नागरिकता बिधेयकको प्रारम्भिक मस्यौदामा तेस्रोलिंगी खोइ ?

नागरिकता बिधेयकको प्रारम्भिक मस्यौदामा तेस्रोलिंगी खोइ ?

काठमाडौं (पहिचान) फागुन १६ – संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल नागरिकता ऐन, २०६३ लाई संसोधन गर्न बनेको बिधेयकको प्रतिवेदन माथि छलफल चलिरहेको छ । बिधेयकको प्रारम्भिक मस्यौदामा बंशजको आधारमा नागरिकता प्राप्त गर्नेदेखि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पहिचान अनुसारको नागरिकता दिने व्यवस्था प्रतिवेदनमा गरिएको छ ।

समितिको हिजोको बैठकमा सांसद राजेन्द्र श्रेष्ठ लिंग परिवर्तन गरेकालाई मात्र पहिचान अनुसारको नागरिकता दिने गरि आएको प्रारम्भिक मस्यौदामा तेस्रोलिंगी खोइ ? भन्दै प्रश्न गर्दै थिए । राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठ त्यो बुँदामा पुगेका छैनौ भनिरहेकी थिइन ।

२०६५ साल मंसिर १० गते अगाडी दिएको निवेदन अनुसार जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले बंशजको आधारमा नागरिकता पाउने बिषयमा रस्साकस्सी भइरहेको थिए । बिधेयकको मस्यौदामा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पहिचान अनुसार आफूले इच्छाएको नाममा नागरिकता दिने व्यवस्था गर्न संसोधन हालेका सांसद श्रेष्ठ लिंग परिवर्तन गरेका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई मात्र नागरिकता दिने गरि आएको मस्यौदामा प्रश्न गरिरहेका थिए ।

प्रारम्भिक मस्यौदामा नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्तिले पछि लिंग परिवर्तन गरि परिवर्तित लैंगिक पहिचान सहितको नागरिकताको प्रमाणपत्र लिन लिंग परिवर्तन भएको प्रमाण सहित निवेदन दिएमा सम्वन्धित अधिकारीले सवुद प्रमाण बुझी पहिले लिएको नागरिकता फिर्ता लिइ सोको सट्टामा नाम तथा लैंगिक पहिचानको विवरण परिवर्तन गरी अर्को प्रमाणपत्र दिन सक्ने लेखिएको छ ।

तर, लिंग परिवर्तन नगरेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले नागरिकता पाउने ब्यवस्था मस्यौदामा नआएको भन्दै सांसद श्रेष्ठले सभापतिको ध्यानाकर्षण गराएका हुन् । श्रेष्ठले पहिले नागरिकता लिएका समुदायका व्यक्तिलाई आफूले इच्छाएको नाममा लैंगिक पहिचान अनुसार नागरिकताको प्रमाणपत्र दिने व्यवस्था गर्न संसोधन हालेका थिए । बंशजको आधारमा कस्ता व्यक्तिले नागरिकता पाउँछन भन्ने बिषयमै लामो रस्साकस्सी भएर सहमति भएपछि अर्को बुँदामा छलफल चल्दै गर्दा उनले यो प्रश्न उठाएका हुन् ।

छलफलकै क्रममा गृह सचिव प्रेम कुमार राई सभापतिलाई इशारा गरेर बाहिर निस्के र केहीबेरमै दुखद खबर भन्दै बैठकमा प्रबेश गरे । पर्यटनमन्त्री रबिन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको खबर आयो । दिउँसो १२ बजेदेखि सुरु भएको छलफल दुई घण्टा नवित्दै लौ अब यो छलफल स्थगित गरौ भन्ने सभापति शशी श्रेष्ठको भनाई पछि सबै दुर्घटनाको अपडेटमा लागे । केहीबेरमै पर्यटनमन्त्री अधिकारी सहित सात जनाको निधन भएको समाचार भाइरल भयो । यो भन्दा दुखद के हुन्थ्यो होला र ?

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading