तेस्रोलिंगीका विषयमा चलचित्र बनाउन सकिन्छः निर्देशक लामिछाने

तेस्रोलिंगीका विषयमा चलचित्र बनाउन सकिन्छः निर्देशक लामिछाने

काठमाडौं (पहिचान) फागुन २७ – चलचित्र निर्देशक घनश्याम लामिछानेले तेस्रोलिंगी तथा समलिंगीका विषयमा चलचित्र बनाउन सकिने बताएका छन् । विषयबस्तुको गहिराईमा पुगेर रिसर्च गर्न सके यौनिक तथा लैंगिक अल्पसंख्यकको विषय चलचित्र निर्माणका लागि निकै राम्रो भएको उनको भनाइ छ ।

नेपालमा समलिंगी तेस्रोलिंगीका विषयमा त्यती धेरै चलचित्र नबनेको भन्दै उनले यो विषय नयाँ समेत भएको बताए । विषयको गहिरो अध्ययन गरेर चलचित्र बनाउन सके अन्तर्राष्ट्रिय फेष्टिबलमा पनि लैजान सकिने उनी बताउँछन् । यस विषयमा अहिले आफूलाई खासै जानकारी नरहेको तर पर्याप्त रिसर्च सम्भव भए समलिंगी तेस्रोलिंगीको विषयमा आफूले चलचित्र बनाउन सक्ने उनले बताए ।

लामिछानेले सबै मानव समान रहेको भन्दै अधिकारका हिसावले सबै नागरिक समान रहेको स्पष्ट पारे ।

“जन्मकै आधारमा कोही ठूलो र कोही सानो हुँदैन । कसैले अधिकार पाउने र कसैले नपाउने हुँदैन,” निर्देशक लामिछानेले भने, “समाजको सबै पक्षले बुझिनसकेका कारण समलिंगी तेस्रोलिंगीलाई अझै पनि विभेद भैरहेको हुनसक्छ ।”

फरक यौनिकताकै कारण चलचित्रले तेस्रोलिंगीलाई विभेद गर्न नहुनेमा उनको जोड छ ।

लामिछाने भन्छन्, “समाजको बुझाइ र सोचाइका आधारमा चलचित्रले विषयबस्तुको उठान र प्रस्तुत गर्छन् । अहिले त्यो अवस्था निकै कम भएको छ । भर्खरै प्रर्दशनमा आएको कान्छीले पनि समलिंगी र तेस्रोलिंगीलाई सकारात्मक रुपमा प्रस्तुत गरेको छ ।”

चलचित्रका लेखक, निर्देशकले पनि समाजमा भैरहेको कुरालाई नै उठान गर्ने भएकाले उनीहरुमा पनि समलिंगी तेस्रोलिंगीका विषयमा कम जानकारी भएकै कारण नकारात्मक रुपमा चित्रण गरिएको हुनसक्ने उनको भनाइ छ ।

आफूले आफ्नो चलचित्रमा अहिलेसम्म कसैलाई पनि असर पुग्नेगरी चरित्रचित्रण नगरेको भन्दै उनले भने, “आगामी दिनमा पनि त्यस्तो कार्य कहिल्यै पनि हुने छैन ।”

लामिछानेले निर्देशन गरेको चलचित्र पञ्चेबाजा केही समय अगाडि रिलिज भएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading