तेस्रोलिंगी सेनामा जान नपाउने, ट्रम्पको नीति लागु गर्ने पक्षमा सर्वोच्चको फैसला

तेस्रोलिंगी सेनामा जान नपाउने, ट्रम्पको नीति लागु गर्ने पक्षमा सर्वोच्चको फैसला

काठमाडौं (पहिचान) माघ १० – अमेरिकाको सर्वोच्च अदालतले तेस्रोलिंगी व्यक्ति सेनामा भर्ति हुन नपाउने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नीति लागु गर्न मन्जुरी दिएको छ । तेस्रोलिंगी व्यक्तिलाई सेनामा प्रवेशमा रोक लगाउने नियमको पक्षमा सर्वोच्चका पाँच तथा विपक्षमा चार न्यायाधीश रहे अर्थात ट्रम्प प्रशासनको नीतिको पक्षमा ५–४ को फैसला भयो ।

तल्ला अदालतमा भने यस सम्बन्धी मुद्दा जारी छन् । तेस्रोलिंगी व्यक्तिको नियुक्तिका कारण सेनाको प्रभाव र क्षमतामा ठूलो जोखिम आउने ट्रम्प प्रशासनको भनाई छ । ट्रम्पअघिका राष्ट्रपति बाराक ओबामाले सेनामा तेस्रोलिंगी व्यक्ति पनि भर्ति हुन पाउने नीति लागु गरेका थिए ।

यो नीति अनुसार तेस्रोलिंगी व्यक्तिको भर्ति मात्रै नभएर सेनामा रहेका तर लिंग परिवर्तन नगराएका तेस्रोलिंगीलाई लिंग परिवर्तनका लागि सरकारी सहायता पनि मिल्दै आएको थियो । यो नीति अनुसार सेनाले सन् २०१७ को जुलाई १ देखि तेस्रोलिंगी व्यक्तिको भर्ति सुरु गर्नु पर्ने थियो ।

तर ट्रम्प प्रशासनले यो सीमालाई २०१८ को जनवरी १ सम्म लम्ब्यायो । यसविरुद्ध अदालतमा मुद्दा परे । त्यसपछि परिवर्तित नीति ल्याइयो र तेस्रोलिंगी व्यक्तिका सेवामा कटौती गरियो । पछि यसलाई पनि निलम्बित गरिएको छ ।

पूर्व रक्षामन्त्री जेम्स म्याटिसले जन्मको लिंगसँग अहिलेको लिंग मेल नखाने व्यक्ति मात्रै सेनामा भर्ति हुन पाउने बताएका थिए । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार अहिले सेनामा ८ हजार ९ सय ८० तेस्रोलिंगी कार्यरत छन् ।

सर्वोच्च अदालतले फैसला गरे पनि यो विषयको अदालती कारवाही जारी रहने छ । विभिन्न तल्ला अदालतमा यस सम्बन्धी मुद्दाहरु छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading