साँचो स्मृतिले भरिलो बनेको परिवार, जसले सिकाउँछ प्रेमको अर्थ

साँचो स्मृतिले भरिलो बनेको परिवार, जसले सिकाउँछ प्रेमको अर्थ

परिवार–२

काठमाडौं (पहिचान) असार ९ – सपनाहरु जसरी रहर गरेर देखिन्छ, भत्किन छिनभर लाग्दैन । नेट बर्कस (४७) र उनका प्रेमी फर्नान्डो बेङ्गोचियाले देखेको सपना १५ वर्षअघि टुट्यो ।

अमेरिकी इनटेरियर डिजाइनर, लेखक तथा टेलिभिजन पर्सनालिटी नेट बर्कसले मुश्किलले आफ्नो अस्तित्व स्वीकार गरेका थिए । समलिंगीका लागि जीवन सजिलो थिएन त्यति अरुलाई जस्तो । तर उनले जीवनको बाटो राम्रो बनाइरहेका थिए । काममा राम्रो गरिरहेका उनी टेलिभिजन जगतमा विश्वविख्यात नाम ओपरा विनफ्रीसँग काम गर्ने मौका पाएका थिए ।

कामकै क्रममा अर्जेन्टिनी फोटोग्राफर बेङ्गोचिया ‘ओ होम म्यागजिन’ का लागि नेटको फोटो सुटमा थिए । बेङ्गोचियाले नेटको स्वरुपलाई मात्रै तस्बिरमा समेटेनन्, नेटको ‘ह्युमर’ लाई पनि क्याप्चर गरे । कामले भेटाएका नेट र फर्नान्डो प्रेमले जोडिए ।

फर्नान्डोसँग नेट खुशी थिए । जीवनका सपनाहरु बुन्दै थिए । उनले गम्भीर रुपमा लिएको साँचो प्रेममा परेको व्यक्ति फर्नान्डो नै थिए । फर्नान्डोका लागि पनि शायद त्यस्तै थियो ।

सन् २००४ को डिसेम्बरमा उनीहरु बिदा मनाउनका लागि श्रीलंकामा थिए । इन्डियन ओसनमा आएको सुनामीले फर्नान्डोलाई लग्यो । नेटको आँखै अगाडि फर्नान्डो अलप भए । उनी भेटिएनन्, मृत वा जिउँदो थाहा भएन र अन्ततः उनको निधन भएको ठानियो । सँगै आएका नेट एक्लै रित्तो फर्किए ।

नेटलाई फर्नान्डो गुमाउनुको पीडाबाट निस्कन मुश्किल भयो । सन् २००५ को जनवरी १७ मा द ओपरा विनफ्री शोमा आफ्ना प्रेमी फर्नान्डो गुमाउँदोको पीडा नेटले साझा गरे ।

सपनाहरुको खुबी जति टुटे पनि देख्न छोडिँदैन । आइरहन्छ सपनाहरु र बन्छन् नयाँ रहरहरु । त्यसपछिका समयमा काममा व्यस्त भएका नेटले फर्नान्डोलाई भुल्न सकेनन् । अरु सम्बन्धहरुमा पनि जोडिन वा अडिन सकेनन् । उनलाई फर्नान्डो आफूसँग भएको भए जीवन अर्कै हुने थियो लाग्छ । अहिले पनि लागि रहन्छ ।

जस्तै भए पनि बाटो कट्दै जान्छ । सन् २०१२ मा उनी अर्का अमेरिकी इनटेरियर डिजाइनर जरमाया ब्रेन्ट (३५) सँग नजिकिए । एक वर्षको प्रेम सम्बन्धपछि सन् २०१३ को अप्रिलमा उनीहरुले इनगेजमेन्ट गरे । अर्को वर्षको मे ४ मा बिहे गरे ।

फर्नान्डो गएपछिको झण्डै ८ वर्षपछि मात्रै नेट सम्बन्धमा अडिन सके । कारण थियो उनी फर्नान्डोलाई आफ्नो जीवनमा जिवित राख्न चाहन्थे । उनका सम्झनाहरु बिर्सेर होइन साथ लिएर अघि बढ्न चाहन्थे । जरमायाले नेटलाई त्यसरी नै बुझे । उनलाई फर्नान्डोको कुरामा लगाब बस्यो । नेटलाई फर्नान्डोसँगको स्मृति भुल्न होइन, सम्मानित रुपमा ताजा राखी सँगै लिएर अघि बढ्न जरमायाले सहयोग गरे । यहि कारण नेट फेरि प्रेममा विश्वास गर्ने भए ।

अहिले नेट र जरमायाको जीवन राम्रो चलेको छ । खुशी छन् । पिता बनेका छन् । अमेरिकाको म्यानहटनमा बस्दै आएका उनीहरुका छोरी र छोरा छन् । सरोगेसी मार्फत छोरी पप्पी ब्रेन्ट–बर्कस सन् २०१५ को मार्च २३ मा जन्मिएकी हुन् । यस्तै उनीहरु सन् २०१८ को मार्च २६ मा छोरा ओस्कार माइकल ब्रेन्ट–बर्कसका पिता बने । ओस्कारको नाममा उनीहरुले फर्नान्डोलाई समेटेका छन् ।

हाल उनीहरुको इनटेरियर डिजाइन सम्बन्धी टेलिभिजन शो टिएलसीमा आउँछ, नेट एण्ड जरमाया बाई डिजाइन । त्यसमा छोरा छोरी पनि फिचर गर्छन् ।

नेटले लेखेको पुस्तक ‘द थिङ्गस द्याट म्याटर’ सन् २०१२ को अक्टोबर १२ मा प्रकाशित भएको थियो । फर्नान्डो प्रति समर्पित यो पुस्तक न्युयोर्क टाइम्सको बेस्ट सेलर लिस्टमा परेको थियो । यस्तै द वासिङ्गटन पोस्टले यसलाई वर्षको उत्कृष्ट इनटेरियर डिजाइनिङ पुस्तक भनेको थियो ।

नेट अहिले खुशी छन् र यसको कारण फर्नान्डोलाई सम्झिरहनु रहेको उनी बताइरहन्छन् । जरमायालाई पनि फर्नान्डोसँग लगाव भएको छ र उनलाई परिवारको सदस्य जस्तो लाग्छ । बाँचेका छन् उनीहरुमा फर्नान्डो र नेट–जरमायाको परिवार भरिलो बनेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading