समलिङ्गी र तेश्रोलिङ्गी हुनु कुनै संक्रमण होइन : अध्यक्ष गुरुङ

समलिङ्गी र तेश्रोलिङ्गी हुनु कुनै संक्रमण होइन : अध्यक्ष गुरुङ

  • बुधबार, असोज १ २०७१

काठमाडौं (पहिचान) असोज १ – यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बिषयमा छलफल गर्न पाउँदा हामीलाई निकैै गौरब लागेको छ भने हाम्रो गौरब पनि बढेको महसुस भइरहेको छ । विश्वास गर्नेहरु भन्छन ः मानिस जन्मेको छैटौ दिनमा नै भाविले उसको नाम, पहिचान, कर्म र भाग्य सबै लेखिदिन्छ रे । ति कुरामा विश्वास गर्ने हो भने हामी भाविले समेत हेला गरेका यस्ता मान्छे हुन गयौ जसको पहिचान सुनिश्चित भएको छ, न त नाम, न कर्म गर्ने अबसर, अझै अधिकार त सुन्य नै छ । यी सबै कुराहरु भाविले मात्रै गर्ने भए संबिधान सभाद्धारा संविधान लेख्ने प्रक्रियामा जानुको कुनै अर्थ रहदैन । अनि भाग्यलाई दोष दिएर सबै समस्याको समाधान हुने वाला पनि छैन । रुढीवादी, अन्याय र असमानता हटाई बैज्ञानिकताका आधारमा पहिचान, न्यायका आधारमा अबसर र समानाताका आधारमा अधिकार सुनिश्चित गर्नका लागि संविधान सभाको निर्माण भएको हो ।

हामी र हामी जस्ता बिभिन्न तह र तप्काका नेपाली जो सदियौदेखि विभेदको सिकारमा पर्नु परेको छ । हाम्रो लागि भावि भनेकै सभासदहरु हुनुहुन्छ र हाम्रो लागि छैटौ दिन भनेकै माघ आठ गते हो । पछिल्लो समय थुप्रै वैज्ञानिक प्रमाणहरुले समलैङ्गिकताको अस्तित्वलाई प्राकृतिक सिद्द गरेता पनि समलैङ्गिकताका बारेमा नकारात्मक सोच विभेद र हिंसा प्रसस्त र व्याप्त पाइन्छ । विभेदकारी कानुनहरु अझै पनि विद्यमान छन । पैतृक सम्पतिबाट अझै पनि विभेद गरिन्छ । अझै पनि हामीले आफनो पहिचान अनुसारको नागरिकता र पासपोर्ट पाउन सकेका छैनौ । न त शिक्षाको उज्यालो हामीले देख्न पाउछौ, न त रोजगारको अबसर नै सुन्न पाउछौ । उल्टै समाजमा चल्ताफिर्ता गालि खाने पात्र बन्नुपरेको छ ।

संसारभरिकै अध्ययनमा जनसंख्याको आठ प्रतिशत समलैङ्गिकता हुने गरेको छ । यसले समलैङ्गिकता वास्तवमै प्राकृतिक भएको संकेत गर्छ । न कि कुनै सांस्कृतिक र सामाजिक लहर । यसको अर्थ नेपालमा पनि झण्डै २० देखि २५ लाख समलिङ्गी तेस्रोलिङ्गीको संख्या छ । यति ठुलो अल्पसंख्यक समुदायलाई जन्मजात अपराधी घोषणा गर्नु सामुहिक पाप हो भने आधारभुत अधिकारबाट बन्चित गर्नु राष्ट्रिय अन्याय हो । समलैङ्गिकताको बारेमा सदियौदेखि नकारात्मक भ्रमहरु फैलाउदै आइरहेको छ र यस्ले हामीलाई जटिल समस्याका रुपमा चित्रण पनि गरेको छ । जसको जेसुकै बिचार भए पनि एउटा कुरा प्रष्ट छ समलैङ्गिकताको अस्तित्वलाई कसैले पनि अपराध ठहर गर्न सक्दैन । वैज्ञानिक सबुतले यहि भन्छ । समलैङ्गिकता अस्तित्वमा छ ः हिन्दु धर्मको ग्रन्थमा पनि यस्ता थुप्रै बयानहरु छन । जसले समलैङ्गिकतालाई स्वीकारेको मात्रै नभई बिभिन्न देवताहरु पनि समलिङ्गी तेस्रोलिङ्गी भएको उल्लेख गरेका छन । ऋग वेदले भन्छ ः प्रकृति इबा बिकृति अर्थात विविधता नै समग्रमा प्रकृति हो । त्यसैगरी हिन्दु धर्ममा अर्धनारेस्वरी सिखण्डी र वृह्नललाका कथाहरु पनि यहाहरुले सुनिरहनुभएको छ होला ।

नैतिक रुपमा कसैले तर्क गर्न सक्छ कि महिला र पुरुषको आकर्षण बाहेक अरु सबै अनैतिक हो भनेर । त्यसो भए हाम्रो प्रकृति अनुसारको हाम्रो स्वभाव र हाम्रो स्वच्छन्द इच्छाको हरण गरिनु अनैतिक होइन ? के सम्पूर्ण वैज्ञानिक तथ्यको उपेक्षा गरिनु नैतिकता हो ? के समलिङ्गी र तेस्रोलिङ्गीको जबरजस्ती महिला र पुरुषसंग विवाह गरेर नक्कली पहिचान दिएर नक्कली जीवन जिउन बाध्य गराउनु अनैतिक होइन ? समलैङ्गिकताको बिरोध गर्न नैतिक तर्क यो पनि राख्ने गरिन्छ कि युवा पिडिहरु यसलाइ वैकल्पिक जीवन श्रेणि मानेर त्यतातिर जान्छन । तर वैज्ञानिक प्रमाणहरु यस्का विपरित छन । समलिङ्गी र तेश्रोलिङ्गी हुनु कुनै संक्रमण होइन । न त यो फेसन नै हो । यो त जन्म जात हुने कुरा हो । त्यसैले त हामीले लाखौ कोसिस गर्दा पनि बिपरितलिङ्गी बन्न सकेनौ । जसरी तपाइहरु चाहेर समलिङ्गी बन्न सक्नुहुन्न ।

अल्पसंख्यक भएका कारण राज्यले जे पनि ज्यादती गर्न पाउछ त ? अप्राकृतिक भनेर अपराधिकरण गर्ने खालका बिभिन्न विभेदकारी प्राबधानहरु कानुन मन्त्रालयद्धारा तयार गरिएको देवानी तथा फौजदारी संहितामा राखिने कुचेष्टा गरिएको छ । हामी समलिङ्गी र तेस्रोलिङ्गीहरुको कुनै दृष्टिकोण नै नसुनि हामीसंग कुनै छलफल नै नगरी हामीलाई अप्राकृतिक भनेर अपराधिकरण गर्ने कोसिस गर्नु अनैतिक होइन र ? त्यसैले यहा माननिय सभासद ज्यूहरुलाइ म अनुरोध गर्न चाहान्छु ः जब जब संसदमा यस्ता खालका विधेयकहरु ल्याइन्छन । तब न्यायका साथ साथै हाम्रा अधिकारका आवाजहरु उठाउन हाम्रो अधिकार कुण्ठित हुन नदिन भित्रि हृदय देखि नै सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

समलिङ्गी तेस्रोलिङ्गीलाइ अधिकार दिनुको अर्थ यसलाइ बढवा दिनु हो भन्ने बुझनु कदापी हुदैन । समलिङ्गी तेस्रोलिङ्गीलाइ अधिकार दिनुको अर्थ त पक्षपातको सिकार भएको समुदायप्रति संवेदनशिल हुनु हो । र तपाइहरु पनि हामी प्रति थप संवेदनशिल हुनुपर्ने आवश्यक देखिन्छ । हामीले यस्तै महसुस गरेका छौ हालसालै मात्रै एउटा खबर आयो जसले हामीलाइ निकै चिन्तित बनायो । संवैधानिक राजनीतिक संवाद समितिको उप समितिले तयार पारेको प्रतिवेदनमा समलिङ्गी विवाहलाइ प्रतिबन्द गरिनुपर्छ भन्ने खालका प्राबधानहरु लिएर आयो । चाहे त्यो धार्मिक होस या त्यो राजनीतिक अतिवाद त्यसले देश, जनता र समाजलाई भलो गर्दैन । नेपालको सर्वोच्च अदालतले वैधानिकता दिइसकेको समुदाय नेपालको मौलिक धर्म, संस्कार र संस्कृतिले स्वीकारीसकेको समुदाय समलिङ्गी र तेस्रोलिङ्गीको अधिकार कुण्ठित गर्ने नियतले इसाई धार्मिक अतिवादसंग सम्बन्धित भएको संस्था नेपाल परिवार दलबाट यस्ता खालका प्रतिवेदनहरु आइरहेका छन । जुन प्रतिवेदनको हामी घोर बिरोध पनि गर्दछौ र यस्ता अतिवादका एजेण्डाहरु प्रति माननिय ज्युहरुमा विरोध गर्नका लागि पनि हार्दिक अनुरोध गर्दछौ ।

अब बन्ने संबिधान र कानुनमा हाम्रा हक अधिकारहरु सुनिश्चित गर्नका लागि यहाँहरुको साथ सहयोग र प्रत्यक्ष भुमिका रहनेछ भन्ने कुरामा हामी विश्वस्थ छौ । नेपाल राज्यभर रहेका यौनिक तथा लैगिंक अल्पसंख्यकले यहाँहरुबाट यहि अपेक्षा पनि गरेका छन । त्यसैले आजको यहाहरुको उपस्थितिलाइ हामीले उच्च मुल्याङ्गकन गर्दै भबिष्यमा यहाहरुको साथ हामीले पाउनेछौ र हाम्रा हक अधिकरहरु सुनिश्चित गर्नेछौ भन्नेमा हामी आशावादी रहेका छौ । धन्यवाद । ( सभासद्हरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गुरुङले दिएको स्वागत मन्तव्य )

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading