलिंगी अबसरबाट बञ्चित हुनु परेको बताए । खुला सिमाना भएका कारण यौनकर्मीहरु नेपाल भारतको सिमामा क्रियाशिल हुदा यौनरोगको जोखिम धेरै रहेको उनीहरुको भनाई छ । यौनिक तथा लैगिंक अल्पसख्यकहरुको महासंघ नेपालका राष्ट्रिय कार्यक्रम संयोजक बासु गुरागाईले समलिंगी तेस्रोलिंगीका समस्या समाधान गर्न सबै क्षेत्रको सहयोग आवश्यक पर्ने बताए ।
दोश्रो दिनको छलफलमा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले हर्मोनको प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै हर्मोन प्रयोग नगर्न सुझाव दिइन । हर्मोनको प्रयोग गर्नु परेमा पनि चिकित्सकको सल्लाह अनिवार्य लिनु पर्ने अध्यक्ष गुरुङले बताए । राम्री देखिन आफूले पनि पहिला हर्मोन लिइरहेको बताउँदै अध्यक्ष गुरुङले चिकित्सकले हर्मोनका कारण स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ भनेकाले आफूले २७ महिनादेखि हर्मोनको प्रयोग नगरेको बताए । जति धेरै घिच्यो, त्यति धेरै थिच्यो भने जस्तै धेरै हर्मोन खाँदा स्वास्थ्यमा विभिन्न खाले समस्या आउने गुरुङको भनाई छ ।

तेस्रोलिंगी विष्णु अधिकारीले हर्मोनको प्रयोगले आफ्नो स्वास्थ्य शिथिल बनेको बताए । अधिकारीले केही स्वास्थ्य संस्थाले स्वास्थ्यमा व्यापार गरिरहेको बताए । अधिकारीले सुनिलवावु पन्त र पिंकी गुरुङको सल्लाह अनुसार अहिले आफूले हर्मोन प्रयोग गर्न छाडेको बताए । डाक्टर निरभना थापाले हर्मोनको प्रयोग र लिंग परिवर्तन गर्ने प्रक्रियामा उचित परामर्स लिनुपर्ने तथा चिकित्सको सल्लाह लिनुपर्ने कुरामा जोड दिइन । तेस्रोलिंगी मनोज शाही मोनिका सगरमाथाको शिखरमा नेपाल र नील हिरा समाजको झण्डा फहराउने धोको अहिलेसम्म पूरा हुन नसकेको बताए ।

तेस्रोलिंगी यलि लामाले विना आधार प्रहरीले पक्रेर दुरव्यवहार गर्ने गरेको बताए । लामाले घर, परिवार, समाज र राज्यले गर्ने व्यवहारका कारण यौन पेशा अपनाउन बाध्य हुनु परेको बताए । सगरमाथा शिखरको आरोहण गर्दा लाग्ने आरोहण शुल्क मिनाह गर्न नील हिरा समाजकी उपकार्यकारी निर्देशक मनिषा ढकालले माग गरिन । उनले देवानी तथा फौजदारी संहितामा रहेका विभेदकारी व्यवस्था खारेज गर्न पनि माग गरिन । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव चन्द्रवहादुर सिवाकोटीले भेलाले अग्रगमनको बाटो पहिल्याउन सफल हुने विश्वास व्यक्त गरे । उनले मन्त्रालयले तयार गरिरहेको १० बर्षे रणनीतिक पत्रमा समलिंगी तेस्रोलिंगीको विषय उल्लेख गरिएको जानकारी दिए । उनले समलिंगी तेस्रोलिंगी समूदायका सदस्यबाट आएका सुझाव सल्लाह अनुसारनै कार्यक्रम निर्माण गर्ने प्रतिवद्धता जनाए ।

गृहमन्त्रालयका उपसचिव दिपेन्द्रराज पौडेलले मानवअधिकार संरक्षण, प्रवद्र्धन गर्न नीतिगत कार्यक्रम संचालन गरिरहेको जानकारी दिए । उनले संगठित रुपमा आवाज उठाउन सके अधिकार प्राप्त गर्न कठिनाई नहुने बताए । सरकारी निकायमा रहेकाहरुलाई पनि समलिंगी तेस्रोलिंगीबारे चेतना जगाउनु पर्ने आवश्यकता रहेको पौडेलको भनाई छ । स्वतन्त्रा पूर्ण लिनका लागि आफू पनि स्वतन्त्र हुनुपर्ने पौडेलले बताए । उनले आफू माथि हुने विभेद, दुरव्यवहार र हिंसाको गृहमन्त्रालको फोन नम्वर ४२११२७९ मा फोन गरेर टिपाउन आग्रह गरे । आफू जुनसुकै समयमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार सुनिश्चित गर्ने अभियानलाई सघाउने प्रतिवद्धता जनाए । उनले तेस्रोलिंगी मनोज शाही मोनिकाको सगरमाथा आरोहण गर्ने धोको पुरा गर्नका लागि मन्त्रालयले गर्ने सहयोगको प्रस्ताव पेश गर्न नील हिरा समाजलाई आग्रह गरे ।

युएनडिपी एपिआरसी कि इमिली प्रदीचितले दुई दिने भेलामा बसेर समलिंगी तेस्रोलिंगीको कामबारे धेरै बुझ्ने अवसर मिलेको बताए । राजनीतिक दलहरुको सहयोग महत्वपूर्ण रहेको बताउँदै उनले अरु देशले नेपालबाट सिक्न सक्ने बताए । उनले देवानी तथा फौजदारी संहितामा रहेका विभेदकारी व्यवस्था खारेज हुनु पर्ने बताए । उनले नील हिरा समाजको काम गर्ने तरिका देखेर आफू प्रभावित भएको बताए ।

भेला समापनका अवसरमा पोष्टर प्रस्तुतीमा पहिलो हुने सहारा समाज इटहरी, दोश्रो हुने नील हिरा समाजको शाखा कार्यालय चण्डोल र तेश्रो हुने सहयोगी समाज सप्तरीलाई पुरस्कार प्रदान गरिएको थियो । यस्तै हाजिरी जवाफ प्रतियोगितामा २० नम्वर ल्याएर पहिलो हुने सुदुरपश्चिम समाज, १७ नम्वर ल्याएर दोश्रो हुने मध्यमाञ्चल विकास क्षेत्र र १० नम्वर ल्याएर तेश्रो हुने पूर्वाञ्चल विकास क्षेत्रलाई पनि पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा नील हिरा समाजका राष्ट्रिय परियोजना संयोजक प्रकाश निरौलाले ज्ञान बढाउने उद्धेश्यका साथ हाजिरी जवाफ प्रतियोगिता गरिएको बताए । समाजकी कार्यकारी निर्देशक मोनिका झाले दुई दिने राष्ट्रिय परामर्स भेलामा सहभागीलाई धन्यवाद दिइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading