आधुनिक सपनाको सञ्चार गरिरहेको पिट्–चेस्टन गठबन्धन

आधुनिक सपनाको सञ्चार गरिरहेको पिट्–चेस्टन गठबन्धन

परिवार शृङ्खला–३

काठमाडौं (पहिचान) असार २५ – उमेर मात्रै ३७ वर्ष भयो, तर आँट गरेका छन् विश्वको महाशक्ति राष्ट्रका रुपमा पहिचान बनाएको अमेरिकाको नेतृत्व सम्हाल्ने । अमेरिकाको भावी राष्ट्रपतिका लागि दाबी प्रस्तुत गरेका यी युवालाई रुचाएका पनि छन् सर्वसाधारणले । अहिले उनको चर्चा कम्तिमा अमेरिकी राजनीतिको केन्द्रमा छ ।

नाम हो, पिट् बुटजज, अमेरिकामा आउँदो वर्ष अर्थात सन् २०२० मा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने आकांक्षा बोकेका डेमोक्रयाटिक पार्टीका एक नेता ।

पिट अमेरिकाको इन्डियाना राज्यको सानो शहर साउथ बेन्डका मेयर हुन् । हावर्ड र अक्सफोड विश्वविद्यालयमा अध्ययन गरेका पिट् रोड स्कलर हुन् । सात भाषा बोल्ने पिट् अमेरिकी नेभीका वार भेट्रान हुन् ।

उनको परिचयमा जोडिएर आउने अर्को कुरा उनको ‘सेक्सुआलिटी’ अर्थात यौनिकता हो । ३७ वर्षका मेयर पिट् र अमेरिकाको राष्ट्रपति बन्ने आँट लिएर अघि बढेका मेयर पिट् समलिंगी अर्थात होमोसेक्सुअल या ‘गे’ हुन् ।

३७ वर्षको युवा, जेनरेसन एक्स भनिने मिलेनियल अर्थात सन् १९८० को दशकपछि जन्मिएको पुस्ताका सदस्य, समलिंगी र माथिल्लो स्तरको राजनीतिक अनुभव बोकी नसकेका पिट् डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्नका लागि आकांक्षी २० भन्दा बढीबाट आफूलाई अग्रदाबेदारको सूचिमा राख्न सफल भएका छन् । पहिलो टेलिभिजन डिबेडमा उनको प्रस्तुतिको चर्चा राम्रो रह्यो ।

सन् २०१६ मै तत्कालीन राष्ट्रपति बाराक ओबामाले पिट् ‘गिफ्टेड’ राजनीतिज्ञ रहेको र डेमोक्र्याटिक पार्टीको आश रहेको बताएका थिए ।

अमेरिकी संविधानमा राष्ट्रपतिको उम्मेदवार बन्नका लागि कम्तिमा ३५ वर्षको हुनु पर्छ, जुन सीमा मेयर पिट्ले दुई वर्ष अघि पार गरे । नर्वेजियन उपन्यासकार एर्लेन्द लाएको पुस्तक पढ्नका लागि मेयर पिट् बुटजजले नर्वेजियन भाषा नै सिकेका छन् । यस्तै उनी फ्रेन्च, स्पेनिससहितका सात भाषा बोल्छन् ।

सन् २०१५ मा साउथ बेन्डको मेयरका लागि दोस्रो कार्यकालको चुनावी अभियानको मध्य कालमा बुटजजले स्थानीय पत्रिका द साउथ बेन्ड ट्रिब्युनमा एक लेख प्रकाशित गरेर आफ्नो समलिंगी पहिचान खुलाएका थिए । त्यसपछिको चुनावमा उनले ८७ प्रतिशत मत ल्याएर जिते ।

मेयरमै रहेका बेला सन् २०१८ को जुनमा २९ वर्षका चेस्टन ग्ल्याजमनसँग विवाह गरे । चेस्टन अहिले बुटजजको चुनावी अभियानका बलियो सहयोगी बनेका छन् । उनले पिटकै थर अपनाएका पनि छन् । बुटजजले आफूलाई श्रीमान चेस्टनले राम्रो मानव बनाउन सहयोग गरेको र त्यसले गर्दा राम्रो उम्मेदवार बनेको बताउने गरेका छन् ।

पिट् र चेस्टनले केही वर्षको प्रेम सम्बन्धपछि विवाह गरेका हुन् । अध्यापन पेशामा रहेका चेस्टन हाल पूर्ण रुपमा पिट्को चुनावी अभियानमा जोडिएका छन् । चुनावी अभियानमा उनको सक्रियता निकै रुचिकर बनेको छ । पिट् जस्तै चेस्टनको चर्चा सर्वत्र हुँदै आइरहेको छ ।

पिट् र चेस्टनको परिवारमा दुई कुकुर पनि छन् । उनीहरुले एडप्ट्ड गरेका दुई कुकुरको नाम बड्डी बुटजज र ट्रुम्यान बुटजज हो । उनीहरुको इन्स्टाग्राम एकाउन्ट पनि छ र उनीहरु चर्चित पनि छन् । धेरैले बड्डी र ट्रुम्यानसहितको पिट्–चेस्टनको परिवारलाई आधुनिक समयको आदर्श परिवार भन्ने गरेका छन् ।

कुकुरको इन्स्टाको लिंक

https://www.instagram.com/firstdogsb/?utm_source=ig_embed

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading