पुरुष समलिंगीको अन्तर्वार्ता लिएकै कारण अदालतले सुनायो सजाय

पुरुष समलिंगीको अन्तर्वार्ता लिएकै कारण अदालतले सुनायो सजाय

काठमाडौं (पहिचान) माघ ९ – इजिप्टमा एक टेलिभिजनका प्रस्तोतालाई एक वर्षको कडा श्रम शिविरमा बस्नु पर्ने सजाय सुनाइएको छ र उनको अपराध हो–टेलिभिजन कार्यक्रम पुरुष समलिंगी (गे) को अन्तर्वार्ता लिनु ।

समलिंगी पुरुषको अन्तर्वार्ता लिएकै कारण पत्रकार मोहम्मद अल–घित्याले जरिवाना पनि तिर्नु परेको छ । जिगामा रहेको अदालतले मोहम्मदलाई तीन हजार इजिप्टियन पाउण्ड जरिवाना तथा एक वर्ष श्रम शिविरमा बस्नु पर्ने सजाय सुनाएको हो ।

अदालतले समलिंगी पुरुषको अन्तर्वार्ता लिएर पत्रकार मोहम्मदले समलैंगिकताको प्रमोसन गरेको आरोप लगाएको छ । मोहम्मदले इजिप्टको निजी क्षेत्रको टेलिभिजन एलटिसीको एक कार्यक्रममा पुरुष समलिंगीको अन्तर्वार्ता लिएका हुन् । उनले अन्तर्वार्ता लिएका समलिंगी पुरुषको परिचय गोप्य राखिएको छ । मोहम्मदसँग उनले यौनकर्मीको जीवनका बारेमा बोलेका थिए ।

इजिप्टमा समलैंगिकता स्पष्ट रुपमा अपराध मानिँदैन । तर सरकारी अधिकारीले एलजिबिटी समुदायमाथि निरन्तर आक्रमण गर्दै आएका छन् । यस्तै सहमतिमा समलैंगिक यौन सम्बन्ध कायम गरेकाहरुलाई इजिप्टका सुरक्षाकर्मीले लगातार पक्राउ गर्ने गरेका छन् । उनीहरुमाथि भ्रष्ट आचरण, अनैतिक तथा निन्दनीय कार्य गरेको आरोप लगाउने गरिएको छ ।

सन् २०१८ को अगस्टमा भएको अन्तर्वार्ताका लागि अदालतले पत्रकार मोहम्मदलाई सजाय सुनाएको हो । मोहम्मदले यसअघि विभिन्न अवसरमा समलैंगिकताको विपक्षमा बोल्दै आएका थिए । उनले अन्तर्वार्ता लिएका समलिंगी पुरुषले टेलिभिजन अन्तर्वार्ताको क्रममा आफ्नो यौनिकताप्रति पछुतो जनाएका थिए र यौनकर्मीका रुपमा बाँचेको जीवनबारे बताएका थिए । अन्तर्वार्ताको क्रममा उनको पहिचान गुप्त राखिएको थियो ।

अन्तर्वार्ता प्रशारण भएपछि इजिप्टको सर्वोच्च काउन्सिल फर मिडिया रेगुलेशनले टेलिभिजन च्यानलको प्रशारण तत्काल लागू हुने गरी दुई हप्ताका लागि बन्द गरेको थियो ।

वकिल समिर साब्रीले अन्तर्वार्ता लिने पत्रकारविरुद्ध उजुरी दिएका थिए । अदालतले मोहम्मदले सजाय भुक्तान गरेपछि पनि एक वर्षसम्म निगरानीमा रहनु पर्ने आदेश दिएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.