तेस्रोलिंगीको अधिकारका लागि अभियान आवश्यक : धिरज राई

तेस्रोलिंगीको अधिकारका लागि अभियान आवश्यक : धिरज राई

1.4k
SHARES

काठमाडौं (पहिचान) चैत १५ – गायक धिरज राईले समलिंगी तेस्रोलिंगीले अधिकारका लागि आँफैं लड्नु पर्नेमा जोड दिएका छन् । आफ्नो अधिकारका लागि आफैँ लडेमात्रै अधिकार पाइने उनको भनाई छ ।

“समलिंगी तेस्रोलिंगीको अधिकारका लागि एउटा ठूलो र सशक्त अभियानको आवश्यकता छ,” उनले भने, “जसरी मैले बुद्ध वाज वोर्न इन नेपाल भनेर अभियान चलाएँ, त्यस्तै ठूलो अभियान समलिंगी तेस्रोलिंगीको अधिकारका लागि चलाउनु पर्छ ।”
यस्तो अभियानका लागि समलिंगी तेस्रोलिंगी स्वयमले नेतृत्व लिनुपर्नेमा उनको जोड छ । “यो अभियान उनीहरु स्वम्ले चलाउनु पर्छ । तर उनीहरुले चलाएको अधिकारको अभियानमा हामी साथ दिन तयार छौं ।”

“आफ्नो अधिकारका लागि आँफैँ लड्नुपर्छ । अरुले लड्दिँदैन,” राई भन्छन्, “हामीले गर्ने त उहाँहरुलाई सहयोग मात्रै हो, हामी त ब्याक फोर्स मात्रै हो ।”

समलिंगी तेस्रोलिंगीप्रति रहेको समाजको धारणा नै बदल्नुपर्ने राई बताउँछन् । “समलिंगी तेस्रोलिंगी भन्ने वित्तिकै जे बुझिरहेका छन् त्यो परिभाषा नै परिवर्तन गर्नुपर्छ,” उनले भने, “समाजले नबुझेसम्म सकारात्मक परिवर्तन आउँदैन यसका लागि समाजको धारण बदल्न आँफैं अग्रसर हुनुपर्छ ।”

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि गीत गाउन सकिने तर यसबारे पर्याप्त जानकारी आवश्यक रहेको उनको भनाई छ । “म सुरुमा प्रेमिकाका लागि गीत गाउँथे अहिले देशका लागि गीत गाउँछु । चेतनाको बृद्धि र विकाससँगै विभिन्न समुदायका विषयमा गीत गाइन्छ ।”

अधिकारका हिसावले सबै समान रहेको भन्दै उनले महिला पुरुष सरह नै समलिंगी तेस्रोलिंगीले पनि अधिकार पाउनुपर्ने वताए । “अधिकारका हिसावले कुनै पनि नागरिक तल र माथि हुँदैन कानुनका नजरमा,” गायक राई भन्छन् । आफ्ना धेरै साथी समलिंगी तेस्रोलिंगी रहेको र विभेदको नजरले आफूले कहिले पनि नहेरेको उनले बताए ।

“विश्वमा धेरै समलिंगीहरु गायन क्षेत्रमा छन् । उनीहरुको प्रतिभाले नै उनीहरुले राम्रो सम्मान र पदवी पाएका छन्,” राईले भने, “नेपालमा भने केही कमी छ । उनीहरु निकै प्रतिभाशाली हुन्छन् भन्ने मलाई थाहा छ ।”

समाचार शेयर गर्नुहोस्
1.4k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.