तेस्रोलिंगीलाई १० लाख भन्दा बढीको बिमा गर्न रोक

तेस्रोलिंगीलाई १० लाख भन्दा बढीको बिमा गर्न रोक

काठमाडौं (पहिचान) माघ २५ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रोलिंगीलाई विभेद गरेको छ । बीमा गराउन गएका तेस्रोलिंगीलाई नेपाल लाइफले महिला पुरुष भन्दा फरक व्यवहार गर्दै विभेद गरेको हो । २० लाख रुपैयाँको जीवन बिमा गराउन गएका तेस्रोलिंगी पुरुष सुदीप गौतमलाई तेस्रोलिंगी भएकै कारण २० लाख रुपैयाँको बिमा गर्ने नीति नरहेको भन्दै फिर्ता पठाएको गौतमले गुनासो गरे ।

तेस्रोलिंगीलाई १० लाख भन्दा बढीको बिमा गराउने नीति नरहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नक्शाल शाखाका प्रबन्धक प्रकाश धितालले बताए । ‘सम्बन्धित व्यक्ति आउनु भएको थिएन, अभिकर्ता तेस्रोलिंगीको फारम बोकेर आउनु भएको थियो धितालले पहिचान अनलाइनसँग भने, पुर्नबिमा कम्पनीसँग सोध्दा तेस्रोलिंगीलाई १० लाख भन्दा बढीको बिमा नगर्ने नीति रहेको बताएपछि त्यही जवाफ दिएको हुँ ।’

उनले अशक्त, आपागंता भएका र तेस्रोलिंगीको १० लाख रुपैयाँ भन्दा बढीको बिमा नगर्ने नीति रहेको बताए । ‘उहाँहरुलाई चित्त दुख्यो होला उनले भने, नीति भन्दा बाहिर गएर मैले बिमा गराउन सकिन ।’ उनले तेस्रोलिंगीको जीवन बिमा हुन थालेको धेरै नभएको समेत बताए ।

बिमा फारममा महिला, पुरुष र अन्य लिंग उल्लेख गरेको कम्पनीले तेस्रोलिंगीलाई फरक व्यवहार गर्दा दुख लागेको तेस्रोलिंगी पुरुष सुदीप गौतमले बताए । ‘मेरै उमेर र स्वास्थ्य अवस्थाका आम मानिसले करोडौ रकम बराबरको बिमा गराउन पाउने तर, तेस्रोलिंगी भएकै कारण मैले १० लाख भन्दा बढीको बिमा गर्न नपाउने गौतमले प्रश्न गरे, तेस्रोलिंगीको जीवन सुरक्षा आबश्यक छैन र ?’

उनले कम्पनीको नीतिका कारण आफू र आफू जस्ता तेस्रोलिंगी समूदायका व्यक्तिलाई ठूलो विभेद भएको उल्लेख गरेका छन् । ‘म आफै समूदायको अधिकारका लागि वकालत गर्ने मान्छे, आज म आफै यो किसिमको विभेदमा पर्दा अत्यन्तै दुःखीत छु’ उनले भने ।

उनले सरकार र बिमा कम्पनीहरुलाई आम मानिस सरह तेस्रोलिंगीलाई पनि समान व्यवहार गर्न आग्रह गरेका छन् । ‘हामी पनि मानव हौँ, हामीलाई पनि मानव सरह व्यवहार गरियोस्’ गौतमले भने ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको तेस्रोलिंगी पुरुषको पहिचानमा रहेका गौतम नील हिरा समाजमा कार्यरत छ । उनी जन्मदा छोरी भएर जन्मेका हुन् भने अहिले उनको पहिचान तेस्रोलिंगी पुरुषको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.